संस्कृतिविद् सत्यमोहन जोशीद्वारा महाकाव्य ‘दङ्गि उर्वशी’ विमोचन

लोकपथ
35
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय साहित्य समाज नेपाल च्याप्टरको आयोजनमा कवि डाक्टर गोविन्द आचार्यद्वारा लिखित ‘दङ्गि उर्वशी’ महाकाव्य विमोचन भएको छ । सोमबार वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले महाकाव्य विमोचन गरेका हुन् ।

महाकाव्य लोकार्पण गर्दै संस्कृतिविद् जोशीले इतिहास, साहित्य र संस्कृति हाम्रा धरोहर र वैभव हुन् तिनको संरक्षण आजको सचेत नागरिकको दायित्व हो, विमोचित महाकाव्यमा पनि मिथक संस्कृतिको प्रयोग भएकोमा खुशी लागेको बताए ।

अन्तर्राष्ट्रिय साहित्य समाज नेपालको ब्यानरमा जोशी निवासमा भएको पुस्तक विमोचन समारोह सो समूह नेपाल च्याप्टरकी अध्यक्ष साहित्यकार सन्ध्या पहाडीको सभापतित्वमा सम्पन्न भएको थियो । वरिष्ठ साहित्यकार प्रा.डा. खगेन्द्रप्रसाद लुइंटेल, प्रा. कोषराज न्यौपाने, रमेश खकुरेल र अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठलगायतले महाकाव्यकारलाई बधाई र शुभकामना दिँदै समालोचकीय मन्तव्य व्यक्त गरेका थिए ।

अनेसासकी उपाध्यक्ष गीता कार्कीले सञ्चालन गरेको कार्यक्रममा अनेसासकी अर्की उपाधयक्ष गीता मैनालीले स्वागत मन्तव्य राखेकी थिइन् । ख्यातिप्राप्त गायिका लोचन भट्टराई, साझा प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोख्रेल, भुवनहरि सिग्देल र छन्द वाचनमा लोकप्रिय कवि इन्दिरा दाहाललगायतले विमोचित कृतिमा प्रायोगिक विभिन्न छन्दका कविता वाचन गरेर समारोहलाई काव्यिक सौन्दर्यको रसपान समेत गराराएका थिए ।

महाकाव्यकार डाक्टर आचार्यले आफ्नो मन्तव्यमा आफ्नो काव्य यात्रा र महाकाव्य यात्रासम्मको अनुभव पस्कँदै साहित्यकारका सहजता र जटिलताबारे आफ्नो स्वानुभूति राखेका थिए । थुप्रै साहित्यकार, प्राज्ञिक व्यक्तित्व, संविधानविद् भीमार्जुन आचार्य, प्राध्यापक विश्वविद्यालयका एमफिल, पीएचडी लेबलका शोधार्थी, साहित्यप्रेमीसहित सर्वसाधारणको उपस्थितिमा विमोचन कार्यक्रम भव्य बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?