स्वीडेनको बलियो रक्षापंक्तिविरुद्ध इंग्ल्याण्डको धारिलो आक्रामण

रसिया। जारी फिफा विश्वकप फुटबल अन्तर्गत आजसाँझ हुने पहिलो क्वार्टरफाइनल खेलमा इंग्ल्याण्ड र स्वीडेन आमने—सामने हुँदैछ । 

यि दुई टिमविचको खेल सामरा एरिनामा आजसाँझ नेपाली समय अनुसार पौने ८ बजे पछि शुरु हुँदैछ ।

जारी प्रतियोगितामा राम्रो खेल खेल्दै आइरहेको स्वीडेन पहिलो पटक सेमिफाइनलमा प्रवेश गर्ने रणनीतिका साथ मैदानमा उत्रदैछ ।

सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा तेस्रो स्थान हात पारेयता स्वीडेनले त्यसअघिको स्थान तय गर्न सकेको छैन । त्यतिबेला स्वीडेनले बुल्गेरियालाई ४—० गोलले पराजित गर्दै तेस्रो स्थान प्राप्त गरेको थियो ।

अन्तिम १६ को खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई १—० ले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेको थियो । स्वीडेनका लागि एमिल फोर्सवगले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो । 

यता, सन् १९६६ को विश्वविजेता इंग्ल्यान्ड भने समूह चरण देखि उत्कृष्ट खेल खेल्दै आइरहेको छ ।

सन् १९९० मा चौथो भएको इंग्ल्याण्डले त्यसयता विश्वकपमा राम्रो नतिजा ल्याउन सकेको छैन । इंल्याण्डलाई अहिले रसिया विश्वकपमा बलियो उपाधि दावेदारको टिम मानिदैं आइरहेको छ ।

आजसाँझको खेलमा स्वीडेनलाई दबावमा राख्दै इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गर्ने मनोस्थितीका साथ मैदानमा उत्रदैछ ।

यता इंग्ल्याण्डले कोलम्बियालाई टाइब्रेकरमा ४—३ गोलले हराउँदै अघिल्लो चरणमा पुगेको थियो । 

स्वीडेनका सेवास्टियन लार्सनले आजसाँझको खेलमा टिमलाई जित दिलाउन प्रयास गर्ने बताए । यता भरपर्दा डिफेन्डर मिखायल लस्टिग दोहोरो यल्लो कार्ड खाएका कारण मैदानमा देखा पर्ने छैनन् ।

स्वीडेनका प्रशिक्षक जेन एन्डरसनले रक्षापंक्तिलाई बलियो बनाउनुका साथै काउन्टर एट्याकमा बढि ध्यान दिने बताए । 

त्यस्तै, इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले टिमले पहिलेको तुलना भन्दा अहिले निकै सुधारिएको खेल खेलेको  तर सोचेअनुरुप नजिता भने ल्याउन नसकेको बताए ।

उनले आफ्ना सबै खेलाडीहरुलाई स्वीडेनविरुद्धको खेलमा उत्कृष्ट खेल खेल्न सल्लाह दिए । प्रशिक्षक साउथगेटले एटाकिङ खेल्दै जित दर्ता गराउन नसके खेल पेनाल्टीसम्म जाने जानकारी दिए ।

जारी विश्वकपमा सर्वाधिक ६ गोल गरेका ह्यारी केनले गोल गर्ने पुरानो लयलाई आजसाँझ पनि निरन्तरता दिने प्रशिक्षकले बताए । 

अहिलेसम्म यि दुई टिमविच २५ पटक आमने—सामने भइसकेका छन । जसमा स्वीडेनले ८ मा जित, १० मा बराबरी र ७ मा हार बेर्होरेको छ ।

सन् १९२३ मा भएको पहिलो मैत्रिपूर्ण खेलमा इंग्ल्याण्डले स्वीडेनलाई ४—२ गोल अन्तरले पराजित गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?