आयोजक राष्ट्रलाई पाखा लगाउला क्रोएसियाले?

रसिया। २१ औं संस्करणको फिफा विश्वकप फुटबलको अन्तिम क्वाटरफाइनल खेलमा आयोजक राष्ट्र रसियाले क्रोएसियाको सामना गर्दैछ । 

यि दुई टिमविचको खेल सोचीस्थित फिस्ट स्टेडियममा नेपाली समयअनुसार आज राति पौने १२ बजेपछि शुरु हुँदैछ । घरेलु मैदानमा हुन लागेको क्वार्टरफाइनल खेलमा रसियाको मनोबल उच्च रहेको छ ।

अन्तिम १६ को खेलमा रसियाले पूर्व विश्व च्याम्पियन स्पेनलाई टाइब्रेकरमा ४—३ गोल अन्तरले हराउँदै क्वार्टरफाइनको यात्रा तय गरेको थियो ।

रसियाले समूह चरणमा साउदी अरेबियालाई ५–० र इजिप्टलाई ३–१ ले हराए पनि उरुग्वेसँग ३–० ले पराजित हुँदै समूह उपविजेता भएर अगाडि बढेको हो । रसिया पहिलो पटक स्वतन्त्र राष्ट्रका रूपमा विश्वकपको क्वाटरफाइनलसम्म पुगेको थियो ।

सन् १९६६ मा सोभियत संघले सेमिफाइनलको यात्रा तय गरेको थियो । क्रोएसियाविरुद्धको खेलमा जित दर्ता गराए रसियाले विश्वकपमा इतिहास रच्नेछ । 

यता, क्रोएसियाका प्रशिक्षक ज्लाटो डालिचले आफ्नो टिमले समूह चरणमा अर्जेन्टिनालाई सहजै पराजित गरेकाले ठूला टोलीविरुद्ध निडर रूपमा प्रस्तुत हुन सक्ने बताएका छन् ।  

प्रतियोगिताको अन्तिम चरण नजिकिँदै जाँदा क्रोएसिया आफ्नो समूहको उत्कृष्ट टोलीमध्ये एक बनिसकेको छ । यसमा इंग्ल्यान्डको प्रश्न उठ्न सक्ला तर दुवै टोली सेमिफाइनल आमने–सामने हुने सम्भावना जीवितै छ ।

क्रोएसिया सन् १९९८ यता पहिलोपल्ट सेमिफाइनलसम्म  पुग्ने दाउँमा छ । स्वतन्त्र राष्ट्रका रूपमा पहिलो सहभागिता जनाउँदा सेमिफाइनल खेलेको क्रोएसियाका त्यति बेलाका खेलाडी अझै पनि नायक मानिन्छन् ।

क्रोएसियाली टोलीले पहिले प्राप्त गरेको सफलता दोहोर्‍याउन वा सुधार गर्न सक्ला तर यसका लागि आयोजक रसियाविरुद्ध जित दर्ता गर्नु जरुरी छ ।

प्रि—क्वार्टरफाइनलको खेलमा क्रोएसियाले डेनमार्कलाई टाइब्रेकरमा ३—२ गोलले हराएको थियो ।  

डिफेन्डर डोमागोज भिडालले सोचीमा हुने खेलमा भने क्रोएसिया पूर्ण रूपमा आत्मविश्वाशी भएर आउनु जरुरी रहेको बताए। ‘हामीहरुले विश्वकपमा धेरै आस बोकेर अगाडि बढिरहेका छौ । साथै, हाम्रो टिमले निकै राम्रो फुटबल पनि खेलिरहेको छ’, उनले भने । 

आजराति हुने खेलमा रसियालाई पराजित गर्दै सेमिफाइनलमा पुग्ने क्रोएसियाको दाउँ छ । सन् १९९८ यता क्रोएसिया विश्वकपको अन्तिम चारमा पुग्न सकेको छैन् । त्यतिबेला क्रोएसिया फ्रान्ससँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । 

क्रोएसिया र रसिया अहिलेसम्म विश्वकप फुटबलमा भिडेका छैनन् । सन् २०१५ को नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा रसियाले क्रोएसियालाई ३–१ ले पराजित गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?