बाढीले जलमग्न थियो तराई ।
आँखाले भ्याउन्जेल सम्म सबैतिर पानी मात्र ।
कति मान्छे बगे, कति घर ।
***
बाढीले मच्चाएको विध्वंशलाई आफ्नो क्यामेरामा कैद गर्न सप्तरीको कुलारी गाउँ पुगे नरेन्द्र श्रेष्ठ । यद्यपी उनी अरु केहि काम बोकेर त्यहाँ पुगेका थिए ।
फोटो खिच्दै गर्दा, अलि पर केही मान्छे भेला भए जस्तो देखिन्थ्यो ।
भीडबाट उनले गाईगुई हल्ला सुने ।
‘बगाउनुपर्छ होला’, ‘यो बाहेक कुनै विकल्प छैन ।’
त्यहाँ गएर बुझ्दा दुई दिन अघि नै बाढीले बगाएर पाँच वर्षे कमलु सदाको मृत्यु भएकोे उनले थाहा पाए ।
जता त्यतै पानी नै पानी भएकाले सद्गत गर्ने जमिन थिएन । लासलाई सुरक्षित साथ राख्न त्यहाँ कुनै मुर्दा घर पनि थिएन ।
मात्र एउटा विकल्प रह्यो, कोशीमा बगाइदिने ।
कमलुका पिता फुदान सदा घरमा नभएकाले यसको जिम्मेवारी काका देवकुमारको काँधमा आयो ।
उनी लास बोकेर कोशीनदीतर्फ लागे ।
नरेन्द्र पनि उनको पछि लागे ।
नदीमा पुगेर टक्क अडिए देवकुमार । आफ्नो भतिजाको मृत शरीरलाई बगाइदिए कोशीमा ।
यो हृदयविदारक दृश्यलाई नरेन्द्रले आफ्नो क्यामेरामा कैद गरे ।
***
***
‘नराम्रो त लागिरहेको थियो तर फोटो पत्रकारले अरुभन्दा मुटु दह्रो पार्नै पर्ने हुन्छ । हामी यस्ता दुखद घटनाहरुसँग जहिल्यै साक्षात्कार भइरहनुपर्छ । हाम्रो काम नै यही हो ।’ अन्तर्वाताका क्रममा उनले सुनाए ।
उनले खिचेको यो तस्विर २०७५ सालको ‘फोटो अफ दि इयर’ घोषित भएको छ ।
एउटा लाचार बाढीपिडित व्यक्तिको विवशता छर्लङ्गै झल्किन्छ तस्विरमा । फोटो हेर्दा लाग्छ त्यसले हजार शब्द बोलिरहेछ ।
यस तस्विरलाई धेरैले पूर्वनियोजित भएको आरोप पनि लगाएका छन् तर श्रेष्ठले यसलाई अस्वीकार गर्दै भनेँ, ‘मलाई यस विषयमा पहिलै थाहा भएको होइन। म आफै यो घटना देखेर एकदम डिस्टर्ब भएको थिएँ । मेरो दिमाग नै हल्लाइदिएको थियो यो दृश्यले ।’
श्रेष्ठले ‘फोटो अफ दि इयर’उपाधिसँगै पाएको १ लाख भने कमलुका परिवारलाई दिने घोषणा गरेका छन् ।
***
विगत १७–१८ वर्षदेखि फोटो पत्रकारितामा लागेका नरेन्द्रलाई २–४ दिन फोटो खिच्न पाइएन भने छटपटि हुन्छ ।
त्यसैले आफू फोटो खिच्नकै लागि जन्मिएको उनको दाबी छ ।
भन्छन्, ‘सबैजना आफैमा फोटाग्राफर हुन् तर आफूले खिचेको तस्विरलाई कसरी एउटा फ्रेममा राख्ने भन्ने कुराले तस्विरलाई राम्रो बनाउने हो । र यस्तै पक्षहरुले नै फोटो ग्राफरको कौशलता पनि देखाउँछ ।
विदेशी पत्रकारले नेपालमा खिचेका तस्विरहरुका लागि अन्तर्राष्ट्रिय पुरस्कार पाउँछन् तर नेपाली पत्रकारले अहिलेसम्म अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सकेका छैनन् । यसमा उनलाई दुःख लाग्छ ।
‘नेपालमा फोटोग्राफरहरु असक्षम छैनन् । तर काठमाडौंलाई मात्र आफ्नो फिल्ड बनाएर कामगर्दा सिंगो नेपाललाई नै अन्याय भइरहेको छ ।’ उनले भने ।
हुन पनि हो । पोखरा, चितवन, काठमाडौं जस्ता नामचलेका ठाउँहरुमा मात्रै सबैको ध्यानाकर्षण हुन्छ । तर हाम्रोदेशमा अनेकौँ सुन्दर ठाउँहरु छन् जसका बारेमा त कतिलार्ई थाहा पनि छैन ।
नेपाली फोटो पत्रकारिताको स्तरोन्नति कसरी होला भन्ने विषयमा सामाजिक मुद्दाहरुलाई नयाँ नयाँ एंगलबाट प्रस्तुत गरेर पनि अन्तर्राष्ट्रिय स्तरसम्म आफ्नो पहुँच पु–याउन सकिन्छ जस्तो लाग्छ, श्रेष्ठलाई ।
‘बालविवाह, बोक्सी प्रथा, छाउपडी प्रथा आदि जस्ता गम्भीर विषयलाई अन्तर्राष्ट्रिय समाजमा आफ्नो फोटो मार्फत् पस्किन सके धेरै हदसम्म हाम्रो स्तरोन्नतिहुने थियो ।’उनले थपे ।
***
करिब दुई दशकदेखि सबैको राम्रो राम्रो फोटो खिचेर चित्त बुझाउन सफल नरेन्द्रलाई अरुले खिचेको फोटो खासै चित्त बुझ्दैन ।
‘अरुले खिचेको मेरो फोटो मात्र नभएर मलाई अरुले खिचेको कुनै पनि फोटोले हत्तपत्त चित्त बुझ्दैन । खुलेर हाँस्दै भने, मलाई फोटोमा चित्त बुझाउन गाह्रै छ ।’
***
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया