'ह्याप्पी वर्थ डे' महाराज ! यसकारण नागरिक महाराज ज्ञानेन्द्र.......

जानेर होस् वा नजानेर अढाई, तीन वर्षकै बालशिरमा उनले श्रीपेच पहिरिदिएर २००७ सालमा नै उति बेलाको शासकीय अभिभारा ग्रहण गरिदिए ।


हजुरबुबा पिता त्रिभुवन स–परिवार भारत शरणमा परिसकेका बेला तत्कालीन नेपालको शासन सत्तामा आएको गम्भीररिक्तताको पूर्ति गर्ने त्यो शाही बालकको ज्ञान, विवेकका कुरा नगरौं तर तत्कालीन राणा र उनको योगदानको आधारमा भन्न करै लाग्छ, देशलाई भगौडा शासकका बीच पनि नेतृत्व दिने ती बालख वास्तवमा इतिहासका एक नायक थिए । 


त्यो इतिहासको व्याख्या ज–जसले आ–आफ्नो अनुकुलमा गरेपनि त्यो अनायाशै अवोध रुपमा नै गरिएको भएपनि अतुलनीय नेतृत्व कर्र्म थियो उनको । त्यस अर्थमा उनी सदा सम्मानित  स्मरणीय पात्र हुन्, शासकीय इतिहासका हर पानामा ।


नेपाललाई शासकको रिक्ततामा पर्न नदिने त्यो बालक र त्यो बालकलाई श्रीपेच भिराएर पनि देशलाई नेतृत्वको शून्यतामा पर्नबाट जोगाउने श्री ३ मोहनशमशेर नै त्यो कालखण्डका असल देशभक्त हुन् ।

दाजु वीरेन्द्रको अकल्पनीय वंश विनासको त्यो वियोगान्त घडीमा तत्कालीन शासकीय परम्परा अनुसार उनले फेरि पनि श्रीपेच पहिरिदिएर नै देशलाई शासकीय नेतृत्वको शून्यतामा जानबाट रोकेकै हुन् ।


आज्ञाकारिता के हो र कसरी पालना गर्नुपर्छ? अर्थात् जनादेशको सम्मान कसरी गर्नुपर्छ? त्यसको सिंगो प्रतिमूर्ति उनै हुन् ।

निवर्तमान राजा ज्ञानेन्द्र ।

दाजु वीरेन्द्रको अकल्पनीय वंश विनासको त्यो वियोगान्त घडीमा तत्कालीन शासकीय परम्परा अनुसार उनले फेरि पनि श्रीपेच पहिरिदिएर नै देशलाई शासकीय नेतृत्वको शून्यतामा जानबाट रोकेकै हुन् ।

कोमामा रहेका भतिज दीपेन्द्र अर्थात्श्रीपेच पहिरिन नपाएका राजा दोपेन्द्रको राज्य सहायक भएर पनि आफूले निर्वाह गर्नुपर्ने राजधर्म निभाएकै हुन् ।

 
उनले जसो भन्यो, २०४७ को संविधानले उसै उसै आफूलाई अभ्यस्त गराए ।

त्यो व्यक्ति ज्ञानेन्द्रको आज्ञाकारिता र जनादेशको सम्मान तथा संविधानको परिपालनामा उतिबेलाको स्वर्णाक्षरमा लेखिनुपर्ने योगदान हो, भलै धेरै दलीय मठाधीश र तिनका नोकरशाही चरित्रका कार्यकर्ता, समर्थकलाई यो कुरा हजम नहोला ।


२०६३ को जनआन्दोलनमा तत्कालीन राजा ज्ञानेन्द्रले सैनिक दमनको बाटो समातेको भए के हुन्थ्यो ? उनले तत्कालीन शाही गृहमन्त्री कमल थापाको गलत सुरक्षा ब्रिफिङलाई स्वयम् क्रसचेक गरेर स्वयम् विवेकसम्मत निर्णय नलिएर जनआन्दोलनलाई सम्झौतामा नटुङ्ग्याएको भए नेपाल अहिलेकै अवस्थामा रहन्थ्यो?यी त इतिहासमा अनुत्तरित प्रश्नहरू हुन् ।


२०६५ जेठ १५ मा गणतन्त्र घोषणा गर्ने तत्कालीन संविधानसभाका जेष्ठ सदस्य तथा सभामुख काङ्ग्रेस नेता कुलबहादुर गुरुङले नै आफ्नो सो कदमप्रति सार्वजनिक आत्मालोचना गरिसके ।


अहिले कुलबहादुरहरूको ठूलै समुह जननायक विपी कोइरालाको पथमा फर्कने भगीरथ प्रयत्नमा संगठित रुपमा नै लागिरहेको छ । तर कर्ता नै पछुतोमा परेका बेला पनि उतिबेलाका राजा ज्ञानेन्द्रमा पछुतो छैन ।

बरु आफूले छोड्दाताकाको भन्दा पनि तन्नम अवस्थामा देश र जनताको अवस्था नपुगोस् भन्नेमा स्वभाविक मानवीय चासो र चिन्ता मात्रै छ ।

शासकीय विरासत वा शक्ति होइन, सुख र खुसीको स्रोत, बरु त्यसको समुचित नेतृत्वमा आफ्नो भुमिकाप्रतिको इमानदारिता नै सुख र खुसी हो भन्ने व्यवहारिक नुमनाका जीवन्त नायक हुन् उनै पूर्वराजा शाह ।

 

हाँसीहाँसी श्रीपेच नेपाल सरकारलाई बुझाएको घोषणा गरेर नागार्जुनतिर सरेका उनले नागार्जुनबाट कहिल्यै यो शासन व्यवस्थाको खोइरो खनेनन् । कहिल्यै घटिया आलोचना गरेनन् ।

यस व्यवस्थाका विरुद्ध संगठित दृश्य अदृश्य षडयन्त्र गरेनन् । यो व्यवस्थाका विरुद्ध जाहेर गर्न आउनेहरूलाई जनतामा जान सल्लाह दिए । उनले हर पटक दोहो¥याए यत्ति कि मेरो जरुरत हो भने जनता जाग ।

व्यवस्था परिवर्तन हुँदा पनि जनताको अवस्था परिवर्तन नहुँदा मात्रै उनले चिन्ता जाहेर गरे । बस, जनताको दुःख कसैलाई दुख्यो भने बढी उनै ज्ञानेन्द्रलाई दुख्यो, तर दुःखलाई उनले प्रतिशोधमा होइन, धैर्यतामा बाँधे ।

बस, संस्कार र सिद्धान्त जनताप्रतिको निःस्वार्थ सर्मपण बाहेक केही थिएन उनको भन्ने जीवन्त उदाहरण हुन् बितेका दश वर्षे उनका जीवन दैनिकी ।

पूर्व हुने बित्तिकै आलोचक नै बन्नु पर्ने होइन रहेछ राजनेताले भनेर कसैले सिक्नु छ भने उनै पूर्व महाराजबाट सिके हुन्छ नै ।

मन्दिर पूजा गर्नु, लोकको भलो चिताउनु र त्यही अनुसारका दैनिक कर्म गर्नुमा नै रमाएर दशक बढी बिताएका ज्ञानेन्द्र यो पछिल्लो समयमा जनताको मन जित्ने एक्लो व्यक्ति हुन् भन्दा धेरैलाई पंक्तिकारले पूर्वराजाको चाकडी गरेको लाग्ला ।

तर यथार्थ यही हो कि समकालीन नेपालमा ज्ञानेन्द्र शाह जति लोकप्रिय व्यक्ति कुनै नागरिक सन्तान छैनन् नै । सत्य तीतो हुन्छ, तथ्य यही हो ।


कुनै पनि कालखण्डका शासकीय जिम्मेवारीहरू ज्ञानेन्द्र शाहका रुचि वा जिद्धिका प्राप्ति थिएनन् । उनले ती सबै भूमिका आज्ञाकारी शाही परिवारका सदस्यका रुपमा वरण र सम्पादन गरेका थिए

। शायद त्यसैले उनमा आफ्ना कुनै पनि बेलाका शासकीय भुमिकाप्रति कुनै प्रकारको आत्मग्लानि वा पश्चाताप छैन ।

एक विशिष्ठ नागरिकको भूमिकाबीच दुईपटक राजा हुँदा र पुनः नागरिक हुँदा पनि उत्तिकै शान्त, शिष्ट, शालीन, भद्र र हँसिलो रुपमा परिस्थिति सामना गर्ने ज्ञानेन्द्र साहस सत्ताशक्ति नै सर्वेसर्वा ठान्ने जो कोहीका लागि सकारात्मक प्रेरणाको खुल्ला पुस्तक नै हो ।


अन्तिम राजाका रुपमा नारायाणहिटीबाट बाहिरिनुपूर्व तत्कालीन सेनाका परमाधिपति रहेका उनले सेनासँगै कुनै परामर्श नै नगरी गद्धी त्यागिदिए ।

सबैलाई अचम्म लाग्दो इतिहास हो यो ।

सेनाले राजा जोगाउन भुमिका खेलेन उतिबेला भनेर जति आलोचना राजावादीहरू सेनाको गर्छन्, उति नै मन दुखाइ सेनाको तत्कालीन राजाप्रति छ ।

कटवालको दोहोरिएर सेनापति हुने स्वार्थले महाराजालाई दिएको धोकामा पनि उनले कुनै पूर्वाग्रह राखेनन्। बरु विवेक प्रयोग गरेर सेनामा विभाजन नल्याउन र आफू समर्थक सैनिक शक्तिलाई मौन रहन प्रेरित गरे ।

किनभने उतिबेला राजाले आफूले सैनिक मद्दत लिन चाहेको र आफ्नो कदममा सेनाको साथ आवश्यक परेको महसुस सैनिक वृत्तमा सञ्चारित गराइदिएका भए तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटवालले नचाहँदा नचाहँदै पनि सेना तत्कालीन राजाको पक्षमा उभिने अवस्था बन्थ्यो नै ।


कटवालको दोहोरिएर सेनापति हुने स्वार्थले महाराजालाई दिएको धोकामा पनि उनले कुनै पूर्वाग्रह राखेनन्।

बरु विवेक प्रयोग गरेर सेनामा विभाजन नल्याउन र आफू समर्थक सैनिक शक्तिलाई मौन रहन प्रेरित गरे ।

नलेखिएको पूर्वराजा ज्ञानेन्द्रको यो सैन्य पाटो उनको दुरदर्शी विवेकसम्मत निर्णयका कारण  पनि देश आजको स्टेजमा रहेको हो ।


यी र यस्तै धेरै गौरवपूर्ण विगतका आलोकमा जन्म दिनको मुरी मुरी शुभकामना अर्पण गर्न लायक एकल पूर्वशासक हुन् तत्कालीन महाराज ज्ञानेन्द्र ।

यस अर्थमा उनलाई फेरि पनि भन्नै पर्छ, साधुवाद र उनको जन्मोत्सवमा कहनै पर्छ, जनजनले मनबाट कि, ह्याप्पी बड्डेनागरिक महाराज ज्ञानेन्द्र ।


अहिले उनले श्रीपेच नपहिरिएर पनि राजधर्म निर्वाह गरेका छन् । सन्तानलाई सोही बाटोमा प्रेरित गरेका छन् ।

नागरिक धर्म निर्वाहमा त उनी सगरमाथा नै हुन् ।

यसकारण उनी अहिले स्व–स्थापित नागरिक राजा हुन् ।

असल कर्ममा रमाउन उनलाई श्रीपेच हुनु र नहुनुले तात्त्विक असर पारेको छैन ।

माघ १९ उनको शासकीय युगको भुल थियो भने पनि त्यसबाट त्यसपछिका असल कर्मबाट उनले त्यो भुलबाट उन्मुक्ति पाइसके । 


अब उनका हर शासकीय भुल र कमजोरी गणतान्त्रिक सत्ताशासकबाट प्रतिस्थापित भैसकेका कारण अब उनी आलोचना, प्रहार आदिबाट मुक्त नै भैसके । किन भने उनले जुन त्याग गरे, त्यसले उनका शासकीय कमजोरीको सोधभर्ना भैसक्यो ।


हो, विक्रम सम्वत् ६० को दशकले नेपाललाई गणतन्त्र नेपाल बनाउला भन्ने शायदै नेपालीको कल्पना थियो ।

 किन भने बोलीमा गणतन्त्र भनिए पनि तत्कालीन भूमिगत नेकपा माओवादी बाहेक अन्य राजनीतिक दलले देशलाई गणतन्त्रमा लाने प्रण गरेका थिएनन् । शाहवंशीय राजाको २ सय ४० वर्षे शासकीय विरासतमा क्रमभंगता आउला भन्ने पनि शायदै कल्पना थियो । 


तर जे भयो, नेपालको राजनीतिक आकाशमा, त्यो निरन्तरताको नाटकीय क्रमभंगता थियो ।
र, त्यही नाटकीय क्रमभंगताको परिणाम आज देश शाब्दिक रुपमा नै भए पनि संघीय गणतन्त्र नेपालको नयाँ संविधान अनुसार  प्रचण्ड बहुमतको निर्वाचित वामपन्थी सरकारको पोल्टोमा पुगेको छ । 
 

कस्तो छ दुई तिहाई बढी बहुमतको वाम सरकारको सुरुवाती लक्षण भन्ने कुरा अहिले बहसको फरक पाटो हो । त्यतातिर पछि कुरा गरौंला । तर, अहिले गणतन्त्र नेपालको सबैभन्दा असली पालनकर्ता को हो भन्ने प्रश्नको उत्तरमा भने एकल नाम हो पूर्वराजा र राजपरिवार ।

त्यसैले गणतन्त्र ल्याउन नेगेटिभ योगदान गरेका र गणतन्त्र संस्थागत हुन दिन मौन रहेर विना प्रतिरोध सघाएका कारण असली गणतन्त्रवादी शक्तिका रुपमा निवर्तमान राजा र राजपरिवारलाई साधुवाद दिन कोही कसैले कन्जुस्याईं गरिरहनु आवश्यक छैन ।

यसर्थ गणतन्त्र नेपालका नागरिक राजा ज्ञानेन्द्रलाई जन्मदिनका मौसममा दीघार्यु र सुस्वाथ्यको शुभकामना दिनु अन्यथा होइन, हुँदैन ।

***

सूर्य खड्का

दुई दशक भन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील खड्का अरनिको टेलिभिजनका समाचार प्रमुख हुन् । उनी लाेकपथ डट कमकाे लागि समसामयिक विषयमा लेख्छन्।

Leave a comment