क्रोएसिया २० वर्षपछि सेमिफाइनलमा

रसिया। आयोजक राष्ट्र रसियालाई पराजित गर्दै क्रोएसिया जारी फिफा विश्वकपमा २० वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको छ ।  

फिस्ट स्टेडियममा शनिबारराति सम्पन्न अन्तिम क्वार्टरफाइनल खेलमा क्रोएसियाले रसियालाई टाइब्रेकरमा ४—३ गोल अन्तरले हराउँदै अन्तिम चारमा पुगेको हो। 

खेलको ३१औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै रसियालाई सुरुवाती अग्रता दिलाए । अर्तेम ज्युबाले दिएको पासलाई चेरिसेभले दाहिने कुना चाप्दै गोल गरे । 

रसियाको त्यो खुसी आठ मिनेटभन्दा बढी टिक्न सकेन। 

३९औं मिनेटमा मारियो मान्जुकिचको उत्कृष्ट क्रसलाई आन्द्रे क्रामारिकले हेडमार्फत गोल गर्दै खेललाई १—१ को स्थितीमा पुर्याए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म बराबरीमा रोकिएको खेलको निर्धारित ९० मिनेटको समयसम्म दुवै टिमले केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेल अतिरिक्त समयमा धकलियो ।

खेलको  १०० औं मिनेटमा लुका मोड्रिचको पासमा डोमागो भिडाले गोल गर्दै क्रोएसियालाई अग्रता दिलाए । अतिरिक्त समय सकिनु पाँच मिनेटअघि फर्नाण्डेजले गोल गरे। उनले जागोएभको फ्रिकिकमा हेडर गोल गर्दै रसियालाई खेलमा फर्काए ।

निर्धारित र अतिरिक्त समयमा बराबरी २—२ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । 

पेनाल्टी सुटआउटमा फिदोर स्मोलाभको फितलो प्रहार क्रोएसियाका गोलकिपर डेनियल सुबेसिचले बचाएका थिए भने मारियो फर्नाण्डेजले बललाई सहि दिशा दिन सकेनन् । 

सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो ।

तर त्यतिबेला सेमिफाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित भएको थियो ।  रसिया र क्रोएसियाको खेलसँगै क्वार्टरफाइनल संस्करणको सम्पन्न भएको छ ।

 
अब फाइनल प्रवेशका लागि क्रोएसियाले इंग्ल्याण्डको सामना गर्नेछ ।

यस अघि भएको क्वार्टरफाइनलमा इंग्ल्याण्डले स्वीडेनलाई २–० ले हराउँदै २८ वर्षपछि विश्वकपको अन्तिम चारमा स्थान बनाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?