कर्णालीको पर्यटन विकासमा ९८ करोड रूपैयाँ विनियोजन

सुर्खेत : कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पर्यटन विकासमा ९८ करोड रूपैयाँ छुट्याइएको बताएका छन् । 

नेपाल पर्यटन बोर्डद्वारा आयोजित आव ०७५÷०७६ को बजेट तर्जुमाका लागि शनिबार सुझाव संकलन कार्यक्रममा पर्यटनमन्त्री बुढाले मन्त्रालयको कूल बजेटको ९८ करोड रूपैयाँ पर्यटन विकासमा छुट्याइएको जानकारी दिए। 

पर्यटनको विकासका लागि भौतिक पूर्वाधार निर्माणमा जोड दिने हेतुले कूल बजेटको ५२ प्रतिशत रकम यसमा विनियोजन गरेको उनले जनाए । 

“कर्णाली प्रदेश सरकारले वैशाख १ गते ‘कर्णाली–रारा पर्यटन वर्ष २०७५’ को विधिवत् उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट गराइसकेको छ । त्यसले गर्दा पर्यटक आउनेक्रम बढेको छ”, उनले भने

जुन कुरालाई मध्यनजर गरेर कर्णालीमा आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको सहज पहुँचका लागि पदमार्ग, आधारभूत संरचना निर्माण गर्न भनेर यसमा बढी बजेट छुट्याएको हो । 

पर्यटकीय पूर्वाधार निर्माणार्थ रारामा रु तीन करोड, डोल्पामा रु दुई करोड, हिमालय ग्रेट ट्रेल अवलोकनका लागि दुई करोड, बुलबुले ताल निर्माणमा पाँच करोड र काक्रेविहारका लागि १० करोड रूपैयाँ बजेट विनियोजन गरिएको छ । 

यो प्रदेशका १० वटै जिल्लाको भिडियो डकुमेन्ट्री संकलन गरी प्रदेशको पर्यटन विकासको खाका तयार गरिने बताइएको छ । कर्णाली प्रदेश सरकारले पर्यटन प्राधिकरणको विचार ल्याएपनि अन्त्यमा पर्यटन बोर्ड नै आवश्यक छ भन्ने निष्कर्षमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?