बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी वृद्धि

लोकपथ
70
Shares

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्तापुँजी वृद्धि गरेको छ । समितिको संचालक समितिको बिहीबार बसेको बैठकले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ पु-याएको हो ।

बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सो अनुरुप कम्पनीहरुको जोखिम वहन क्षमता बढाउन, कम्पनीहरुलाई एक अर्कामा गाभ्ने गाभिने अनुकूल वातावरण सिर्जना भई उपयुक्त संख्यामा राख्न तथा पुँजी गत आधार बलियो बनाउन, ठूलो पुँजी भएमा सेवाको लागत कम भई बीमाको पहूँच विस्तार गर्न, ठूलो पुँजी कायम गरी कम्पनीहरुबिच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पुँजीसँग सामञ्जस्यता हुनेगरी चुक्ता पुँजी कायम गर्न पुँजी वृद्धिको निर्णय गरिएको समितीले जानकारी दिएको छ ।

समितिका अनुसार तोकिएको चुक्ता पुँजी २०७९ साल चैत्र मसान्तसम्ममा कायम गरिसक्नुपर्ने र निर्धारित पुँजी उपरोक्त समयावधिभित्र पुर्‍याउन नसक्ने कम्पनीहरुले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्नेछ ।

यसैगरी, विदेशी बीमकको रुपमा दर्ता भई सञ्चालनमा रहेको बीमकले बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ को दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजीबराबरको निर्धारित पुँजी कायम गर्ने र संयुक्त लगानीमा संचालित कम्पनीले तोकिएको समयावधिभित्र उल्लिखित निर्देशिकाको दफा ४ बमोजिमको तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्ने व्यवस्था गरिएको छ ।

कम्पनीहरुले ३० दिनभित्र आफ्नो पुँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समितिसमक्ष पेस गर्नुपर्ने व्यवस्था समेत रहेको समितीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?