सडक दुर्घटनाको एउटा कारणः आकाशे पुललाई ‘छानो’ (फोटो फिचर)

काठमाडौं । बाटो बिग्रियो, नीति नियम बनेन, नीतिको पालना भएन, गाडी पाइएन, जाम भयो, दुर्घटना बढ्यो…

यी सबैको दोष जनताले राज्यलाई दिने गर्छन् । कानूनको खासै पालना नहुने यो देशमा राज्यले कडा नियम ल्यायो भने लोकतन्त्रको खिल्ली उडाएको भनिन्छ, कानून ल्याएन भने नीतिनियम बनाइएन भनिन्छ ।

सञ्चार माध्यमको पहुँच आममानिसमा पुगिसकेकाले अहिले कसरी दुर्घटना भयो भन्ने थाहा पाउन केही घण्टा नै काफी छ ।

सामाजिक सञ्जालमा दुर्घटनाका समाचार दैनिक जसो पोस्ट भएका हुन्छन् ।

छोराछोरीका इच्छा पूरा गरिदिने अभिभारा अभिभावकको भएझैँ जनताका आवश्यकताहरू सम्बोधन गर्ने जिम्मा सरकारको हो भन्ने जनतालाई राम्रोसँग थाहा छ ।

तर, जनताले राज्यका सामान्य नियम पनि पालना गरेका हुँदैनन् । केही समयअघि प्रहरीले जथाभावी बाटो काट्नेलाई जरिवाना तिराउने नियम ल्यायो । प्रहरीले जथाभावी बाटो काट्ने र आकाशे पुलबाट बाटो नकाट्ने जनतालाई सचेत बनाउन यस्तो नियम ल्याएको बताएको थियो ।

तर, उक्त नियम लागु भएको केही समयमै हटाइयो । जनताले फेरि जथाभावी बाटो काट्न थालेका छन् भने आकाशे पुललाई ‘छानो’ बनाउन थालेका छन् ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार जथाभावी बाटो काट्दा जाम र दुर्घटना दुवै बढ्छ ।

तर, आकाशे पुलबाट बाटो काट्न भने सर्वसाधारण तर्किने गरेका छन् । काठमाडौंको जमल, भृकुटीमण्डप लगायतका केही आकाशे पुल अनिवार्य जस्तै भएपनि अन्य पुल भने सडकमा ‘शो’जस्तै बनेका छन् ।

रत्नपार्कबाट बाटो काट्न लाइन लागेका एक अधवैंशे पुरुष भन्दै थिए, ‘यो आकाशे पुलको उकालो कति निस्किनु, यहीँबाट काट्न सकिहालिन्छ नि ।’

तस्वीरः विनोद थापा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?