काठमाडौं । बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितीले यही चैत्र १० गते जारी गरेको बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजीसम्बन्धी व्यवस्थाको चरम मारमा यतिखेरि दुईवटा सरकारी बीमा कम्पनीहरु परेका छन् ।
समितिको न्यूनतम चुक्ता पुँजीसम्बन्धी पुरानो व्यवस्थाअनुसार जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी दुई अर्ब रुपैयाँ हुनुपर्नेछ भने निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ हुनुपर्नेछ ।
तर सरकारी स्वामित्वमा सञ्चालनमा रहेको जीवन बीमासम्बन्धी कारोबार गर्ने राष्ट्रिय बीमा संस्थानको हालकै अवस्थामा चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ भने निर्जीवन बीमासम्बन्धी कारोबार गर्ने राष्ट्रिय बीमा कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ ।
यी दुई कम्पनीहरुको हाल कायम रहेको चुक्ता पुँजीको अवस्थालाई हेर्दा पुरानै व्यवस्थाअनुसारको न्यूनतम चुक्ता पुँजी समेत कायम गर्न नसकेको अवस्था रहेको छ । तर समितिको चैत्र १० गते जारी भएको नयाँ व्यवस्थाअनुसार जीवन बीमा कम्पनीहरुले पाँच अर्ब र निर्जीवन बीमा कम्पनीहरुले दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्नेछ ।
यसको लागि २०७९ चैत्र मसान्तसम्मको समयसिमा तोकिएको छ भने अबको एक महिना भित्रमा पुँजी वृद्धिसम्बन्धी योजना पेस गरिसक्नुपर्ने हुन्छ ।
बीमा समितिको नयाँ व्यवस्था अनुसार तोकिएको चुक्ता पुँजी पुर्याउन राष्ट्रिय बीमा संस्थानले हाल कायम रहेको १८ करोड २० लाख २० हजार रुपैयाँ चुक्ता पुँजीमा चार अर्ब ८० करोड रुपैयाँ पुँजी थप गर्नुपर्ने हुन्छ भने राष्ट्रिय बीमा कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँमा एक अर्ब ७४ करोड रुपैंयाँ थप गर्नुपर्ने हुन्छ ।
तर यी दुई बीमा कम्पनीहरुको हालको अवस्थालाई हेर्दा बोनस र हकप्रदकै आधारमा तोकिएको न्यूनतम चुक्ता पुँजी कायम गर्नसक्ने अवस्था देखिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया