सेलिब्रेटीलाई प्रश्नः यसपालिको विश्वकप कसको पोल्टामा पर्ला?

काठमाडौं । झण्डै एक महिनासम्म रसियामा जारी  विश्वकपले विश्वको ध्यान तान्यो । नेपालमा पनि विश्वकपको प्रभाव नपर्ने कुरै भएन । प्रभाव त परेकै हो तर अहिले भने विश्वकपको माहोलमा पहिलेको तुलनामा केही कम भने भएको छ ।

नेपालमा धेरै समर्थक भएका राष्ट्र विश्वकपबाट बाहिरिएका छन् । ब्राजिल, अर्जेन्टिना, पोर्चुगल, स्पेन, जर्मनी लगायतका देश खेलबाट 'आउट' भइसकेका छन् । त्यसको प्रभावले समर्थकले जर्सी लगाएर बजारमा निस्किनेको सङ्ख्या एकदमै पातलो भएको छ । विश्वकपको सेमिफाइनलमा पुगेका चार राष्ट्र मात्र अब विश्वकपका लागि दाबेदार छन् । सेमिफाइनलमा पुगेका राष्ट्र फ्रान्स, कोएसिया, इङ्ल्याण्ड र बेल्जियम विश्वकपको मैदानमा उत्रिने छन् ।

यसपटकको विश्वकपको नतिजा कसको पोल्टामा पर्ला भन्ने कौतुहल सबैमा छ । र, खेलका हिसाबले ठ्याक्कै यही टिमले जित्छ भन्न सकिने अवस्था छैन । किनकि, इतिहासका बलिया भनिएका राष्ट्रमध्ये खेलमा पराजित भएर घरतिर लागिसके ।

अरुजस्तै यसपटक कसले जित्छ भन्नेमा सेलिब्रेटी पनि दोधारमा देखिएका छन् । त्यसो त बलिया भनेका टिमलाई हराएर नै चारवटा टिम सेमिफाइनलसम्म आइपुगेका हुन् । तर अहिले भने ठ्याक्कै यसले नै जित्छ भनेर भन्न सकिने अवस्था नरहेको सेलिब्रेटी बताउँछन् ।

सुगम गायक प्रमोद खरेल यसपटकको विश्वकपमा सबैको उत्तिकै सम्भावना भएको बताउँछन् । आशा गरिएका टिम कुनै नभएपनि खेलको हिसाबले सबै दाबेदार भएको उनको भनाइ छ ।

‘सबै टिमका खेलाडीमा उत्तिकै सम्भावना देखिन्छ, सबैमा उच्च आत्मविश्वास छ, यही टिमले जित्छ भन्न सकिने अवस्था छैन’, उनी अगाडि थप्छन्, ‘सबै टिम युरोपियन टिम भएकाले एकअर्कालाई बुझेका पनि छन्, नब्बे मिनेटमा जसले राम्रो खेल्छ, उसैले खेल जित्छ ।’

इन्स्टाग्राममा स्पेनको समर्थन गर्दै तस्वीर अपलोड गरेकी प्रियंका कार्कीले यसपटकको विश्वकप कसले जित्छ भन्ने अनुमान लगाउन गाह्रो भएको बताउँछिन् । यतिबेला ‘छक्का पञ्जा ३’ को छायांकनमा व्यस्त प्रियंका विश्वकपको अपडेटमा त छिन् तर राम्रा भनिएका टिम आउट भइसकेकाले सेमिफाइनलमा पुगेका टिममध्येमा कुन टिमले जीत हासिल गर्छ भनेर भन्न नसकिने अवस्था रहेको बताउँछिन् । उनी भन्छिन्, ‘राम्रो भन्ने टिम बाहिरिइसके, सेमिफाइनल पुगेका राष्ट्रमा यही टिम राम्रो भन्ने छैन, तर खेल हेर्छु ।’

 

TONIGHT FOR SPAIN ❤ #vamosspain??❤️?? @snowiekarki

A post shared by Priyanka Karki (@priyanka.karki) on

‘समर लभ’ का लेखक सुविन भट्टराई पहिलेबाट नै आफू फ्रान्सको समर्थक भएको बताउँछन् । संयोग भन्नुपर्छ, उनको टिम सेमिफाइनलमा पुगेको छ । भट्टराई यो टिम यसपटक विश्वविजेता बन्ने धारणा राख्छन् । ‘समर्थक भएको नाताले मात्र होइन, खेल पनि राम्रो छ, यसपटकको विश्वकप फ्रान्सले जित्छझैँ लाग्छ’, उनी भन्छन्, ‘पहिलेका ब्राजिल, जर्मनी, अर्जेन्टिना लगायतका टिम सेमिफाइनल पनि पुग्न सकेनन्, फ्रान्ससँगै बेल्जियमले जित्ने सम्भावना छ ।’

पूर्वराष्ट्रिय फुटबल खेलाडी भोला सिलवालले खुबै ध्यान लगाएर विश्वकप हेरिरहेका छन् । नेपाल पुलिस क्लबबाट फुटबल खेल्दै आएका सिलवाल यसपटकको विश्वकप फ्रान्सले जित्ने सम्भावना रहेको बताउँछन् । आफू पहिलेदेखि नै ब्राजिलको खेलको समर्थनमा रहेको बताउँछन् । तर ब्राजिल यसपटक आउट भइसकेको छ ।

‘हो, म ब्राजिलको समर्थनमा थिएँ, टिम पङ्क्ति केही कमजोर भएर ब्राजिलले हार बेहो–यो’, उनी भन्छन्, ‘पूरै खेल हेर्दा यसपटक फ्रान्सले जित्नसक्ने सम्भावना छ, अझ यो टिमले त बलिया भनिएका राष्ट्रलाई पनि हराएको छ, खेल राम्रो छ ।’

‘फ्रान्स र इङ्ग्याल्ण्डमध्ये एउटा टिमले जित्छ शायद, तर सानो त्रुटिले पनि गेम हार्न सकिने सम्भावना छ ।’, उनी बताउँछन् ।

अर्कातिर नयाँ टिमले विश्वकप जित्ने सम्भावना पनि उत्तिकै छ । बेल्जियम र क्रोएसियामध्ये कुनै एक टिमले यदि खेल जिते भने विश्वविजेताको लिस्टमा यी देशले पनि आफ्नो नाम सुरक्षित गर्नेछन् । फ्रान्स र इन्ल्याङ्ग्डले भने यसअघि नै विश्वकप जितेका छन् । यस आधारमा भने फ्रान्स र इङ्ल्याण्ड दुवै देशलाई बढी दाबेदार देशका रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?