काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश अर्याललाई जिम्मेवारी दिएको छ ।
अर्थ मन्त्रालयमा कार्यरत उपसचिव अर्याललाई तत्कालका लागि नेप्सेको प्रमुख कार्यकारीको जिम्मेवारी प्रदान गरेको हो ।
नेप्सेका प्रमुख कार्यकारीको जिम्मा पाएका अर्याललाई नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।
शपथ ग्रहणपछि अर्यालले नेपाल सरकार, नेपाल धितोपत्र बोर्ड, लगानीकर्ता, सदस्य धितोपत्र दलाल लगायतका सरोकारवालासँग कार्यशील सम्बन्ध बनाई मुलुकको आवश्यकता अनुसार पूँजी बजारको विकासमा लाग्ने बताए । साथै उनले लगानीकर्ता, स्टक एक्सचेञ्ज तथा कर्मचारीको हित प्रवर्द्धनमा गर्ने प्रतिबद्धता जनाए ।
नेपाल सरकारको असार २२ गतेको मन्त्रीस्तरीय निर्णय बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि अर्यालले नेप्सेको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् । अर्याल अर्थमन्त्रालयका उपसचिव हुन् ।
यसैगरी नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद निर्वाचन आचारसंहिता लागू भएपछि नियुक्त गरिएका कारण सरकारको निर्णयपछि पदमुक्त भएका हुन् ।
यही असार २० गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख कार्यकारी अधिकृत साउदको नियुक्ति समेत खारेज गरिदिएको हो ।
अर्थ मन्त्रालयद्धारा गठित छनौट समितिको सिफारिसमा सरकारले गत असोज २३ गते साउद ४ वर्षका लागि नेप्सेको प्रमुखमा नियुक्त भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया