चितवन : चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा ६ र भारतमा ४ तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा २-२ गैँडा पठाइएको छ ।
निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा ४ गैँडा पठाइएको थियो । पछिल्लो पटक सन् २००६ मा अष्ट्रियामा एक जोडी गैँडा पठाइएको थियो । १२ वर्षपछि पुनः अहिले दुई जोडी गैँडा चीन पठाउन लागिएको हो । यससँगै निकुञ्जबाट पठाइएका गैँडा ३० पुग्नेछन् ।
यसअघि गैँडा पठाएर भारत, म्यान्मार र थाइल्याण्डबाट हात्ती ल्याइएको थियो । निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रीत यादवले गैँडा दिएर भारतबाट मात्र १६ हात्ती ल्याइएको जानकारी दिए । विभिन्न देशमा सम्बन्ध सुमधुर बनाउनका लागि उपहारस्वरुप जनावर दिइएको उनले बताए । यसबाट वंश विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
निकुञ्जबाटै विभिन्न देशलाई घडियाल र मगर गोही पनि उपहारस्वरुप दिइएको छ । चीनलाई गैँडा उपहार दिँदै गर्दा चीनबाट जेन्ट पाण्डा ल्याउन सकेमा ठूलो उपलब्धि हुने उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया