कमरेड अब भ्यू टावरबाट रोल्पाको गरिबी नियाल्नूस् !

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार रोल्पा पुगे । माओवादीको आधार इलाका र जन्मभूमि रोल्पामा प्रचण्डको ठूलो स्वागत भयो ।

लुम्बिनी प्रदेशमा पर्ने विकट जिल्ला रोल्पाले गरिबीको वकालत गर्ने ठूलो कम्युनिस्ट पार्टी जन्मायो । जन्मायो मात्र होइन । हुकार्यो, बढायो र ठूलो बनाएर क्रान्ति गर्न देशभर पठायो ।

रोल्पामै डिजाइन भएअनुसार १० वर्षसम्म सशस्त्र क्रान्ति भयो । विकास र निकासका लागि गरिएका क्रान्तिले छाडेका केही घाउका अवशेषहरू देशभर रहँदै गर्दा रोल्पामा त्यसको भाग बढी रहेको छ । जुन उद्देश्यका साथ क्रान्ति गरियो त्यो अर्धकल्चो रहेको कुरा बेला–बेला त्यही क्रान्तिको नेतृत्व गर्नेहरूले भन्ने गरेका छन् । सोही कारण पनि रोल्पाबाट जन्मिएको माओवादी केन्द्र टुक्रिँदै पुनः क्रान्ति खोज्न त्यही रोल्पा पुग्ने अवस्थामा पुगेको छ ।

त्यसो त सोमबार रोल्पा पुगेका प्रचण्डको अभिव्यक्ति सुन्दा उक्त कुराको पुष्टि हुन्छ कि, प्रचण्ड अहिले अप्ठ्यारोमा छन् । रोल्पामा आयोजित एक जनसभालाई सम्बोधन गर्दै प्रचण्डले आफू अप्ठ्यारो पर्दा रोल्पा आउने अभिव्यक्ति दिए । भावुक मुद्रामा प्रचण्डले दिएको भाषण सुनेका रोल्पालीले प्रचण्डको दुःख सुने । र प्रचण्डसँगै आफू पनि दुखे । प्रचण्डले आफूलाई दुःख पर्दा सधैँ रोल्पालाई सम्झिने भन्दै आफू ऊर्जा लिन आएको समेत भन्न भ्याए ।

बयान प्रचण्डको अभिव्यक्तिको गर्न खोजिएको पक्कै होइन । भोकबाट क्रान्ति खोज्न भन्दै रोल्पाको भोको पेट रोजेका प्रचण्डहरूको आज आलिसान महल हुँदा तिनै प्रचण्डहरूलाई आश्रय दिनेहरू दुःख पर्दा जाने कहाँ ? प्रचण्डको दुःख सुन्न घण्टौँ हिँडेर आएका रोल्पालीले जस्तै प्रचण्डले पनि ती रोल्पालीको दुःख सुन्लान् ? पक्कै सुन्दैनन् किनकि आज पनि रोल्पा उस्तै छ । र त प्रचण्डहरू दुःख बिसाउन त्यहाँ पुग्छन् ।

त्यसो त प्रचण्ड र रोल्पालीबीच दोहोरो दुःख साटासाट भएको भए आज रोल्पा रोल्पा रहने थिएन । प्रचण्डलाई दुख्दा भावुक हुने रोल्पाको दुखाइमा पनि साँच्चै भावुक होलान् त प्रचण्ड ? प्रश्न यहाँनेर हो ।

रोल्पाको भोक अझै उस्तै छ । सामान्य औषधि नपाएर रोल्पालीहरूले ज्यान गुमाइरहेको समाचार आइरहेका बेला सोमबार रोल्पा पुगेर प्रचण्डले भ्यू टावर उद्घाटन गरेपछि यही विषयले सामाजिक सञ्जाल भरिएका छन् । रोल्पाको रोल्पा नगरपालिकाको सातदोबाटोमा प्रचण्डले उद्घाटन गरेको जनयुद्ध स्मृति भ्यू टावरका विषयमा थप चर्चा र आलोचना भइरहेको छ ।

द्वन्द्वका पीडितहरू अझै पनि गोलीको छर्रा लागेका घाउहरूमा पट्टी बाँध्ने अस्पताल पाइरहेका छैनन् । यता विपक्षी पार्टीहरूले जनयुद्धका घाइतेहरूको उपचारको जिम्मा माग्दै गर्दा आज रोल्पाको डाँडोमा अस्पतालको सट्टा करोडौँको भ्यू टावर ठड्याइनुले के प्रचण्डको क्रान्ति सफल भएको मान्न सकिन्छ ?

त्यसो त मन दुख्दा रोल्पा आउने गरेको भाषण दिएका प्रचण्ड सधैँ भने रोल्पा पुग्दैनन् । सोमबार उनी ७ वर्षपछि मात्रै त्यहाँ पुगेका हुन् । के ७ वर्षको बीचमा रोल्पा दुखेन होला ? या रोल्पा दुख्दा पनि प्रचण्डले थाहा पाएनन् ? रोल्पा पुगेर आफ्ना मनका भाव पोखेका प्रचण्ड के रोल्पाको दुःखसँग परिचित होलान् ? छैनन् भन्न धेरै कारण र तथ्यहरू छन् ।

रोल्पामा गरिबी, बेरोजगारी, अशिक्षा उस्तै छ । स्वास्थ्यको अवस्था पनि त्यस्तै नाजुक अवस्थामा छ । पढ्ने विद्यार्थी भए पनि पढाउने शिक्षक र विद्यालय संरचनाको अवस्था नाजुक छ । स्वास्थ्यको कुरा गर्ने हो भने भोट हालेर जिताउने जनताले सिटामोल नपाउँदै गर्दा तिनै जनताले जिताएका नेताहरू विभिन्न देशमा उपचार गर्ने सामथ्र्य राख्छन् । तर राम्रो स्वास्थ्य पूर्वाधारको पहुँच नपुगेका कारण रोल्पाका जनताहरूको ज्यान अकालमा जाने गरेको समाचारहरू आइरहेका छन् ।

जनयुद्धले थिलथिलो भएको रोल्पा विकासमा कछुवा गतिमा गएको छ ।

पहिलो पटक भएको संविधानसभाको निर्वाचनमा त्यसबेलाका सबैभन्दा प्रभावशाली मानिएका प्रचण्डलाई त्यहीँका जनताले जिताएर पठाए । सबैभन्दा ठूलो दलको सबैभन्दा ठूलो नेता भएर संसद् छिरेका प्रचण्ड त्यसपछि धेरै रोल्पा फर्किएनन् ।

सोमबार भावुक मन्तव्य दिने प्रचण्ड २०६४ सालको निर्वाचन रोल्पाबाट जितेपछि बिस्तारै टाढिएनन् मात्र । पछि निर्वाचन क्षेत्र नै चितवन सारे । प्रचण्ड मात्र नभएर माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा पनि रोल्पा छाडेर दाङ झरेका छन् ।

निर्वाचन क्षेत्रमा समेत दुर्गम छाडेर सुगममा झर्ने नेताहरू बेला–बेला मनोरञ्जनात्मक उद्यानहरूको उद्घाटनका लागि पुग्नुले देश विकासको मोडललाई के भनेर सम्झिने ?

अझै पनि १५ देखि २० हजार रोल्पालीको भागमा एक जना मात्र डाक्टर परेको तथ्यांक छ । समग्रमा हेर्न हो भने मानव विकास सूचकांकको अवस्था हेर्दा रोल्पा सबैभन्दा पछाडि परेको छ । गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकताका कुराहरूबाट वञ्चित रोल्पालीहरूलाई पर्यटनको लागि ठडाइएको ११२ फिटे भ्यू टावरमाथि चढेर के त्यहाँको गरिबी नियाल्न सकिएला ?

४ करोडको लागतमा निर्माण भएको उक्त भ्यू टावर रोल्पाको गरिबी नियाल्ने मानक बन्न सक्ला ? अझै पनि भोक, रोग, गरिबी, अशिक्षा र पिछडिनुपरेको अवस्थामा रहेका रोल्पालीहरूले सारा दुःख बिर्सिएर भ्यू टावरको मज्जा लेलान् त ?

यहाँ यति बयान गरिरहँदा भ्यू टावर उद्घाटन गर्न पुगेका प्रचण्ड केवल प्रतिनिधि पात्र हुन् । अन्य दलका शीर्ष नेताहरुको पछिल्लो समय भ्यू टावर उद्घाटन लहर नै चलेको छ । हाम्रो विकासको मोडल नै अग्ला–अग्ला ठाउँका भ्यूटावर मात्रै प्राथमिकता हो ? १० वर्षे जनआन्दोलनको सम्झनास्वरुप जनमुक्ति सेनाको त्याग झल्काउने अन्य संरचनाहरु निर्माण गरिन सकिन्छ । आवश्यकताका आधार संरचनाहरु निर्माण गरिनु नै माटो सुहाउँदो विकासको मोडल बन्न सक्दछ ।

यता यति लेखिसक्दा पंक्तिकारलाई विकासविरोधीको संज्ञा आउन पनि सक्छ । आफैँमा भ्यू टावरजस्ता डाँडाकाँडामा हुर्किएका नेपालीहरूले अहिले भ्यू टावरभन्दा पनि शिक्षा स्वास्थ्यमा समान पहुँच र स्वदेशमै रोजगारीको अवसर खोजिरहेका छन् ।

प्रचण्डले उद्घाटन गरेको उक्त भ्यू टावर एक प्रतिनिधि मात्रै हो । यी र यस्ता पूर्वाधारहरु देशैभर शिलन्यास र उद्घाटनमा नेताहरुको दौडधुप देखिन्छ । गाँस, बास कपासपछिको मनोरन्जन भए पनि अन्य नैसर्गिक अधिकारहरुभन्दा अगाडि हाम्रा नेता मनोरन्जनलाई प्राथमिकता दिँदै छन् ।

त्यसो त प्रचण्डले उक्त भ्यू टावरको उद्घाटन गरेको भोलिपल्टै पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शंकरनगर वन वाटिकामा निर्माण गरेको बहुउद्देश्यीय भ्यू टावरको उद्घाटन गरे ।

स्थानीय तहको प्राथमिकतामा समेत स्थानीय पूर्वाधारको विकास र विस्तारभन्दा पनि भ्यू टावर निर्माणले प्राथमिकता पाउन थालेको छ । जसको कारण अनुत्पादक क्षेत्रमा लगानी बढ्नुले हाम्रो बजेट त्यसै खेर गइरहेको छ ।

२०७४ सालमा स्थानीय निर्वाचनबाट आएका जनप्रतिनिधिहरु समेत विकासको नयाँ मोडलको नाममा भ्यू टावर ठड्याउनतिर लागेका छन् । आफैँमा प्राकृतिक महत्व बोकेका डाँडाकाँडामा भ्यू टावरले एकैछिन मनोरन्जन त देला तर जनताले अहिले खोजेको आधारभूत आवश्यकता पूर्तिका लागि रोजगारी हो, निकास हो, विकास हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?