रसिया । जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको सेमिफाइनल खेल आजबाट शुरु हुँदैछ ।
आजराति हुने पहिलो सेमिफाइनल खेलमा पूर्व विश्वविजेता फ्रान्सले बेल्जियमको सामना गर्दैछ । यी दुई टिमबीचको खेल सेन्ट पिटर्सवगमा नेपाली समयअनुसार आजराति पौने १२ बजेपछि शुरु हुँदैछ ।
दोस्रो पटक विश्वकपको अन्तिम चारमा भिड्न लागेको बेल्जियमले फ्रान्सलाई खेल अबधिभर रोक्ने रणनीतिका साथ मैदानमा उत्रदैछ ।
पछिल्लो समयमा रोबर्टो मार्टिनेजले सम्हालेको बेल्जियमलाई पनि उपाधिको दाबेदार टिमको रुपमा हेरिएको छ । बेल्जियमले सेमिफाइनलसम्मको यात्रा गर्दा १४ गोल गरिसकेको छ । सन् २००२ मा दक्षिण कोरिया र जापानले संयुक्त रुपमा आयोजना गरेको विश्वकपमा ब्राजिल च्याम्पियन बन्दै १४ गोल गरेको थियो ।
सन् १९८६ मा मेक्सिकोमा सम्पन्न विश्वकपमा चौथो भएको बेल्जियम ३२ वर्ष पछि पहिलो पटक सेमिफाइनलमा भिड्न लागेको हो ।
बेल्जियमको अग्रपंक्तिको भाग केभिन डी बु्रयन, रोमेलु लुकाकु र इडेन हाजार्डले सम्हाल्नेछन् । क्वार्टरफाइनलमा ब्राजिलविरुद्धको खेलमा लुकाकु, हाजार्ड र ब्रुयनले उत्कृष्ट खेल खेलेका थिए ।
बेल्जियमका यी तीनै फरवार्डले ब्राजिली टिमको डिफेन्सलाई ध्वस्तै पारेको थियो । आज पनि यी तीनै खेलाडीमा बेल्जियम भर पर्नेछ ।
प्रशिक्षक मार्टिनेजको टिमलाई बेल्जियम फुटबलकै स्वर्णिम पुस्ता मानिएको छ । यस टिमलाई उनले ३–४–३ को फर्माटमा खेलाइरहेका छन् । कप्तान भिन्सेन्ट कोम्पनी, जान भोर्टेनघन र टोबी एल्डरवेइरड मार्टिनेजको पहिलो रोजाइका डिफेन्स हुन् ।
सन् १९३० मा बेल्जियमले विश्वकपको पहिलो संस्करणमा सहभागिता जनाएको थियो । सन् १९८६ मा भएको १२ औं संस्करणको विश्वकपमा बेल्जियमले पाँचौं स्थान हासिल गरेयता अहिलेसम्म खासै उपलब्धि प्राप्त गरेको छैन ।
यता, पाउल पोग्बा, एनगोलो कान्टे, एन्टोइन ग्रिजमन, ओलिभियर जिरुड र केलियन एमबाप्पे जस्ता स्टार खेलाडीले भरिपूर्ण फ्रान्स बेल्जियमलाई हराउँदै उपाधि जित्ने दौडमा रहेको छ ।
अग्रपंक्तिमा एम्बाप्पे र ग्रिजमनले कुनै पनि डिफेन्सलाई ध्वस्त पार्न सक्छन् ।
अर्का फरवार्ड ओलिभर गिरोड चल्न सकेमा फ्रान्सले दुई दशकपछि फेरि विश्वविजेता बन्ने बाटोमा अगाडि बढ्न सक्छ ।
सन् १९९८ को विश्वविजेता फ्रान्सले जारी विश्वकपमा खेलको ५ खेलमा ९ गोलमात्र गरेको छ । त्यसमा एमबाप्पे र ग्रिजमनले समान ३—३ गोल गरेका छन् ।
फ्रान्सले क्वार्टरफाइनलको खेलमा उपाधि दाबेदार मानिएको डिएगो म्यारोडोनाको टिम अर्जेन्टिनालाई टाइब्रेकरमा ४—३ गोलले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको थियो । सो खेल फाइनलमा भन्दा पनि कम थिएन ।
यता ब्लेइसी मातुइदी एक खेलको प्रतिबन्ध पछि आजराति बेल्जियमविरुद्धको खेलमा मैदानमा उत्रदैछन् । आजको खेलमा बेल्जियमलाई पराजित गरे फ्रान्सले स्वर्णिम अक्षरले इतिहासमा दोस्रो पटक विश्वकप विजेताको नाम लेख्नेछ ।
अहिलेसम्म फ्रान्स र बेल्जियम ७४ पटक आमने—सामने हुँदैछन् ।
जसमा बेल्जियम ३० र फ्रान्सले २४ मा जित हासिल गरेको छ । विश्वकप फुटबलमा भिडेका दुई खेलमा नै फ्रान्सले बेल्जियमलाई पराजित गरेको छ ।
सन् १९३८ मा ३—१ तथा सन् १९८६ मा २—१ ले फ्रान्सले बेल्जियमलाई हराएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया