नेपालविरुद्धको एक दिवसीय खेल ऐतिहासिक हुनेछ  : प्रशिक्षक काम्पबेल

काठमाडौं। आगामी साउन १६ गतेदेखि शुरु हुने एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको पहिलो श्रृंखलाका लागि अहिले नेपाली टिम अभ्यासमा व्यस्त छन् । 

खेलाडीहरुले अहिले कीर्तिपुरस्थित ‘टियू’ मैदानमा दैनिक अभ्यास गरिरहेका छन् । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले नेदरल्यान्ड्ससँग पहिलो एक दिवसीय क्रिकेट खेल्ने तय भएको हो । 

इङ्ल्यान्डको लर्ड्स क्रिकेट मैदानमा यहि जुलाई २९ मा नेपाल, नेदरल्यान्ड्स र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) बीच एकदिने टि—२० त्रिकोणात्मक श्रृंखला खेल्दैछ । त्रिकोणात्मक श्रृंखलापछि नेपालले नेदरल्यान्ड्ससँग दुई वटा एक दिवसीय खेल खेल्ने कार्यक्रम रहेको बताइएको छ । 

नेपालले साउन १६ र १८ मा नेदरल्यान्ड्ससँग दुई खेल खेल्ने तय भएको नेदरल्याण्ड क्रिकेट बोर्डले जानकारी दिएको छ । 

नेपालले जिम्बाबेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा उत्कृष्ट खेल्दै चार वर्षका लागि एक दिवसीय क्रिकेट खेल्ने मान्यता पाएको थियो । 

तर अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले नेपालको क्रिकेट संघमाथि निलम्बन लगाएको अवस्थामा नेपाली टोलीले कहिले र को विरुद्ध एक दिवसीय क्रिकेट खेल्छ भन्ने अन्योल थियो।
त्यस्तै, नेदरल्यान्ड्स क्रिकेट बोर्डले नेदरल्याण्डस भ्रमणको तय गरेसँगै नेपालले एक दिवसीय खेलमा डेब्यू गर्नेछ ।

‘नेपाल विरुद्धको खेल हाम्रो लागि निकै महत्वपूर्व छ । साथै, सन् २०१४ मा गुमाएको वान डे स्टाटस पछि पहिलो पटक नेपालसँग खेल खेल्दा हाम्रो लागि  ऐतिहासिक हुनेछ।’ नेदरल्याण्ड्सका प्रशिक्षक रायन काम्पबेलले भने । 

नेदरल्याण्डसले सन् २०१४ पछि पहिलो एक दिवसीय प्रतियोगिता खेल्न लागेको हो । नेदरल्याण्डले त्यसयता एक दिवसीय मान्यता गुमाएको थियो। तर सन् २०१५ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपको उपाधि जितेसँगै पुनः एक दिवसियको राष्ट्रको मान्यता पाएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?