नेपाल लाइफको चुक्ता पुँजी सात अर्ब १९ करोड पुग्दा राष्ट्रिय बीमा संस्थानको १८ करोड १० लाख

लोकपथ
182
Shares

काठमाडाैं । बीमा समितिले जीवन बीमा कम्पनीहरूको हकमा न्यूनतम चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएपछि बीमा कम्पनीहरू पुँजी वृद्धिको लागि दबाबमा परेका छन् । समितिले यही चैत्र १० गते परिपत्र जारी गर्दै जीवन बीमा कम्पनीहरूलाई हाल कायम रहेको दुई अर्ब रुपैयाँलाई वृद्धि गरी पाँच अर्ब रुपैयाँ पुर्‍याउन निर्देशन दिएको छ ।

पुँजी वृद्धिको लागि एक वर्षको न्यूनतम समयसीमा निकै नै कम भएको र पुँजी वृद्धिको योजना पेस गर्ने समयसीमा पनि सोही मितिले एक महिना मात्र तोकिएपछि बीमा कम्पनीहरूलाई चुक्ता पुँजी वृद्धिको लागि थप दबाब महसुस भएको हो ।

नेपालमा हाल सरकारी तथा निजी क्षेत्रको लगानी रहेको समेत गरी १९ वटा जीवन बीमा कम्पनीहरू सञ्चालनमा रहेका छन् । यीमध्ये निजी क्षेत्रको लगानी रहेको नयाँबाहेक पुराना सबै कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी बीमा समितिले तोकेको पुरानो व्यवस्थाअनुसार अर्थात् दुई अर्ब रुपैयाँको हाराहारीमा रहेको छ ।

तर सरकारी स्वामित्वको जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानको चुक्ता पुँजी भने हालकै अवस्थामा १८ करोड रुपैयाँको हाराहारीमा रहेको छ । यो अवस्थामा न्यूनतम चुक्ता पुँजी वृद्धिको सबैभन्दा बढी मारमा निजी बीमा कम्पनीभन्दा सरकारी बीमा कम्पनीहरू नै परेका छन् ।

हालको अवस्थामा पुरानै व्यवस्थाअनुसारको दुई अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्‍याउन नसकेको राष्ट्रिय बीमा संस्थानले अबको एक वर्ष अर्थात् समितिको दिएको समयसीमा २०७९ चैत्र मसान्तसम्ममा झण्डै चार अर्ब ८० करोड रुपैयाँ पुँजी वृद्धि गर्नुपर्ने देखिएको छ । राष्ट्रिय बीमा संस्थानको हकमा बोनस र हकप्रद सेयर जारी गरेकै भरमा ऊक्त चुत्ता पुँजी कायम हुने सम्भावना न्यून रहेको छ ।

यस अवधिमा निजी क्षेत्रद्वारा सञ्चालित नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई भने बीमा समितिको चुक्ता पुँजी वृद्धिसम्बन्धी पछिल्लो व्यवस्थाले कुनै पनि असर गरेको छैन । हालकै अवस्थामा नेपाल लाइफको चुक्ता पुँजी सात अर्ब १९ करोड ९९ लाख ७० हजार रुपैयाँ छ, जुन बीमा कम्पनीहरूमध्येमा सबैभन्दा उच्च हो ।

यीबाहेकका अन्य जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी भने एक अर्ब ४० करोडदेखि तीन अर्ब ३९ करोड रुपैयाँसम्म रहेको छ । सोमध्ये मेट लाइफ इन्स्योरेन्स अमेरिकन बीमा कम्पनीको शाखाको रूपमा कारोबार सञ्चालन गर्दै आएकाले नेपालमा उक्त कम्पनीले चुक्ता पुँजी देखाएको छैन ।

यीबाहेक सुर्या लाइफ, प्राइम लाइफ, प्रभु लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी क्रमशः दुई अर्ब ५५ करोड दुई लाख ८२ हजार, दुई अर्ब ४१ करोड ७० लाख ५७ हजार, दुई अर्ब र दुई अर्ब १० करोड रुपैयाँ रहेको छ ।

यसैगरी लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, सिटिजन लाइफ, ज्योति लाइफ, सानिमा लाइफ र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी भने क्रमशः दुई अर्ब २१ करोड १० लाख, एक अर्ब ७५ करोड, दुई अर्ब २० करोड, दुई अर्ब र एक अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

एसियन लाइफ, महालक्ष्मी लाइफ, आईएमई लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी भने क्रमशः दुई अर्ब १० करोड ७६ लाख, एक अर्ब ४० करोड, एक अर्ब ४० करोड र दुई अर्ब आठ करोड ४२ लाख ५० हजार रुपैयाँ रहेको छ ।

यीबाहेक युनियन लाइफ र नेसनल लाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी भने क्रमशः दुई अर्ब १५ करोड र तीन अर्ब ३९ करोड आठ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?