रिस उठ्दा गर्न नहुने ६ काम

सवारी साधन नचलाउनुहोस्
रिस उठेपछि वरिपरिका चिजलाई हेर्ने हाम्रो दृष्टिकोणमा परिवर्तन आउँछ । हरेक चिजलाई नकारात्मक नजरले हेरिन्छ । रिसाएको व्यक्तिले अधिक गतिमा सवारी साधन चलाउने गर्छ । यसो गर्दा दुर्घटनामा परिने जोखिम बढी हुन्छ ।

फुट्ने सामान नबोक्नुहोस्
रिसाएको बेला छेउमा भएका वस्तुमाथि प्रहार गर्ने जोखिम ज्यादा हुन्छ । ऐना, कप, सिसाका सामग्री लगायतको छेउमा रिसाएको बेला नजानु राम्रो हुन्छ । साथै, रिस उठेको बेला हातमा मोबाइल फोन, आइपड, ट्याब, ल्यापटप, नेटबुकजस्ता फुट्ने चिज नबोक्नु राम्रो हुन्छ । किनकि, रिसको झोकमा यस्ता सामग्रीलाई भुइँमा बजारिदिने जोखिम पनि हुन्छ ।

निराश नहुनुहोस्
रिसाएको बेलामा निराश भइयो भने यसले अप्रिय परिणाम निम्त्याउन पनि सक्छ । रिसाएको बेला निराश भइयो भने विगत र भविष्यलाई पनि निराश तरिकाले हेर्न पुगिन्छ र अप्रिय निर्णय लिन सकिन्छ । तसर्थ, रिसाएको बेला ‘यो रिस भनेको केही बेरका लागि हो, अहिलेको अवस्था गुज्रेर जान्छ र सबै सामान्य हुन्छु ’ भन्ने सोच्नुपर्छ ।
बहस नगर्नुहोस्
रिस उठेका वेला सही अथवा गलत छुट्याउने क्षमतामा ह्रास आउँछ । रिसाएको बेला मानिस तर्कबाट नभई भावनाबाट नियन्त्रित हुन्छ । रिसाएको बेला बहस गर्दा सही कुरालाई पनि गलत भन्ने अथवा अपशब्द प्रयोग गर्ने जोखिम बढी हुन्छ । रिस उठेको बेला बहसमा सहभागी हुँदा कन्सिरी अझ तात्छ । यसले अरूसँगको सम्बन्ध बिगार्न सक्छ ।

नखानुहोस्
रिस उठेको बेला सम्यक भोजन गर्न सकिँदैन । रिसाएको बेला मानिसको मन र शरीर दुवैमा यसको असर परेको हुन्छ । यस्तो अवस्थामा भोजन गरियो भने या त बढी खाइन्छ या कम । त्यसैले रिस मत्थर भएपछि भोजन गर्नु राम्रो हुन्छ ।

तत्काल नसुत्नुहोस्
रिस उठ्दा हामीमा नकारात्मक भावना उत्पन्न भएको हुन्छ । यसले शरीरमा नकारात्मक ऊर्जा उत्पन्न गराइरहेको हुन्छ । रिसाएको बेला सुत्न गइयो र निदाइयो भने रिसले निरन्तरता पाउँछ र शरीरमा रिसका क्रममा उत्सर्जन हुने हार्मोनको मात्रा बढ्न पुग्छ । यसले शरीरमा अनेक प्रकारका समस्या सिर्जना गर्न सक्छ । त्यही भएर रिस मत्थर भएपछि मात्रै सुत्नु राम्रो मानिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?