महाकालीका सडक र पूल रहने जग्गाको मुअाब्जा वितरण शुरू

भीमदत्तनगर : कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन चार लेनको सडक र पुल निर्माणका लागि जग्गाको मुआब्जा वितरण शुरु गरिएको छ । पक्की पुलसँगै बन्ने सडक विस्तारका लागि जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गर्ने कार्य नहुँदा निर्माण रोकिएको थियो ।

मुआब्जाका लागि सबै प्रक्रिया पूरा गरेर गत शुक्रबारदेखि मुआब्जा रकम वितरणसमेत शुरु भइसकेको महाकाली पुल आयोजना कार्यालय भीमदत्तनगरका प्रमुख प्रदीप भण्डारीले बताए ।

उनका अनुसार हालसम्म महाकाली नगरपालिका–१ ९महाकाली नदी पारी० र भीमदत्तनगरपालिका–१२ ओदालीका गरी १७ जनाले मुआब्जा रकम लिइसकेका छन् । मुआब्जास्वरुप दुई करोड ७८ लाख रूपैयाँ स्थानीयले बुझिसकेका छन् ।

पुलसँगै नदी वारीपारी गरी करीब ७.६ किलोमिटर सडक चार लेनको बन्नेछ । महाकाली पुल योजना कार्यालयले चालू आर्थिक वर्षको मसान्तसम्म मुआब्जा वितरण गरिने जनाएको छ ।

पुल निर्माणको पहिलो वर्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रु एक अर्ब रकम विनियोजन गरेको थियो । जसमा रु १० करोड मुआब्जाका लागि छुट्याइएको भए पनि पुल योजना कार्यालयले पुल निर्माणका खर्च हुन नसकेको रकमसमेत मुआब्जा वितरणमा व्यवस्थापन गरेको छ ।

तीन अर्ब २७ करोड ९३ लाख ३४ हजारमा सो निर्माणको सम्झौता भएको हो । निर्माण अवधि तीन वर्ष तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?