गलेश्वर । हिमालपारीको पर्यटकीय जिल्ला मुस्ताङमा कोभिड सङ्क्रमणको अवस्था सामान्य बन्दै गएपछि आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ ।
स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन् । साथै मुस्ताङको रौनक पनि फेरिएको छ ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक १५ हवाई उडान हुन थालेका जोमसोम विमानस्थलले जनाएको छ । त्यसैगरी म्याग्दी सदरमुकाम बेनीदेखि यातायातका साधनमार्फत मुस्ताङ जानेका कारण बेनी–जोमसोम सडकमा सवारी साधनको बाक्लो लाइन देखिन्छ ।
विगत दुई वर्षयता कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सुनसान बनेको मुस्ताङमा अहिले पर्यटकको उपस्थिति हवाई र स्थलमार्ग दुबैबाट बाक्लो बनेको पर्यटन व्यवसायीले बताएका छन् । विगतका वर्षमा यो बेलामा कोभिडको जोखिमका कारण पर्यटक जान नपाएको भए पनि यस वर्ष घुम्ने मौसम शुरु भएको छ भने कोभिडको जोखिम कम हुँदै गएको छ ।
चैते दशैं नजिकिएसँगै मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदान गर्नेको समेत मुस्ताङमा बाक्लो उपस्थिति देखिन्छ ।
केही दिन मुस्ताङ घुम्ने र तिथिमा पिण्डदान गरेर फर्कने मनसायले २२ जनाको टोली लिएर मुस्ताङ आएका नवलपुरको गैँडाकोट नगरपालिका–१२ हर्कपुरका देवलाल पौडेलले मुस्ताङ आफूले सोचेभन्दा धेरै सुन्दर रहेको र अहिले पर्यटकको चाप बढेका कारण होटल पाउनै मुस्किल परेको बताए ।
मुस्ताङ घुम्नका लागि उपयुक्त मौसम शुरु भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको यहाँ भिड बढ्न थालेको जोमसोमका तीर्थबहादुर शेरचनको भनाइ छ । त्यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङमा लगाउने तिजी मेलाको रौनक पनि शुरु भएकाले देश विदेशमा रहेका मुस्ताङ्गी पनि जिल्ला फर्कन थालेका छन् ।
मुस्ताङको जोमसोम विमानस्थलका प्रमुख पुस्कलराज शर्माले गत फागुन २२ गतेबाट मुस्ताङ–पोखरा उडान पुनः सञ्चालनमा आएपछि अहिले दैनिक १५ गतेसम्म उडान भएको जानकारी दिए ।
एउटा उडानमा १८ जनाको क्षमता रहेकाले हवाई मार्गबाट मात्रै दैनिक साढे दुई सयभन्दा बढी पर्यटक मुस्ताङ प्रवेश गरिरहेको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक आशीष अधिकारीका अनुसार स्थलमार्गबाट मुस्ताङ छिर्नेको पनि उस्तै भिड छ । केही दिनयता दैनिक दुई हजार बढी पर्यटक बस, जिप र मोटरसाइकलमा मुस्ताङ आइरहेको उनले जानकारी दिए ।
कोभिडका कारण पर्यटक नआएपछि लामो समयसम्म सुनसान बनेको मुस्ताङको पर्यटन र होटेल व्यवसाय अहिले पुरानै लयमा फर्किन थालेको कागबेनीका होटल व्यवसायी छेप्तेन गुरुङले बताए ।
पाहुनाको आगमन बढेसँगै होटेलमा बास बस्न नपाउन सक्ने भएकाले मुस्ताङ आउन लागेकाले पहिले नै बुकिङ गर्ने क्रम बढेको पनि उनको भनाइ छ ।
होटलमा भित्रिएका पर्यटकमध्ये धेरैको सङ्ख्यामा भारतीय र नेपाली रहेको जानकारी दिँदै गुरुङले अन्य मुलुकका पर्यटक पनि विस्तारै देखिन थालेको बताए । पर्यटकको आगमन बढेपछि विगत दुई वर्षदेखि सुस्ताएको मुस्ताङको होटल व्यवसायले पुर्नजीवन पाएको व्यवासायीले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया