कम्युनिस्टको कामभन्दा गफ बढी‌ , जनताले अझै दुःख पाउने दिन आउँछः डा. केसी (भिडियो सहित)

दीपक मनाङेहरूसँग कुम जोडेर कसरी राजनीतिमा आउनु?

काठमाडौं । कम्युनिस्ट पार्टीको बहुमतको सरकार बनेको झण्डै चार महिना पुगेको छ । यी चार महिनामा सरकारले ताली र गाली दुवै पाएको छ । लामो राजनैतिक अस्थिरतापछि नेपालमा स्थायी सरकार बन्न त बन्यो । तर, यो सरकारले सही तरिकाले काम नगरेको भन्दै विरोध शुरू हुन थालिसकेको छ । राजनैतिक विश्लेषकहरूले सरकारले जनतामुखी काम नगरेको आरोप लगाउन थालेका छन् ।

वर्तमान सरकारले शनिवार संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलबाट अपहरण शैलीमा फर्काएपछि सरकारको चौतर्फी विरोध भएको छ । यही सेरोफेरोमा रहेर राजनीतिक विश्लेषक सुरेन्द्र केसीसँग लोकपथकर्मी अनिता आचार्यले कुराकानी गरेकी छिन् । कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

अहिलेको राजनैतिक परिवेशलाई कसरी विश्लेषण गर्नुहुन्छ ?

राजनीतिक स्थायित्व र समृद्धिका कुरा त धेरै भइरहेका छन् । तर मैले परम्परावाद, स्वार्थ र नातावादले जकडिएको विकृत भद्दा राजनीतिको नयाँ संस्करण मात्रै देखिरहेको छु । परिमार्जित र पृथक राजनीतिमा केही भइरहेको छ जस्तो मलाई लाग्दैन ।

चुनावका बेलामा नेताहरूले घरघरमा सिंहदरबार हुन्छ, सबैको हक अधिकार सुनिश्चित हुन्छन् जस्ता वाचा गरेका थिए तर यतिका दिन भइसक्दा पनि सरकार अझै अलमल, आरोप प्रत्यारोप मै अल्झिरहेको छ, विश्लेषकको नजरमा यो सबै के हो ?

सिंहदरबारको अधिकार गाउँगाउँमा पु–याउने भनिएको थियो तर यो योजनाले प्रक्रियालाई झनै जटिल बनाउँछ भन्ने मलाई पहिले नै थाहा थियो । ४ हजार गाउँपालिका अन्तर्गत अभ्यासमा रहेका अधिकारहरू ७ सय ५३ स्थानीय निकायमा मात्र सिमित हुँदा प्रशासनिक प्रबन्ध झनै अप्ठ्यारो हुन्छ ।

हाम्रो देशको भौगोलिक बनावट अत्यन्तै जटिल छ । एउटा उदाहरण दिन्छु – गोरखा सदरमुकामको पल्लो छेउमा पुग्नका लागि सात दिन लाग्छ । कसैलाई त्यहाँबाट गोरखा आउनुप–यो भने तिब्बतबाट तातोपानीको बाटो हुँदै काठमाडौं आएर बल्ल् मात्र जान मिल्छ । यस्तो अवस्थामा कसरी सिंहदरबार घरघरमा भयो? कसरी पाए त जनताले सहजै आफ्नो अधिकार? यो परिकल्पना नै गलत थियो । यो निर्णय नै अपरिपक्व थियो ।

नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई एयरपोर्टमा रोकेर फर्काइयो । यसलाई तपाईंले कसरी हेर्नुभएको छ?

यो कदम रिस गरेर, अरुको सम्मान गर्न नजानेर र गलत सूचनाबाट प्रभावित भएर चालिएको कदम जस्तो मलाई लाग्छ । अरुले आफूभन्दा धेरै सुविधा लिएको, मानसम्मान पाएको देख्न नसक्ने प्रवृत्ति छ हाम्रोमा । तर, हरेक घटना कुनै क्रियाको प्रतिक्रिया हुन्छ । उहाँले पनि पूर्वस्वीकृति लिएर बकाइदा कागजपत्र आफूसँग भएपछि मात्र भ्रमण प्रक्रिया अघि बढाउनुपर्नेमा उहाँ चाहिँ किन बेग्लै पार्टीले नियुक्त गरेको भिसी हुनुभयो ?

यता उहाँले पनि नियमको अवज्ञा गर्नुभयो, उता प्रधानमन्त्रीलाई पनि गलत सन्देश दिइयो । यसरी दुई पक्षकै अपरिपक्व क्रियाकलापले यो प्रकरण घटेको हो ।

राष्ट्रवादी भनिने प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीन भ्रमणका क्रममा आफ्नो राष्ट्रवादी चरित्र कतिको बचाउन सकेजस्तो लाग्छ तपाईंलाई?

पहिले त केपी ओलीलाई राष्ट्रवादी भन्नु नै भ्रम हो । उनको नाकाबन्दी विरोधी अभियान राष्ट्रवादी नै भएको हाम्रो पनि बुझाइ थियो । तर त्यसपछिको उनको व्यवहारबाट दुई खालको कुरा आइरहेको छ ।
पहिलो – दुवै देशलाई सन्तुलनमा राख्ने रणनीतिअन्तर्गत ओलीले आफ्नो व्यक्तिगत स्वार्थमा कुटनीतिक रुपमा मात्रै खेलिरहेका हुन् कि भन्ने छ ।

चीन र भारतको भ्रमणपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा पूर्ववर्ती भ्रमणहरूमा जस्तो नेपाल र नेपालीका कुराहरू सम्बोधन भएको पाइएन ।

तर योभन्दा अघिका सबै प्रधानमन्त्रीहरूले संयुक्त विज्ञप्ति जारी गर्दा नेपाल र नेपालीको हक अधिकार केही हदसम्म सम्बोधन गरेकै पाइन्छ । त्यसैले केपी ओलीे ‘राष्ट्रवादी’ हुन् भनेर किटान गर्ने समय भइसकेको छैन ।

छिमेकीको हेपाहा प्रवृत्ति र त्यो हेपाइ नसहँदा उनीहरूले नाकाबन्दी जस्तो चर्को ‘डण्डा’ बजाएर गरिरहेको उपेक्षाको विरुद्धमा सरकारले प्रतिरोध गरोस् भन्ने चाहन्छन् जनता ।

प्रममा नियुक्त भएको कम्तिमा ६ महिना पर्खेर मात्र भ्रमणको बारेमा योजना बनाउनुपर्थ्यो । तर, एक महिना नबित्दै जुन हतारो प्रमले देखाउनुभयो, त्यो पक्कै आलोचनाको विषय बनेको छ ।

माइतीघर मण्डलामा प्रदर्शन गर्न निषेध गरेको विषयमा नि?

यो चाहिँ उपयुक्त होइन । म यसको विरुद्धमा छु । हरेक नागरिकले राष्ट्रको सीमाभित्र रहेर आफ्नो अधिकारको माग गर्न पाउनुपर्छ । माइतीघर परिसरमा आउजाउ गर्ने सर्वसाधारणलाई असुविधा हुन्छ भनेर यस्तो नियम लागू गर्न खोजिएको हो भने अन्य कारणले हामीलाई कति असुविधा हुन्छ भन्ने कुरा पनि सरकारले बुझ्न जरुरी छ ।

बाटोका खाल्डाखुल्डीको विषयमा गुनासो गर्दा प्रम ओलीले ‘खाल्डाखुल्डी मैले बनाएको हो र’ समेत भन्नुभयो भन्ने कुरा आइरहेको थियो ।

नागरिकले आफ्नो कर तिर्ने कर्तव्य पूरा गरेपछि उनीहरूलाई सहज वातावरण सिर्जना गरिदिने काम सरकारको हो ।

सडक कति छन्, कस्तो अवस्थामा छन्, भार क्षमता कति हो भन्ने बारेमा हेक्का राख्नुपर्ने जिम्मा त सरकारकै होला ।

देशको मुहार फेर्ने नाराका साथ राजनीतिमा होमिएका नेताहरूमध्ये कति नेता संवेदनशील छन् जस्तो लाग्छ तपाईंलाई ?

नेताहरूमा संवेदनशीलता भएको मैले पाएको छैन ।

नेता दुई प्रकारका हुन्छन् – पहिलो, राजनीतिकर्मी जसले राजनीतिलाई आफ्नो व्यवसाय बनाएका हुन्छन् । दोस्रो, राजनेता जो नेल्सन मन्डेला जस्ता हुन्छन् । नेल्सन मन्डेलाले सबैको आग्रहमा मात्र प्रधानमन्त्रीको पदभार सम्हालेका थिए । एक कार्यकाल पूरा गरेर उनले सो जिम्मेवारी अरुलाई नै सुम्पिदिए ।

तर यहाँ एक मिनेटको लागि पनि पदमा बस्नलाई मरिमेट्नेहरू छन् । आफू मात्र नभएर आफ्ना आफन्त सबैलाई कुनै न कुनै पदमा स्थापित गराउनुपर्छ यहाँका नेताहरूलाई ।

त्यसैले गौरव गर्न लायक नेता छैनन् यो देशमा । केही दिनअघि मात्र पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सवमा जनताहरूले ‘देश बचाउन राजा फर्किनै पर्छ’ भन्दै अपिल गरेका भिडियोहरू सामाजिक सञ्जालमा आएका छन् ।

अहिलेको विकराल राजनीतिक अवस्था र राजतन्त्र फर्किने विषयमा यहाँको के विश्लेषण छ ?

आन्तरिक शक्तिले मात्र त राजतन्त्र फर्किन सफल छैन । राजसंस्था उसकै कमजोरीका कारण आजको अवस्थामा आइपुगेको हो । राजसंस्थाले आफ्नो वरिपरि अवसरवादी, स्वार्थी, राजसंस्थाको आडमा जनतालाई धम्काउने नक्कली र ओंठे राजसंस्थावादीहरूको झुण्ड पालेको थियो ।

उनीहरूकै कारण राजसंस्था अस्तित्वहीन हुन पुग्यो । जो राजसंस्थाको लागि भनेर आएका थिए , तिनलाई राजसंस्थाले धेरै दुःख दियो । विपी कोइराला सत्य राजसंस्थावादी थिए । 

उनको सिद्वान्तअनुसार राजसंस्था संवैधानिक हुनुपर्छ भन्ने थियो । तर उनले आफ्नो आधा समय नेपालको जेलमा बिताउनुप–यो, आधा समय नेपालबाहिर अनि अन्त्यमा रोगसँग लड्दालड्दै निधन भयो । त्यसपछि  सबैभन्दा बढी जेलमा कांग्रेसकै अर्का नेता कृष्णप्रसाद भट्राईलाई राखियो । अन्तिममा मतभेद भइसकेपछि उनले नेपाली कांग्रेसलाई छोडे तर राज संस्थाप्रतिको आस्था अटुट नै रह्यो । पूर्वराजा ज्ञानेन्द्र नारायणहिटी दरबारबाट नार्गाजुन दरबार सर्दा उनका नजिकका अवसरवादी  मन्त्रीहरू देखा नै परेनन् ।

राजसंस्था आउँदैन भनेर कसम खान सकिँदैन किनभने राजनीतीमा सबै जायज छ । जे पनि हुनसक्छ । यद्यपि राजसंस्था पुनस्र्थापना भएपनि धेरै समय टिक्छ जस्तो चाहिँ मलाई लाग्दैन ।
तपार्इंको चाहिँ राजनीतिमा आउने विचार छैन ?

छैन । म एउटा युनिभर्सिटीको प्रोफेसर हुँ । पुस्तक लेख्छु । मेरो आफ्नै छुट्टै जीवनशैली छ । राजनीति भनेको चिन्तन र त्यागको क्षेत्र हो । 

यसका लागि कार्यकर्तालाई व्यवस्थित गर्न सक्नुप–यो, त्यस्तै खालको पारिवारिक वातावरण आवश्यक पर्छ । यस्ता अनेक पक्षहरू छन् । मैले आफ्नो क्षेत्रलाई छोडेर राजनीतिमा आएर पनि आवश्यक समय र योगदान दिन सकिन भने यसको केही औचित्य नै रहँदैन । 

राजनिती भित्रपनि तेरो र मेरो परिपाटी छ जुन सबैले देखिराखेका छौं । सबैलाई थाहा छ, को राष्ट्रपति हुनुपर्ने हो, र को भइरहेको छ, को प्रधानमन्त्री हुनुपर्ने हो, को भइरहेको छ । सबै संकटग्रस्त छ ।
छिमेकी राष्ट्र भारतमा अन्ना हजारेको कुरा आयो । उनको कुराबाट केजरीवाल जन्मिए । अहिले तिनै पार्टीबाट ठूला पार्टीलाई गाह्रो छ । अरु देशका पनि यस्ता समाचार सुनिन्छन् ।

अझ भारतमा त के छ भने परम्परागत राजनीतिबाट आएका व्यक्तिको बेइमानीका कारण समाज र राजनीति अस्तव्यस्त भएको छ । अहिले नरेन्द्र मोदीबाट धेरैले आशा गरेका छन् ।

यहाँका भन्दा बेइमान राजनीतिज्ञ त भारतमा छन् । हाम्रोमा पनि राजनीतिमा हेर्ने हो भने सारा शैली स्वभावका मानिसहरु अहिले छन् । माननीय हुन कोमल वली पुगिन्, दीपक मनाङे पुगे । उनीहरुकै बीचमा म पुगें भने के होला भन्ने डरले सताउँछ । 

अन्तिममा, अहिलेको राजनीतिक परिवेशलाई हेर्दा देशको भविष्य के होला ?

नेपालीले अझै दुःख पाउँछन् जस्तो लाग्छ । जनयुद्ध लडे, मधेस आन्दोलन भयो । हरेक नेपाली अहिले पनि कुनै न कुनै समस्यासँग जुधिरहेका छन् । तर, योभन्दा कठोर दिन आउन बाँकी नै छ जस्तो लाग्छ ।

आधार के छन्? नेपालीले अझै दुःख कसरी पाउँछन्?

किनभने नेतृत्व बेइमान देखियो । त्यो बेइमान नेतृत्वलाई सुधार्न र दबाब दिन मिडिया, युवा, सामाजिक सञ्जाल, नागरिक समाज, बौद्धिक समूहले विशेष भूमिका खेल्नुपर्ने थियो । तर, त्यस्तो भएन । सबै स्वार्थी र पूर्वाग्रही देखिए ।

यहाँ कुनै पनि संयन्त्रले आफनो कर्तव्य पालना गरेका छैनन् । यो देशको सबैभन्दा ठूलो समस्या यही हो ।

Leave a comment