कोरिया। कोरियामा भएको पोहाङ वल्र्ड युनिभर्सिटी तेक्वान्दो र खुला च्याम्पिनसिपमा नेपाली खेलाडीहरुले २ रजत र २ कास्य पदक जितेको छ ।
इन्डोनेसियामा आयोजना हुने १८ औं एसियाली खेलकुदको तयारीका लागि कोरियामा रहेका खेलाडीहरुले बुधबार ४ वटा पदक नेपाललाई दिलाउन सफल भएका हुन् ।
तेक्वान्दो खेलाडी अनुज पुजारी र अस्मिता खड्काले रजत पदक तथा सागर गुभाजु र ज्ञानेन्द्र हमालले कास्य पदक जितेको नेपाली टोलीका प्रशिक्षक दीपक विष्टले जानकारी दिएका हुन् ।
अनुजले मिडिल वेट ‘८७ केजी मूनि’ ले रजत पदक जितेका हुन् । पहिलो खेलमा बाई पाएका अनुजले दोस्रो खेलमा कोरियाली खेलाडीलाई पराजित गरेका थिए। अनुज फाइनलमा श्रीलंकाका खेलाडीसँग ११–१० ले पराजित हुँदै स्वर्ण पदक जित्नबाट बञ्चित भए।
यता महिलातर्फ अस्मिता फ्लाइ वेट ‘४९ केजी मूनी’ को फाइनलमा इन्डोनेसियाकी खेलाडीसँग २२–१० ले पराजित भइन् । पहिलो खेलमा बाई पाएकी अस्मिताले दोस्रो खेलमा कोरियाकी खेलाडी २०–१८ ले हराइएकी थिइन् ।
त्यस्तै, ६३ केजी तौल समूहको समूहमा सागरले कास्य पदक जिते । सागर सेमिफाइनलमा मेलेसियाका खेलाडी सँग २५–११ ले पराजित भए । ज्ञानेन्द्रले लाइट वेट ‘७४ केजी मूनी’ मा कास्य पदक जिते ।
पहिलो खेलमा श्रीलंकाकी खेलाडीलाई १२–८ ले पराजित गरेका ज्ञानेन्द्र सेमिफाइनलमा कोरियाका खेलाडीसँग २५–१२ ले पराजित भएका थिए ।
प्रशिक्षक विष्टले यो जितले खेलाडीहरुलाई एसियाडका फाइदा पूग्ने बताए । विष्टका अनुसार नेपाली खेलाडीले केही दिनमा नै अर्को च्याम्पियनसिपमा भाग लिने बताए । ५ खेलाडीले बिहिबार प्रतिस्पर्धा गर्ने बताइएको छ ।
विष्ट र अर्की प्रशिक्षक संगिना वैद्यको नेतृत्वमा १० खेलाडी कोरियामा प्रशिक्षण लिइरहेका छन् ।
विष्टका अनुसार नेपाली खेलाडीलाई कोरियाली प्रशिक्षकले पनि प्रशिक्षण दिइरहेका छन् । एसियाड भदौं २ गते देखि इन्डोनेसियामा सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया