मन्त्री र सचिवलार्इ ६ घण्टा राखेर अोलीले भने : बजेटको पूर्ण कार्यान्वयन गर्नुस !

काठमाडाैं : अधिकांश मन्त्री र सचिवहरू बुधबार दिनभर सिंहदरबारका अाफ्ना कार्यकक्षमा भेटिएनन् । कारण थियो-प्रधानमन्त्री अोलीको बोलावट ।

अोलीले दैनिक कार्यसम्पादनलार्इ नै असर पर्नेगरी मन्त्री र सचिवहरूलार्इ प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बोलाए र भने- "नयाँ अार्थिक बर्ष शुरू हुँदैछ, पहिलो दिन अर्थात साउन १ गतेदेखि नै बजेटको पूर्ण र प्रभावकारी कार्यान्वयन थाल्नुस् ।"

चुनावमा निकै महत्वकांक्षी नारा बाँडेपनि बजेटमा त्यो समावेश नभएकाले, नयाँ बजेट कार्यान्वयनमा सकेसम्म अानाकानी नगर्न प्रधानमन्त्रीले निर्देशन दिएको बैठकमा सहभागी एक सचिवले जानकारी दिए ।

बजेटमा उल्लेख गरिएका कार्यक्रम कार्यान्वयनले मात्र पनि वर्तमान सरकारमाथि नागरिकको विश्वास टिक्न नसक्ने हुनाले यसभन्दा बढि काम गर्नुपर्ने, अन्याथा सरकार समस्यामा पर्न सक्ने जनाउँदै प्रधानमन्त्री अोलीले विषयगत मन्त्रालयहरूलार्इ अाफ्ना नीति, योजना, कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयन गर्न र प्राप्त हुने प्रतिफल एकीन गरेर कार्यसम्पादन गर्न समेत निर्देशन दिए ।

यही साउन १ गतेदेखि नयाँ अार्थिक बर्ष २०७५/७६ शुरू हुँदैछ । जेठ १५ गते नै सरकारले अागामी अार्थिक बर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रूपैयाँ बराबरको बजेट सार्वजनिक गरिसकेको छ ।

अोलीले मन्त्री र सचिवहरूलार्इ अबदेखि बजेट र कार्यक्रम कार्यान्वयनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्कै कार्यालय खट्ने भएकाले अल्पकालीन र दीर्घकालीन योजना बनार्इ अघि बढ्न निर्देशन दिउका हुन् ।

मन्त्रालयका सचिव र मन्त्रीहरूले सरकारको बार्षिक र पञ्चबर्षीय योजनाबारे प्रधानमन्त्रीसामु प्रश्तुतीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?