काठमाडौ । ‘ओ विदेशी के गर्दै छस् ?’, मैले प्रश्न गरेँ ।
‘के गर्नु यार ! भर्खर भाँडा धस्काएर ‘रुम’ फर्किंदैछु । यी हेर ट्रेन ।’
भिडियो कल गर्दै गर्दा साथीले आँखा मिच्यो ।
आँखा वरिपरि ढाकिएको डार्क सर्कल प्रष्टै देखिन्थ्यो ।
‘के भन्छ यो? भाँडा धस्काको रे? अनि पढाई कस्तो हुँदैछ तेरो?’
‘शुरुमा यस्तै त गर्दा रहेछन् सबैले, मैले पनि गर्नैप¥यो नि, हप्तामा दुई दिन कलेज जान्छु, अरु दिन बाह्र घण्टा काम गर्छु ।’, उसले सुनायो ।
एक साथी, जसले नेपाली फिल्मलाई ‘अस्कर विनर’ बनाउनुपर्छ भनेर लागिपरेको थियो । अस्करको कपको सपना देखेको साथी अहिले अस्ट्रेलियामा चियाको कप टल्काउन थालेको आफैले स्वीकार्छ ।
सुखद् भविष्यको सपना देखेको अर्को एक साथी अस्ट्रेलियामै छ । अझै काम नपाएको गुनासो गर्छ उसले ।
बेलाबेलामा समुद्रमा सन बाथ लिँदै गरेको तस्वीर सामाजिक सञ्जालमा अपलोड गर्न भने भ्याएकै हुन्छ ।
सरकारी तथ्याङ्लाई हेर्ने हो भने हरेक वर्ष लाखौं विद्यार्थी आफ्नो भविष्य बनाउन भन्दै विदेश पलायन हुन्छन् । यता सरकार भने विदेश पलायन रोक्ने र सबैलाई नेपालमै रोजगार दिने नारा लगाइरहन्छ ।
युरोपियन देश र अमेरिकामा जाने भनेपछि नेपाली हुरुक्कै हुन्छन् । खाडी मुलुक या युरोप अमेरिका जाने नेपालीको सङ्ख्या निकै लामो छ ।
कोरियामा काम गर्न जानलाई मात्र यस वर्ष झण्डै ७२ हजारको हाराहारीमा कोरियन भाषाको परीक्षा दिएका थिए । नेपालका विभिन्न शहरबाट विदेशमा ‘ट्राइ’ गर्न जानेको सङ्ख्या दिनमै हजारौं पुग्छ ।
काठमाडौंका जुन इन्टिच्युट पुग्दा पनि विदेश एप्लाई गर्ने युवावर्ग भेटिन्छन्, केहीको भिसा लाग्दा सानोतिनो पार्टी नै हुन्छ ।
काठमाडौं, पुतलीसडकको एक इन्स्टिच्युटबाट बिहानी सत्रमा आइएलटीएस पढेर फर्किएका मनोज श्रेष्ठ भन्दै थिए, ‘नेपालमा कसको भविष्य बन्यो र?
सोर्स लगाउन नसक्नेले जागिर पनि खान सकिँदैन, पाइयो भने पनि पैसा हुँदैन, एक वर्ष हुन थाल्यो विदेशको तयारी गरेको ।’
उनलाई जसरी भएपनि विदेश जानु छ । नेपालमा सम्भावना उनले मात्र हैन, बाबुआमाले पनि देखेका छैनन् । छोरा विदेश जाओस् भन्ने उनीहरुको नै आग्रह हो ।
बाबुआमाको उस्तै ‘क्रेज’
नेपालमा छोराछोरीलाई भन्दा पनि बुवाआमालाई विदेशको ‘क्रेज’ बढी भएको देखिन्छ । साथीहरुसँगको किट्टी पार्टीमा ङिच्च हाँस्दै फोनको ग्यालरी खोलेर छोरीको ‘सिड्नी ओपेरा हाउस’ मा खिचेको सेल्फी देखाउने रहर धेरै बाबुआमाको साझा सपना बनिसकेको छ ।
विदेश जान सहज होस् भनेर कतिले त अहिले छोरीलाई नर्सिङ पढाउनसमेत थालेको पाइन्छ । कुनै बेला ‘छोरी बिग्रे नर्स’ भन्ने नेपाली समाजमा नर्सिङ पेसा विदेश मोहका कारण सम्मानित पेसा बनिसकेको छ ।
नेपाली समाजमा युरोप तथा अमेरिका पुगेकालाई समाजले हेर्ने सम्मानका कारण पनि विदेश मोह बढेको छ ।
अर्कातिर नेपालको राजनैतिक किचलोले आम मानिस आजित बनेका छन् । जसका कारण सुरक्षित भविष्यको खोजीमा विदेश पलायन हुन चाहने युवावर्गको सङ्ख्या दिनानुदिन बढ्दो क्रममा छ ।
विमानस्थलका कहालीलाग्दा दृश्य
हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाह्र सय नेपाली युवा मेडिकल पासको रिपोर्ट बोकेर विदेश पलायन हुन लाइन लागेका हुन्छन् । नेपालमा ‘ब्रेन ड्रेन’ को ट्रेन्ड ह्वात्तै बढेको देखिन्छ । ‘ब्रेन ड्रेन’ अर्थात् देशका दक्ष जनशक्तिको विदेश पलायन ।
नेपालमा दक्ष जनशक्तिको अभाव हुनु र केही सीप भएका युवावर्ग विदेश पलायन हुनुको एउटै कारण नेपालको परिस्थितिलाई कारण बनाइरहेका छन् युवावर्ग ।
समाजको बदलिँदो स्वरुप, युवाका सपना, सुरक्षित भविष्य र पैसामुखी समाजका कारण विदेश पलायन हुनेको सङ्ख्या घट्नुको साटो बढिरहेको प्रष्ट हुन्छ ।
नेपालमा राम्रै जागिर खाएकालाई पनि विदेश जानु ठूलो सपना पूरा हुनुजस्तै भएको छ । यसको प्रमुख कारण नेपालको राजनैतिक विचलन नै हो ।
ट्रान्सक्रिप्ट, रेफरेन्सेस, ब्यान्क स्टेटमेन्ट लगायतका कागजपत्र तयार पार्नु, आइएलटीएस तथा टोएफलमा राम्रो अङ्क ल्याउनुपर्ने बाध्यता भएपनि नेपाल छोड्न चाहनेको लर्को सानो छैन ।
सास्ती हुँदाहुँदै पनि किन विदेशिन बाध्य छन् नेपाली?
नेपालको अस्थिर राजनीति र पार्टीगत गुटका कारण सामान्य नेपाली विदेशिने गरेको तथ्याङ्क बताउँछ । धेरैलाई नेपालमा भविष्य बनाउन सकिन्छ भन्ने विश्वास लाग्न छोडिसकेको छ ।
अर्कातिर दश वर्षे जनयुद्ध र त्यसपछि भएका यावत् परिवर्तनले नेपाल आन्दोलनको ‘हब’ जस्तै बनिरहेको छ । हरेक वर्ष राजनैतिक रुपमा उनै प्रवृत्ति दोहोरिरहँदा युवावर्गको सोच नै परिवर्तन भएको छ ।
त्यसो त नेपालमा दक्ष जनशक्तिको अभाव भएको पनि भन्ने गरिन्छ तर सबैका लागि यहाँ रोजगारको व्यवस्था पनि छैन ।
राज्यले केही वर्षदेखि प्राविधिक शिक्षामा जोड त दिएको छ तर प्राविधिक क्षेत्रमा पनि गुजारा चल्ने जागीर मात्र पाइने भएपछि प्राविधिक शिक्षापछि पनि विदेश नै भासिनुपर्ने अवस्था छ ।
डिग्री पास गरेका र सैद्धान्तिक ज्ञान भएका युवाले पनि नेपालमा शिक्षाअनुसारको जागीर पाउन सकेका छैनन् । अर्कातिर अहिले विदेश पलायन हुने र केही पैसा आर्जन गर्ने नेपालीको ट्रेन्ड नै चलेको छ । यसले दक्ष जनशक्तिलाई विदेश पलायन हुन थप प्रेरित गरिरहेको पाइन्छ ।
सरकारले किन रोक्न सकेन?
सरकारले पछिल्ला केही महिनालाई नियाल्ने हो भने विदेश (खासगरी खाडी मुलुकमा) मा जाने कामदारमाथि कडाइ गरेको छ । तर, विद्यार्थी भिसाका नाममा बाहिर जाने विद्यार्थीमा भने खासै कडाइ गर्न सकेको छैन ।
एकातिर विदेशमा भनेजस्तो कमाइ नहुनु, अर्कातिर भविष्य पनि अन्यौल हुनुजस्ता कारण त सतही कारण भए ।
त्यसमाथि पनि जनशक्तिलाई सरकारले खासै महत्त्व दिएको छैन । सरकारले सम्भावना भएका कलाकार, लेखक तथा परिकल्पनाकारलाई पनि ‘इग्नोर’ गरेर विदेश पलायन हुन बाध्य पारेको छ ।
आफ्नै भाषणमा हरेक वर्ष शैक्षिक उपलब्धिको स्तरोन्नति भइरहेको छ भनेर आश्वासनको ‘ललिपप’ खुवाउने राजनैतिक दलका नेताहरुले वैज्ञानिक बन्ने सम्भावना देखाएका कतिपयलाई पाखा लगाएका छन् ।
उदाहरणका लागि रिजन कार्की नै काफी छन् । तर, सरकार भने खुबी चिन्ने भन्दापनि साक्षरता बढाउने अभियानमा लागेको देखिन्छ ।
राजनैतिक दल तथा सरकारका नेताले आफ्ना आसेपासे र न्यूनतम सीप भएकालाई जागीरको व्यवस्था गर्ने तर दक्ष जनशक्तिलाई खासै महत्त्व नदिने प्रवृत्तिको विकास नभएसम्म विदेश पलायन नरोकिने युवावर्ग गुनासो गर्छन् ।
पाँच वर्ष विदेश बसेर स्वदेश फर्की नेपालमै कुनै व्यवसाय गर्ने भन्ने सोच बनाएका प्रकाश थापाले नेपालमा राजनैतिक अस्थिरता र सेवासुविधा केही नुहँदा यहाँ टिक्न निकै गाह्रो भएको बताउँछन् । ‘विदेशमा यहाँभन्दा निकै गाह्रो छ, तर नेपालमा राज्यले हरेक जनतालाई सुविधाबाट वञ्चित गराएको छ’, उनी थप्छन्, ‘त्यसैले पनि नेपाली विदेश जानुपर्ने बाध्यता छ, विश्वव्यापीकरणको यो समयमा नेपालको यस्तो हालत हुनु दुःखद् कुरा हो ।’
के नेपालको शिक्षा प्रणाली बाधक हो?
नेपालमा दक्ष जनशक्तिको खोजी भइरहँदा अर्कातिर नेपालले उत्पादन गर्ने विद्यार्थीमा पनि अपरिपक्वता देखिन्छ । स्नातकोत्तर गरिसकेका विद्यार्थीलाई पनि मार्केटिङको प्रश्न सोध्दा निकै गाह्रो अवस्था दोहोरिन्छ । विज्ञानका विद्यार्थीलाई फादर अफ साइन्स र न्युटनको टाउकोमा के खस्यो भन्ने प्रश्नलाई कण्ठस्थ बनाएका रेडिमेड उत्तर मात्र हुन्छन् ।
यस्तो खालको शैक्षिक प्रणालीको विद्यार्थी संगठन तथा आम विद्यार्थीले विरोध त गर्दै आएका छन् तर प्रणाली स्वीकार्नुपर्ने बाध्यता अर्कातिर छ ।
यिनै विद्यार्थीमा विदेश जानका लागि ठूलो हानथाप मात्र हुँदैन । कलेजबाट सिफारिश पत्र लिनेको पनि ठूलै होडबाजी चल्छ ।
काठमाडौंको नाम चलेको शैक्षिक संस्थाका एक अर्थशास्त्र विषयका शिक्षक भन्छन्, ‘विदेश जानका लागि मात्र वर्षमा झण्डै सय जना सिफारिश लिन आउँछन्, अघिल्लो वर्ष १ सय ५६ जनाले विदेश अध्ययनका लागि भन्दै कलेजबाट सिफारिश लिएका छन् ।’
त्यस्तै पुरानो बानेश्वरस्थित भिमसेन गोलास्थित, मोडर्न कन्या मल्टिपल कलेजमा अध्ययन गरेका करीब २ सय जना (हालसम्म) विद्यार्थीले विदेशका लागि सिफारिश लिएको रेकर्ड छ ।
यसरी नै देशमा सुशासनको नाममा अस्थिर राजनीति हाबी भइरहने हो भने देशको जनशक्ति पलायन अझै बढ्ने भय छ । बेलैमा योजना बनाएर युवा शक्ति रोक्न सकिएन भने सरकारलाई कर तिर्नेभन्दा भत्ता दिनुपर्नेको सङ्ख्या धान्न नसक्ने दिन पर छैन ।
एकातिर हालका प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार ‘समृद्ध नेपालः सुखी नेपाली’को नारा लगाउँदै आएका छन् । अर्कातिर विदेश पलायन हुने शिक्षित नेपाली युवाको सङ्ख्या बढ्दो छ ।
उत्तिकै मात्रामा अदक्ष र अर्धदक्ष युवाहरु श्रमिकका रुपमा विदेशी भूमिका पसिना बगाउन बाध्य छन् । भएभरका युवालाई विदेश पठाएपछि ओलीको ‘समृद्ध नेपालः सुखी नेपाली’ नाराअनुसार नेपालको आर्थिक, सामाजिक र भौतिक विकास हुनेमा शंका गर्ने पर्याप्त ठाउँ छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया