ह्याण्डबल प्रशिक्षक बिराटलाई बिदाई

काठमाडौं। ह्याण्डबलका प्रशिक्षक बिराटमान बज्राचार्यलाई तालिम तथा  प्रशिक्षण विभागले शुभकामना सहित बिदाई गरेको छ । 

बज्राचार्य उमेर हदका कारण खेलकुद परिषदबाट बिहीबारका मितिदेखि अवकाश भएका हुन् ।

धनुषा जिल्ला निवासी बज्राचार्य २०५० साल पौष २१ गते सहायक प्रशिक्षकको रुपमा करारमा राष्ट्रिय खेलकुद परिषदमा सेवा प्रवेश गरेका थिए । २०५२ साल अशोज १ गते देखि स्थाई भई ह्याण्डबलमा सेवा प्रदान गर्दै आईरहेका प्रशिक्षक बज्राचार्य काठमाण्डौ जिल्ला खेलकुद विकास समितिमा कार्यरत थिए ।

२०३८ सालमा पौडी खेलाडीको रुपमा खेलकुदमा उदाएका बज्राचार्य एथलेटिक्सका खेलाडी हुंदै ह्याण्डबलका खेलाडी हुंदै प्रशिक्षक भएका थिए ।

बज्राचार्यलाई तालिम तथा प्रशिक्ष विभागका निर्देशक रिमबहादुर रानाभाट, राष्ट्रिय टिम तयारीका निर्देशक अर्जून बि.क लगायत उपनिर्देशक, प्रमुख प्रशिक्षक तथा कर्मचारीहरुले खादा तथा टिका लगाउँदै बिदाई गरे । यसका साथै तालिमका प्रमुख रानाभाटले प्रशिक्षक बज्राचार्यलाई सवैका तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?