कोरिया। नेपाली राष्ट्रिय तेक्वान्दो टोलीका निमा गुरुङ र निशा रावलले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा रजत पदक जित्न सफल भएका छन् ।
कोरियाको पोहाङमा भएको दोस्रो दिनको खेलमा फाइटतर्फ निमाले ५७ केजी मुनि तौल समूहमा र निशाले ७३ केजी तौल समूह माथि नेपाललाई रजत पदक दिलाएका हुन् ।
पहिलो खेलमा बाई पाएकी निमाले दोस्रो खेलमा इन्डोनेसियाकी खेलाडीलाई १५–१२ ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन् । फाइनलमा इन्डोनेसियाकै खेलाडीसँग २२–१० ले पराजित हुँदै निमा रजत पदकमै सीमित भइन् ।
निशाले फाइनलमा काजकिस्तानकी खेलाडीसँग ६–४ को प्रतिस्पर्धात्मक खेलमा पराजित हुँदै रजत पदकमै चित्त बुझाइन् । महिलाकै ६७ केजीको सेमिफाइनलमा नेपालकी संगिता बस्याल इन्डोनेसियाकी खेलाडीसँग पराजित भएपछि कांस्य पदक जितिन् ।
पुरुषतर्फ पहिलो खेलमै कोरियाका खेलाडीसँग पराजित भएका नेपालका वीरबहादुर महरा र भुपेन श्रेष्ठले ‘सी’ स्पर्धातर्फ भने मिश्रित सफलता हात पारे । ६८ केजी तौल समूहका वीर ‘सी’ तौल समूहको सेमिफाइनलमा पनि कोरियाका खेलाडीसँग पराजित हुँदै कांस्य पदकै सीमित भए ।
सोही क्याटोगरीकै ८० केजीमूनि भुपेनले सेमिफाइनलमा कोरियाका खेलाडीलाई १८–९ ले जित्दै फाइनल यात्रा तय गरेका थिए ।
तर, फाइनलमा मेलेसियाका खेलाडीसँग ११–२० ले स्तब्ध भएपछि रजत पदकमै चित्त बुझाए ।
टिम फाइटतर्फ भने शुक्रबार खेल हुने नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक दीपक विष्टले जानकारी दिए । विष्टले यो खेलबाट राम्रो अनुभवी लिँदै आगामी इन्डोनेसियामा हुने एसियन गेम्समा खेलाडीले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे ।
नेपाली टोली हाल ओलम्पियद्धय संगिना बैद्य र दीपक विष्टको विशेष प्रशिक्षणमा कोरियामा रहेका छन् । नेपाली टोली आगामी १५ अगस्टमा एसियन गेम्समा सहभागी हुन कोरियाबाटै इन्डोनेसिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया