डा. केसीको जीवन रक्षाको माग गर्दै आवासीय चिकित्सक हडतालमा

काठमाडौं । जुम्लामा अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु हडतालमा उत्रेका छन् । 

त्रिवि शिक्षण अस्पतालमा कार्यरत आवासीय चिकित्सकहरुको संस्था नेसनल रेजिडेन्ट डक्टर्स एसोसिएसन (एनआरडीए) ले आजबाट आकस्मिक सेवाबाहेकका अन्य सबै सेवा ठप्प पार्न लागेको हो ।

१४ दिनदेखि जुम्लामा अनशनरत  डा. केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ । सरकार पक्षले उनको माग प्रति बेवास्ता गरेको भन्दै एनआरडीएले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारी रवैयाले आकस्मिकबाहेकका सबै सेवा ठप्प पार्ने कठोर बाटो रोजे बाध्यबनाएको जनाएको छ ।

सरकारले उनलाई बुधबार काठमाडौं ल्याउने प्रयास गरेको थियो । तर, त्यो असफल भयो । 

‘१३ दिनसम्म पनि अनशनप्रति सरकार मौन रहनुले हामीलाई स्तब्ध बनाएको छ’, एनआरडीएद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘कालोपट्टी बाँध्नेलगायतका विरोधका कार्यक्रमको सुनुवाइ नभएपछि कठोर कदम चाल्न बाध्य भएका छौं ।’

विज्ञप्तिद्वारा स्पष्ट पार्दै एनआरडीएले यसबाट हुने क्षति र असुविधाप्रति संगठन नभएर सरकार जिम्मेवारी हुने समेत बताएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?