काठमाडौं। रसियामा भइरहेको फिफा विश्वकप फुटबलको फाइनलमा को पुग्ला भन्ने सबै खेल समर्थकहरुको जिज्ञासाको विषय बनेको थियो तर ती सबै कौतुहलतालाई मेट्दै क्रोएसियाले पहिलो पटक फाइनलको यात्रा तय गर्दै इतिहास रच्दा विश्व ब्रह्माण्डका समर्थकहरु नै चकित परेका छन् ।
यस पटक उपाधिको दाबेदार मानिएका टिमहरु एक पछि अर्को बाहिरिँदा नयाँ टिम फाइनलमा पुग्ला भन्ने कसैले कल्पना समेत गरेका थिएनन् ।
पूर्व विश्वविजेता फ्रान्स फाइनलमा पुग्नु नौलो भएन किनकी फ्रान्सले यसअघि नै सन् १९३८ मा उपाधि जितिसकेको छ । अहिले शहर बजारमा २१ औं संस्करणको विश्वकपको उपाधि कुन टिमले जित्न सक्ला भन्ने अड्कलबाजी गर्न शुरु भइसकेको छ ।
यता चार राष्ट्रिय रेकर्ड होल्डर एथलेटिक्सकी कान्छीमाया कोजुले क्रोएसियाले उपाधि जित्न सक्ने बताएकी छिन् ।
विश्वकप इतिहासमा नै पहिलो पटक फाइनलमा पुगेको क्रोएसिया राम्रो फर्ममा रहनुका साथै उत्कृष्ट खेल खेल्दै आएकाले उपाधि जित्न सक्ने धेरै सम्भावना रहेको उनले बताइन् ।
कान्छीमायाले १ किलोमिटर, ५ किलोमिटर, १० किलोमिर, हाफ म्याराथन र फुल म्याराथनमा बनाएको राष्ट्रिय रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । कोजुले सन् २०१७ मा माल्दिभ्समा सम्पन्न आदु सिटी म्याराथनमा नेपालका लागि स्वर्ण पदक जितेकी थिइन् ।
‘मलाई लाग्छ यो पटक फ्रान्स भन्दा क्रोएसियाली टिम वेस्ट छ, किनभने क्रोएसिया विश्वकपको फाइनलमा पुग्ने नयाँ टिम भएपनि उसको टिम वर्क, पासिङ मुभ्मेन्ट एकदमै राम्रो छ । कप्तान लुका मोड्रिकले राम्रो खेल खेलिरहेको छ । त्यसैले क्रोएसिया इज दि न्यू विनर इन दिस वल्र्डकप।’ उनले भनिन् ।
सन् २००४ को एथेन्स ओलम्पिक्समा सहभागी भएका कोजुले आफूलाई मनपर्ने टिम चाहिँ जर्मनी रहेकी बताइन् ।
समूह चरणमा नै खराब प्रर्दशन गरेको जर्मनी अघिल्लो चरणमा जान नसक्दा अलि दुखी भएको जानकारी दिइन् । ‘म पहिले देखि नै जर्मनीको फ्यान थिएँ, जर्मनीले खेल्ने वान टच, फास्ट पासिङ मुभ्मेन्ट र टिम वर्क निक्कै राम्रो लाग्थ्यो ।’ उनले थपिन् ।
सन् १९९९ को र २००६ को दक्षिण एसियाली खेलकुद ‘साग’ की रजत पदक विजेता कोजुले फ्रान्सेली टिमको खेल पनि नराम्रो भन्न नमिल्ने बताइन् ।
‘दुवै टिम उपाधिका लागि उत्तिकै दाबेदार छन्, आइतवार राति हुने फाइनल खेल निक्कै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने पक्का छ । फाइनल हेर्दा मज्जा आउने भो।’ उनले बताइन् ।
सन् २०१४ मा सम्पन्न मलेसियन ओपन च्याम्पियनसिप अन्तर्गत ५ किलोमिटरमा रजत तथा १० किलोमिटर दौडमा स्वर्ण पदक जितेकी कोजुको अनुमान कत्तिको मिल्छ त्यो भने आइतवाररातिको खेल पश्चात थाहा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया