कोरिया । इन्डोनेसियामा १५ अगस्टमा हुने एसियन गेम्सको तयारीमा रहेको नेपाली तेक्वान्दोको पुरुष टोलीले स्वर्ण पदक जितेका छन् ।
पोहाङ वल्र्ड युनिभर्सिटी तेक्वान्दो च्याम्पियनसिपको टिम इभेन्ट्समा नेपाली टोलीले स्वर्ण पदक जितेको हो । यता महिला टोलीले भने रजत पदक जितेको छ ।
अनुप पुजारी, भूपेन्द्र श्रेष्ठ, वीरबहादुर महारा, ज्ञानेन्द्र हमाल र सागर गुभाजु सम्मिलित नेपाली टोलीले शुक्रबार सनसन युनिभर्सिटीको टोलीलाई पराजित गरेको हो ।
६ टोलीको सहभागिता रहेको टिम इभेन्ट्सको सेमिफाइनलमा नेपाली टोलीले सिनसिहान युनिभर्सिटीलाई हराउँदै पहिलो भएको टिमका प्रशिक्षक दिपक विष्टले जानकारी दिएका हुन ।
त्यस्तै, शुक्रबार नै भएको महिला टिम इभेन्ट्समा भने बाई पाएर फाइनल पुगेको नेपाली टोली चिनिया टोलीसँग पराजित हुँदै रजत पदकमा सिमित भयो । महिला टोलीमा निशा रावल, संगिता बस्याल, ज्ञानी चुनारा, निमा गुरुङ र अमिस्ता खड्का रहेका छन् ।
व्यक्तिगत भन्दा पनि टिम इभेन्ट्समा आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको प्रशिक्षक विष्टले बताए ।
‘एसियाडको तयारीका लागि यो सहभागिता निक्कै महत्वपूर्ण भएको छ । खेलाडीको कमजोरी कहाँ छ भन्ने यस प्रतियोगिताबाट थाहा भएको छ । अब हामी ती कमजोरी सुधार्नमा प्रयास गर्नेछौं ।’ प्रशिक्षक विष्टले भने ।
तीन दिने प्रतियोगितामा नेपाली खेलाडीले व्यक्तिगततर्फ ५ रजत र ३ कास्य पदक जितेका थिए । दुई महिनादेखि कोरियामा प्रशिक्षण गरिरहेको नेपाली टोली अब झन्डै एक महिनाको प्रशिक्षण पछि एसियाडका लागि इन्डोनेसिया जानेछ ।
सन् २००६ को एसियाड पछि नेपालले एसियाडमा पदक जित्न सकेको छैन । त्यति बेला दिपक विष्ट, मनिता शाही र आयशा शाक्यले कास्य पदक जितेका थिए । १८ औं एसियाड भदौ पहिलो साता सुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया