शरणार्थी देखि सफल कप्तानसम्म : लुका मोड्रिच

लुका मोड्रिच । विश्वकप फुटबल खेलको दौरानमा प्रायः शान्त देखिने खेलाडी हुन् । मिडफिल्डरको भूमिकामा रहने उनी नाम चलेका र सर्वाधिक रुचाइएका खेलाडी पनि हुन् । यो सबैलाई थाहा भएको पाटो हो तर, लोकपथ डटकमले उनको बारेमा केही यस्ता तथ्यहरु नियालेको छ जुन तपाईंलाई थाहा नहुन पनि सक्छ । जस्तो कि उनी शरणार्थी थिए, परिवारका ६ जनाको हत्याको चोट उनीसँग छ, यस्तै । यस्तै । 

किन त ?

रसियामा भइरहेको फिफा विश्वकपमा नाम चलेका खेलाडीको सूचीमा कप्तान लुका मोड्रिचको नाम पनि पर्छ । क्रोएसियाली टिमका कप्तान समेत बनेका मोड्रिच गोल्डेन बुटको दौडमा भने १९ औं स्थानमा छन् । 

लुका मोड्रिचको खेल्ने शैलीलाई धेरैले सेमिफाइनलमा मात्रै होइन, समूह चरणका खेलदेखि नै नियालेका थिए । अहिले विश्वमा नै क्रोएसियाली टिमको चर्चा परिचर्चा भइरहेको छ । समूह चरणदेखि अप्रत्यासित नतिजा निकाल्दै आइरहेको क्रोएसिया फाइनलसम्म पुग्ला भनेर कसैले पनि सोचेको थिएन । तर, सबैको अनुमानलाई गलत सावित गर्दै क्रोएसिया अन्तिम दुईमा पुगेसँगै टिमले फुटबलमा नयाँ उचाइ लिएको हो । 

यही आइतबार हुने फाइनल खेलमा पूर्व विश्व विजेता फ्रान्सलाई पराजित गर्न सके क्रोएसियाले इतिहासमा स्वर्णिम अक्षरले नाम लेख्नेछ । विश्व इतिहासमा क्रोएसियालाई फाइनलसम्म ल्याउनु नै मोड्रिचको सबैभन्दा ठूलो उपलब्धी हो । ‘सन् १९९८ पछिको उपलब्धीलाई उछिन्ने दाउ छ । साथै क्रोएसियालाई पहिलो पटक उपाधि दिलाउन प्रयास गर्नेछु।’ उनले भने । 

३२ वर्षे कप्तान मोड्रिचले क्रोएसियाको टिम विश्वकपको फाइनलसम्म पुग्ला भन्ने सपना पनि नदेखेको बताए । ‘भगवानले तँ आँट म पु¥याउँछु’ भन्ने उखान ठ्याक्कै मोड्रिचको खेल जीवनसँग मेल खाएको छ । उनकै कप्तानीमा क्रोएसिया पहिलो पटक उपाधिका लागि आइतबार फ्रान्सविरुद्ध खेल खेल्नेछ । 

यसरी बिताए बाल्यकाल

सन् १९८५ सेप्टेम्बर ९ मा युगोस्लाभियाको जादरमा जन्मिएका लुका मोड्रिचले बाल्यकाल शरणार्थीका रुपमा बिताएका थिए । सन् १९९१ मा युगोस्लाभियाबाट स्वतन्त्र हुँदै क्रोएसिया  बनेको थियो । स्वतन्त्र भएपछि युगोस्लाभिया सर्विया, क्रोएसिया, स्लोभानिया, मासेडोनिया र बोस्निया एण्ड हर्जगोभिनामा विभाजित भएको हो ।

मोड्रिच ६ वर्षको हुँदा सर्वियाका विद्रोहीहरुले उनको घर जलाइदिनुका साथै हजुरबुवासहित परिवारका ६ जनाको हत्या गरेको थियो । त्यसैले उनी शरणार्थीका रुपमा परिवारसहित बसाइँ सर्न बाध्य भए । फुटबलप्रति लगाव राख्ने मोड्रिच सानै देखि फुटबल खेल्न रुचाउँथे । सन् २००२ मा क्रोएसियाकै डाइनामो जाग्रेबबाट मोड्रिचले फुटबल खेल्न शुरु गरे । कडा परिश्रम र मिहिनेत गर्न नडराउने मोड्रिच सन् २००३ मा डाइनामो जाग्रेबबाट लोनमा बोस्निया एण्ड हर्जगोभिनाको जिरेन्स्की क्लबमा एक वर्षका लागि आबद्ध भए । त्यसपछि  सन् २००४ देखि २००५ सम्म क्रोएसियाकै इन्टर जाप्रेसिक क्लबबाट व्यवसायिक खेल खेले ।

सन् २००८ मा डाइनामो जाग्रेबबाट उनी इंग्लिस क्लब टोटनहृयाम गए । त्यसैगरी सन् २०१२ मा उनी टोटनहृयामबाट स्पेनिस क्लब रियल म्याड्रिडमा आबद्ध भए । सन् २००६ देखि राष्ट्रिय टिमबाट खेल खेलेका मोड्रिचले १ सय १२ खेल खेल्दै १४ गोल गरिसकेका छन् । यता रियल म्याड्रिडका लागि भने १ सय ६६ खेल खेल्दै ९ गोल गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?