अशोक दर्जीका नाममा ‘डलरको खेती’, किन छोड्दैनन् टंकले अशोकलाई?

काठमाडौं । झापातिर गीत गाउँदै हिँड्ने अशोक दर्जीलाई केही युट्युबरहरूले अन्तर्वार्ता लिँदै लेखिदिए – ‘झापामा भेटिए अचम्मका बालक, तीन करोड नेपालीले हेर्नेपर्ने भिडियो ।’

नेपालीका लागि निकै चासोको विषय बन्यो यो । 

यसैपनि ‘अचम्म’ भनेपछि सबैलाई अचम्म लाग्ने नै भयो । झन्, सारा नेपालीले हेर्नुपर्ने भिडियो भनेपछि कस्तो होला? सबैलाई यही कुतूहलताले छोयो ।

अचम्मका बालकले मन छुने केही गीत युट्युबर (केही युट्युबरले आफूलाई पत्रकार पनि भन्छन्) लाई गाइदिएका थिए । स्वर सुरिलो थियो । अबोध देखिन्थे उनी । उनको बाल मनोविज्ञानले त केही बुझेको थिएन तर युट्युबरले राम्रोसँग बुझिसकेका थिए कि, यो फुच्चेको अन्तर्वार्ता लियो भने रातारात हिट हुन्छ । डलर झर्न थाल्छ ।

यसरी फरक ‘पात्र’ खोज्ने र आफ्नो फाइदाका लागि अन्तर्वार्ता लिने ट्रेन्ड त पहिलेदेखि नै थियो । यतिखेर पनि त्यही दोहोराइएको थियो ।

नभन्दै युट्युबरले लिएका केही अन्तर्वार्ता रातरात हिट भए । सारा नेपालीले हेरेपछि अन्तर्वार्ता लिनेलाई फलिफाप भयो । युट्युबरले उनको आभामा डलर देख्न थाले ।

यसरी फरक ‘पात्र’ खोज्ने र आफ्नो फाइदाका लागि अन्तर्वार्ता लिने ट्रेन्ड त पहिलेदेखि नै थियो । यतिखेर पनि त्यही दोहोराइएको थियो ।

सर्ववीदितै छ, अरु पनि त्यस्ता कैयन् पात्र हिट छन्, जो एकपटक अन्तर्वार्ता दिन्छन् । र, अन्तर्वार्ता लिनेलाई मालामाल गराइदिन्छन् । हराउँछन् ।

तर, अशोक दर्जीमा भने यो नियम लागू भएन । उनी रातारात भाइरल भइदिए । उनीप्रति यति धेरै सम्मान र सहानुभूति बर्सियो कि, सडकमा गाउँदै हिँड्ने सामान्य बालक एकाएक ‘हिरो’ भए ।

त्यसपछि शुरू भयो अरु युट्युबरको लर्को । एकपछि अर्को गर्दै अन्तर्वार्ता लिनेको सानोतिनो लिस्ट नै बन्यो । दर्जीको युट्युब क्रेज घट्दै घटेन । जुन अन्तर्वार्ता हाल्यो, त्यही हिट हुन थाल्यो । उनी भाइरलका भाइरल ।

युट्युबमा भाइरल बनेका अशोक दर्जीलाई टंक बुढाथोकीले काठमाडौं झिकाए । अशोकको गीतमा सम्भावना देख्ने डिजे रुपकले उनलाई काठमाडौंसम्म आउने व्यवस्था मिलाइदिए ।

डिजे रुपक, अशोकलाई पनि चिनेका टंक बुढाथोकीलाई पनि चिनेका ।

पहिलो गीत रेकर्ड हुन पाएको छैन, उनले गाउने गीत, उनको हाउभाउ, बोली सबै हिट हुन थाल्यो । स्टुडियोमै गीत रेकर्ड गर्दा नै केही युट्युबरलाई अन्तर्वार्ता लिने व्यवस्था मिलाइयो । ती अन्तर्वार्ता पनि रुचाइए । सम्भवतः जसरी अशोक दर्जी भाइरल भए, त्यसरी कुनै नेपाली सेलिब्रेटी पनि आजसम्म भाइरल भएका छैनन् ।

उनको भाग्य भनौं, पहिलो गीत नै भाइरल भइदियो । त्यसो त उनी गीत गाउनुभन्दा पहिले नै भाइरल भइसकेका थिए ।

यहाँ एउटा कुरा चाहिँ के छुटाउन मिल्दैन भने सबै युट्युबरले भने अशोकलाई नंग्याएका छैनन् । अझ केही युट्युबरले त आफूले कमाएको रकमको केही हिस्सा अशोक दर्जीलाई फिर्ता समेत गरेका  छन् । केही युट्यबेहरू अन्धाधुन्द अशोक दर्जीको पछाडि लागेका छन् । केहीले अशोकलाई भद्र तरिकाले प्रस्तुत गरेका छन् ।

‘मनविनाको धन ठूलो कि धन विनाको मन’ जताततै बज्न थाल्यो । दश वर्षअघि नै गाइएर हाराएको यो गीत जब यही गीत अशोक दर्जीले गाए, फेरि चर्चामा आयो ।

गीतले अशोक दर्जीलाई मात्र होइन, टंक बुढाथोकीलाई पनि फलिफाप भयो । अर्कातिर अशोकसँग अन्तर्वार्ता लिने युट्युबरलाई पनि मालामाल भयो ।

युट्युबरहरूले अशोक दर्जीले नुहाएको, खाएको, बोलेको, ट्वाइलेट गएको, स्वीमिङ पुलमा नुहाएकोजस्ता शीर्षकमा निकै नै सस्ता भिडियो राख्न थालेपछि अहिले अशोक दर्जी ‘ट्रोल’ बन्न थालेका छन् ।

अब प्रश्न उठ्छ – अशोक दर्जी ट्रोलमै मात्र सीमित हुने हुन् कि उदाहरणीय गायक बन्ने हुन् भविष्यमा?

अहिलेको परिस्थितिलाई हेर्दा यसको उत्तर न स्वयम् अशोक दर्जीलाई थाहा छ, न त युट्युबर या उनलाई उचाल्ने अरुलाई नै थाहा छ ।

पढ्ने बेलामा उनी गीत गाउँदै हिँडेका छन् । युकेजी भर्ना भएका अशोक दर्जीलाई यसरी उचालिएको छ कि, पढाइ त परको कुरा, दर्जीले आफ्नो परीक्षा नै छुटाएका छन् ।

प्रविधिको सदुपयोग भयो कि, दुरुपयोग भयो? उनी कुन घानमा परे भन्ने उनको दिमागले छुटुयाउन सक्ने कुरा भएन तर उनलाई उचालेर अरु कतिले पैसाको खेती गरे भनेर भने समीक्षा गर्नुपर्ने भएको छ ।

अशोक दर्जीका नाममा ‘डलरको खेती’ गरियो

अहिले अशोक दर्जी कुनै सेलिब्रेटीभन्दा कम छैनन् भन्ने सबैलाई थाहै छ । एउटै गीत गाएका दर्जीलाई यसरी देवत्वकरण गरियो कि, उनी गायक नभएर, आफैमा एउटा ब्राण्ड हुन् । तर सतहमा अशोक दर्जी अहिलेका लागि केही होइनन् । भर्खर गीत बुझ्न थालेका अशोक दर्जी अन्तर्वार्ताकै आधारमा हिट हुने नेपाली गायक त भएका छन् तर भोलि जीवन बुझ्दा अशोकमा के बित्छ भन्नेमा कसैले ख्याल गरेको छैन ।

झण्डै दश वर्षदेखि मनोरञ्जन क्षेत्रमा पत्रकारिता गर्दै आएका र दुई वर्षदेखि युट्युबमा भिडियो अन्तर्वार्ता लिँदै आएका जीवन पराजुली आफैमा एक युट्युबर हुन् तर अहिले अशोक दर्जीलाई जुन तरिकाले प्रस्तुत गरिएको छ, त्यो सरासर गलत भएको उनी बताउँछन् ।

‘पैसा कमाउने उद्देश्यले अशोकलाई जसरी हेडलाइन बनाइएको छ, त्यो सरासर गलत हो, बच्चाले आफूलाई सुपरस्टार ठान्न थालिसकेको छ’, पराजुली भन्छन्, ‘उनीजस्ता बालगायक सयौं छन्, अबको पाँच वर्षपछि नै यसको असर देखिन थाल्छ ।’

टंक बुढाथोकीलाई आत्मैदेखि विश्वास गर्छुः पूर्ण दर्जी, अशोकका बुबा

अशोक दर्जीका बुबा छोराले गरेको प्रगति देखेर फुरुक्क नहुने कुरै भएन । छोरो आज जे भएको छ, त्यसको एउटा मात्र कारण उनका लागि टंक बुढाथोकी नै हुन् । हिजो नुन किन्नसमेत गाह्रो भएको पूर्णका परिवारको अब घर बन्दैछ । छोराले पढ्न पाएको छ । उनलाई पैसा कसरी आएको छ, कति आएको छ जस्ता विषयमा खासै महत्त्व छैन । अहिले उनी लुगाफाटो र घरको सपनामा अल्झेका छन् ।

गरीबीको अँध्यारोमा सानो झुल्को घाम परेपछि उज्यालो देखिने स्वभाविक भयो ।

तर भोलि? भोलिबारे अशोकका बुबा कन्फ्युजन छन् । उनले वर्तमान बुझेका छन् किनकि, उनको गर्जो छोरा र टंक बुढाथोकीकै कारण चलेको छ । काठमाडौं आउँदा टंककै घरमा बसेका छन् ।

‘आफूले जन्म दिने बुबाले गरेभन्दा बढी गर्नुभएको छ टंक भाइले, मलाई त उहाँको विश्वास छ ।’, पूर्ण दर्जीले सुनाए ।

अनि तपाईंसँग त टंक बुढाथोकीले पाँच वर्ष छोरालाई आफूसँग मात्र गाउने गरी सम्झौता गर्नुभएको छ रे नि?

यो प्रश्नको उत्तरमा भने पूर्ण दर्जी अड्किए । फेरि प्रश्न दोहोराएपछि उनले उत्तर दिए, ‘खै, त्यस्तो लिखित त म बुझ्दिन, तर आत्मादेखि आत्मासँगको सम्झौता भएको छ ।’

उनले अशोक दर्जीलाई किन टंक बुढाथोकीको जिम्मा मात्र लगाइदिएका छन् किनकि टंकलाई आँखा चिम्म गरेर विश्वास गरेका छन् । 

त्यो सही हो । तर, भोलि अशोक दर्जी आज भाइरल ब्वाइ, भोलिका गुमनाम ब्वाइ हुने हुन् कि भन्ने भय अर्कातिर छ ।

संसारभरकै उदाहरण हेर्ने हो भने पनि उदाहरण छन्, कुनै समय एकाएक भाइरल भएका सेलिब्रेटी आफूलाई सम्हाल्न नसक्दा कालान्तरमा आत्महत्या प्रयास गर्ने, डिप्रेसनमा जाने जस्ता ठूला समस्या देखिन सक्छन् । अझ त्यसमाथि अशोक दर्जी त केटाकेटी भइहाले ।

बुझ्ने भएपछि अहिलेका भिडियो हेर्दा उनलाई कस्तो लाग्ला? फेरि पुरानै स्थितिमा फर्किंदा उनले आफूलाई सम्हाल्न सक्लान्?

यो कुरा न ‘हेडलाइन’ चाहिएका युट्युबरले बुझ्न सकेका छैनन् ।

अशोक दर्जीलाई पछि डिप्रेशन हुनसक्छः बासु आचार्य, मनोविद्

मनोविद् बासु आचार्यका अनुसार बाल मष्तिष्क एकदमै संवेदनशील हुन्छ । अहिले जे कुरा उनीहरूले सिक्छन्, ती कुराले भविष्यमा पनि ठूलो भूमिका हुन्छ । अशोक दर्जीको भविष्यमा पनि तलमाथि हुनसक्छ ।

‘अहिले उनका अन्तर्वार्ता हेर्दा के भन्न सकिन्छ भने, पछि उनलाई डिप्रेसन हुनसक्छ, अहिले दर्शकले पनि अशोक दर्जीलाई रमाइलोका रुपमा लिएको देखिन्छ, उनी हिट छन्, तर भोलिका लागि सोच्नुपर्छ’, आचार्य थप्छन्, ‘भोलि उनले आफ्नो करिअरलाई निरन्तरता दिन सकेनन् भने उनको मनोविज्ञानमा नराम्रो असर पर्छ, पब्लिसिटीका नाममा उनको सस्तो प्रचार गराइनु हुँदैन ।’

साथै अहिले अशोक दर्जीलाई परामर्शको जरुरी भएको पनि आचार्य बताउँछन् । बिग्रेर भन्दापनि आफ्नो वृत्ति (करिअर) लाई अगाडि बढाउन र उनलाई अझै सबल बनाउन परामर्शको जरुरी भएको उनले बताए । साथै उनले अशोक दर्जीलाई स्वतन्त्र छोड्नुपर्ने पनि बताए ।

साथसाथै संगीत र अन्य कुरा पनि सिकाउन आवश्यक भएको उनले बताए । यदि त्यसो गरिएन भने भोलि बुझ्ने भएपछि आत्महत्या प्रयास गर्ने, डिप्रेसनमा जानसक्ने जस्ता समस्या आउन सक्ने आचार्यले बताए ।

उनले अगाडि भने, ‘इतिहास हे–यो भने पनि, कुनै बेलाका हिट सेलिब्रेटी डिप्रेसनमा परेका उदाहरण छन्, उनलाई अहिले गलत कुरा सिकाइएको पनि हुनसक्छ, उनले गलत बुझेका पनि हुन सक्छन् ।’

***

मनोविद् बासु आचार्यले भनेझैँ अहिले अशोक दर्जीमा बालापन देखिएको छ । उनले बोल्ने कुरालाई लिएर ट्रोल बन्न थालेका छन् । अशोक दर्जीले हिजो रामकृष्ण ढकाललाई राम्रो भनिदिन्थे, अहिले टंक बुढाथोकीलाई राम्रो भनिदिन थालेका छन् ।

स्वभाविकै हो, उनको सोच्ने दिमागको अझै विकास भइसकेको छैन । एउटै गीत गाएर देश विदेश घुमेका दर्जीले त्यसको मजा पाइरहेका छैनन् । बस, टंक बुढाथोकीले भनेको मानेका छन्, हुन्छ भनेका छन् ।

किनकि, अशोक दर्जीको परिवारका लागि टंक बुढाथोकी भगवान् नै भइहाले ।

युट्युबरबाट बचाउन सकिएनः टंक बुढाथोकी

संगीतकार टंक बुढाथोकीका लागि खुशीको कुरा के हो भने, उनले अशोक दर्जीलाई काठमाडौं झिकाएर गीत रेकर्ड गराइदिए । दर्जी पनि हिट भए, आफू पनि हिट भए । यदि टंक बुढाथोकी बाहेक अरु कोही हुन्थ्यो भने युट्युबमा आफ्नो नामको च्यानलबाट नहालेर ठूला भनिएका म्युजिक कम्पनीमा दिन्थे । 

ती कम्पनीले कति पैसा खाए भन्नेमा कसैले खोजी गर्दैनथ्यो । रातारात गीत हिट मात्र भएन टंक बुढाथोकीको भर्चुअल जीवन पनि ‘हिट’ भयो ।

गीत हिट भएपछि अशोक दर्जीसँगै टंक बुढाथोकीलाई पनि फाइदा पुग्यो । अशोक पनि टंकले जे भन्यो, त्यही कुरालाई सुन्न थाले ।

केही मिडियामा आएका समाचारलाई आधार मान्ने हो भने, उनले अशोक दर्जीलाई एकलौटी बनाए । अरुसँग त सहकार्य गर्ने मौका पनि दिएनन् टंकले ।

अशोक दर्जीबाट मालामाल भएका टंक बुढाथोकी अहिले भने अशोक दर्जीलाई बोकेर हिँडेका छन् । 

अहिले टंक बुढाथोकी जता पुग्छन्, त्यहाँ अशोक दर्जी पुगेकै हुन्छन् ।

टंकले किन छोडेका छैनन् त अशोक दर्जीलाई?

‘अशोकको पहिलो गीतले उसलाई संसारभर चिनायो, त्यो पहिचान नगुमोस् भनेर जुन पायो त्यो गीत गाउन नदिने भनेको हो, सिन्डिकेट लागू गरेको होइन’, संगीतकार टंक बुढाथोकीले अगाडि थपे, ‘अशोकको करिअरलाई असर नगरोस् भन्ने मात्रै हो, राम्रो प्रोजेक्ट आउँछ भने उनले काम नगर्ने भन्ने कुरै छैन, हामी तयार छौं ।’

उनले भने – ‘मैले ल्याएर अशोक दर्जीलाई यो स्थानमा पु–याएँ भने केही मापदण्ड त मैले पनि तोक्न पाउँछु नि ।’

अहिले हेर्दा टंक बुढाथोकीको एकाधिकार चलिरहेको छ । यसलाई सिन्डिकेट भन्ने या नभन्ने भन्ने अर्को कुरा हो ।

चोरीकै आरोप लागेपनि टंक बुढाथोकीलाई खासै धेरैले चिन्दैनथे । ‘रुपै मोहनी’ को मेलोडी कपी गरेको भन्ने समाचारपछि भने उनी साँच्चिकै हिट भए । 

लगत्तै उनले अशोक दर्जीलाई साथ दिए ।

‘मैले दश वर्षदेखि सिकेको सीप अशोक दर्जीमा प्रयोग गर्दैछु, लामो समयदेखि संगीतमा लागेको भएर, अशोकलाई कसरी अगाडि बढाउने भनेर मलाई राम्रोसँग थाहा छ, स्टुडियोमा बोलाएर उसको गीत सुन्दा चित्त बुझेपछि मैले गीत रेकर्ड गराएको थिएँ, मैले यसो गर्छु भनेर भन्न त पाएँ नि?’, एक अनुच्छेद बोल्दै उनले थपे, ‘अहिले त केही मिडिया पनि मेरोविपरीत लागेजस्तो देखिन्छ, तर मैले अशोक दर्जीलाई फाइदा पुगोस् भनेरै काम गरिरहेको छु, उनको चिन्ता छ मलाई ।’

‘मनविनाको धन ठूलो’ दश वर्षअघि नै गाइएको थियो । त्यतिबेला हिट हुन नसकेको गीत अहिले हिट छ ।

‘त्यतिबेला सिक्दै थिएँ, अहिले दश वर्षमा सिकेको कुरालाई प्रयोग गरें, त्यसैले पनि अहिले गीत राम्रो बन्यो, गीतमा संगीतदेखि मेलोडी पनि छ ।’, टंकले सुनाए ।

सरसर्ती हेर्दा यो युट्यबेको डलरखेती देखिन्छ ।

युट्युबमा अन्तर्वार्ता हेरेरै अशोक दर्जीलाई गीत गाउने ‘मौका’ दिएका टंक बुढाथोकीका लागि अहिले केही युट्युबरहरू भने टाउको दुखाइ बनेका छन् । एकातिर त युट्युबरहरुले अशोक दर्जीले नुहाएको, खाएको, गाएको, नाचेकोजस्ता ‘सस्ता’ भिडियो अपलोड गरिरहेका छन्, अर्कातिर घर निर्माणमा पैसा खाएको, अशोक दर्जीलाई प्रयोग गरेको जस्ता समाचार पनि उनीहरू नै बनाइरहेका छन् । 

सरसर्ती हेर्दा यो युट्यबेको डलरखेती देखिन्छ ।

‘युट्युबर साथीहरूलाई हामीले रोक्नै सकेनौं, हामी जहाँ भएको सूचना पाउनुहुन्छ, त्यहाँ आइपुग्नुहुन्छ, पशुपतिनाथ गएको थाहा पाए, त्यहीँ पुग्नुहुन्छ, एअरपोर्ट आउने थाहा पाए त्यहीँ पुग्नुहुन्छ, अशोकका बारेमा चिन्ता लाग्न थालेको छ’, टंकले सुनाए, ‘युट्युबरहरूले बुझिदिएनन्, डलर आउँछ भन्दैमा जस्तो खालका भिडियो हाल्न हुँदैनथ्यो ।’

यस्ता भिडियोबाट आफू आजित भएर सामाजिक सञ्जालमा समेत नलेख्न आग्रह गरेको टंकले बताए । ‘चाहेँ भने अशोक धेरैजसो मसँगै हुन्छ, भिडियो बनाएर अपलोड गर्न त मैपनि सक्थें होला, तर त्यसो गर्नु जायज हैन, म अरुलाई पनि नगर्न आग्रह गर्छु ।’, उनले आग्रह समेत गरे ।

साथै उनले आफू ‘हिरो’ बन्न नचाहेको र आफूले अशोकका जस्तो पायो त्यस्तै भिडियो अपलोड नगरेको पनि बताए ।

अर्को लफडा के छ भने टंक बुढाथोकीले अशोकलाई युरोपियन देश कार्यक्रमका लागि लैजान खोजिरहेका छन् । उता दर्जीको पढाइ बिग्रिएको छ । पढाइ त ठीकै छ, टंक बुढाथोकीले परीक्षाको बेलामा पनि अशोकलाई काठमाडौं ल्याएका छन् । जसका कारण उनले भर्खरै पढ्न थालेको उर्लाबारीको स्कूल बेथल एजुकेशनल एकेडेमीमा उनी परीक्षा दिन पनि पाएका छैनन् ।

अशोक दर्जीका लागि छुट्टै प्रश्नपत्र तयार पारेका छौंः दीपेन्द्र न्यौयाने, प्रिन्सिपल

अशोक दर्जी गीतले भाइरल भए । त्यसको फाइदा टंक बुढाथोकीले लिए । युरोपको डकुमेन्टका लागि भन्दै टंकले अशोकले काठमाडौं ल्याए । त्यतिबेला टंकले बेथल एजुकेशनल स्कूलका प्रिन्सिपल दीपक न्यौपानेलाई भनेका थिए – ‘परीक्षा बिग्रन्न, भोलि नै ल्याइदिन्छु ।’

तर, काठमाडौंमा काम नबनेपछि अशोक यतै रुमल्लिए । उनको परीक्षा छुट्यो । अहिले स्कूले अशोकका लागि भनेर दोस्रो प्रश्नपत्र तयार पार्दैछ ।

स्कूलका प्रिन्सिपलले बच्चाको पढाइ नबिगारिदिन आग्रह गरिरहेका छन् । विश्वमाझ चर्चित भएपनि अशोक दर्जी पढाइका हिसाबले निकै पछाडि छन् । यस वर्ष मात्र उनलाई युकेजीमा भर्ना गरिएको थियो । तर, बाहिर हुने विभिन्न कार्यक्रमले गर्दा उनको पढाइमा पूरै असर परेको छ । यसैपनि ११ वर्षको उमेरमा बल्ल युकेजी भर्ना भएका अशोक दर्जी पढाइलाई निरन्तर देओस् भन्ने आफूले चाहेको प्रिन्सिपल न्यौपाने बताउँछन् ।

‘ऊ देश विदेश घुमोस्, त्यसलाई गलत भनिएको हैन, तर भोलि ऊ बुझ्ने हुँदा पढाइको पनि उत्तिकै महत्त्व हुन्छ, त्यसैले पढाइ बिगार्न हुँदैन’, न्यौपानेले थपे, ‘विदेशमा अशोक घुमेकोमा गुनासो हुँदै होइन, तर उसको पढाइ बिग्रियो भने पछि उसलाई निकै असर पर्छ ।’

‘चाहे अशोक दर्जी विश्वले चिनेका व्यक्ति बनून् तर शैक्षिक स्तरले उसको व्यक्तित्वमा सिधै असर पार्छ ।’, उनले भने ।

उनले आग्रह गर्दै भने, ‘पछि उसलाई मनोवैज्ञानिक रुपमा पनि असर पर्छ, एक प्रिन्सिपलका नाताले उसको चिन्ता गर्नु स्वभाविक हो, सकभर पढाइ नबिगारौं भन्ने मात्र हो ।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?