उपकार लघुवित्तको आईपीओ आजबाट खुल्ला

लोकपथ
49
Shares

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको दुई करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) को बिक्री खुला भएको छ । आज शुक्रबारबाट संस्थाले हाल कायम रहेको जारी पुँजी छ करोड ५६ लाख २५ हजार रुपैयाँ मध्येबाट ३६ प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी दुई लाख ३६ हजार दुई सय ५० कित्ता आईपिओको बिक्री खुला गरेको हो ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड विक्री प्र्रर्वन्धक रहेको संस्थाको आईपिओको बिक्री छिटोमा चैत्र २९ गते र ढिलोमा बैशाख नौं गते बन्द हुने छ । बिक्री गरिने कुल सेयर मध्ये शुन्य दशमलव पाँच प्रतिशत अर्थात तीन हजार दुई सय ८१ कित्ता सेयर कर्मचारीहरुको लागि, पाँच प्रतिशत अर्थात ११ हजार आठ सय १३ कित्ता सेयर सामुहिक लगानी कोषको लागि र बाँकी रहेको दुई लाख २१ हजार एक सय ५६ कित्ता सेयर सर्वसाधारणको लागि छुट्याईएको छ ।

अधिकृत पुंजी आठ करोड एवं जारी पुँजी छ करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी चार करोड २० लाख रुपैंयाँ रहेको छ । आईपिओको बिक्री पश्चात भने संस्थाको चुक्ता पुँजी छ करोड ५५ लाख २५ हजार रुपैयाँ पुग्ने छ । लगानीकर्ताहरुले १० देखि अधिकतम एक सय कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?