धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको चार वर्षपछि नेपाली कांग्रेस पनि सरकारमा जाने भएको छ । केन्द्रीय सत्ता गठबन्धनको नीति अनुसार सुदूरपश्चिममा दुई मन्त्री र एक राज्य मन्त्रीसहित कांग्रेस सरकारमा जाने भएको हो ।
स्रोतका अनुसार नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले आन्तरिक मामिला तथा योजना मन्त्रालय, गोविन्द बोहराले सामाजिक मन्त्रालय र टेकबहादुर रैकाले सामाजिक विकास राज्यमन्त्री पाउने भएका छन् ।
कांग्रेसले पाउने सबै मन्त्रालयमा यस अघि एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य मन्त्री रहेका थिए । सत्तारुढ गठबन्धनबीच भएको सहमति अनुसार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको हो ।
मन्त्रालय बाँडफाँडपछि आजै मन्त्रिमण्डल पुनर्गठनको तयारी थालिएको छ । गत बिहीबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिताबारे छलफल भएको थियो ।
कांग्रेस सरकारमा सहभागी हुँदा एकीकृत समाजवादीले दुई मन्त्री फिर्ता बोलाउने बताइएको छ । अहिले प्रदेश सरकारमा एकीकृत समाजवादीबाट चार मन्त्री र तीन राज्यमन्त्री सहभागी छन् ।
सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्ण जोशीका अनुसार केन्द्रमा सहमति भएर मुख्यमन्त्री कार्यालयमा कांग्रेसलाई सरकारमा सहभागी गराउने सर्कुलर आएको छ । केन्द्रले निर्णय गरेर पठाए अनुसार आज नै कांग्रेसका मन्त्रीलाई सरकारमा सहभागी गराइने मन्त्री जोशीले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया