विश्वकपको फाइनल आज : क्रोएसियालाई इतिहास रच्ने र फ्रान्सलाई   दोहोर्‍याउने  ‘चान्स’

रसिया। २१ औं संस्करणको फिफा विश्वकप फुटबल अन्तर्गत आजराति उपाधिका लागि फ्रान्सले क्रोएसियाको सामना गर्दैछ । 

लुज्निस्की स्टेडियममा हुने यी दुवै टिमविचको फाइनल खेल नेपाली समयअनुसार आजराति पौने ९ बजेपछि शुरु हुँदैछ । उपाधिको दाबेदार मानिएका अधिकांश टिमहरु बाहिरिएपछि यस प्रतियोगिताको फाइनलमा पुगेको पूर्व विश्व च्याम्पियन फ्रान्स र नौलो टिम क्रोएसिया भने अपराजित छन् । 

आत्मविश्वासी टिम क्रोएसियाले उपाधीको बलियो मानिएको फ्रान्सलाई हराउँदै उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रदैछ । फाइनल खेल आफ्नो पक्षमा पारे क्रोएसियाले विश्वकप इतिहासमा स्वर्णिम अक्षरले नाम लेखाउनेछ ।

सन् १९९८ को उपलब्धिलाई उछिन्दै उपाधि जित्ने अभियानमा क्रोएसिया रहेको छ । त्यतिबेलाको विश्वकपको सेमिफाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित भएको थियो । २० वर्ष पछि विश्वकपको फाइनलमा फ्रान्ससँग भिड्न लागेको क्रोएसिया हारको बदला लिने दाउमा रहेको छ ।

सन् १९९८ को विश्वकप प्रतियोगिता अवधिभर ६ गोल गरेका क्रोएसियाका डाभोर सुकरप्रेरितले ‘गोल्डेन बुट’ जितेका थिए ।

क्रोएसियाली फुटबल महासंघका अध्यक्ष समेत रहेका सकुरको नाममा सर्वाधिक ४५ गोलको किर्तीमान रहेको छ तर अहिलेसम्म कुनै क्रोएसियाली खेलाडीले उसको किर्तीमान तोड्न सकेका छैनन् ।

क्रोएसियाले समूह ‘डी’ को तीनै खेल जित्दै ९ अंकका साथ नकआउट चरणमा प्रवेश गरेको  थियो । उत्कृष्ट खेल प्रर्दशन गरिरहेको क्रोएसियाले प्रि—क्वार्टरफाइनलमा डेनमार्कलाई टाइब्रेकरमा ३—२ गोलले तथा क्वार्टरफाइनलमा आयोजक राष्ट्र रसियालाई पेनाल्टी सुटआउटमा ४—३ गोलले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको थियो ।

यता फ्रान्स सन् २००६ को पीडा बिर्साउँदै दोस्रो उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । फ्रान्सले सन् १९९८ मा ब्राजिललाई ३–० गोलले हराउँदै पहिलो विश्वकपको उपाधि जितेको थियो । फ्रान्सले फाइनलसम्म यात्रा तय गर्दा समूह ‘सी’ बाट तीन खेलमा २ जित र १ बराबरी खेलेको थियो ।

समूहको ‘सी’ को शिर्ष स्थानमा रहेको फ्रान्सले प्रि—क्वार्टरफाइनलमा अर्जेन्टिनालाई ४—३ गोल अन्तरले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको थियो । नाइजेरियालाई अन्तिम खेलमा २–१ ले हराउँदै समूह चरण पार गरे पनि पूर्व विश्व विजेता अर्जेन्टिना फ्रान्ससमक्ष निरीह बन्यो । 

विश्वकप फुटबलमा पहिलो पटक प्रयोगमा ल्याइएको भिडियो असिस्टेन्ट रेफ्री ‘भार’ को पहिलो फाइदा फ्रान्सले पाएको थियो ।

समूहको पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध रेफ्रीले ‘भार’को प्रयोग गरेर प्रारम्भिक निर्णय उल्टाउँदै फ्रान्सलाई पेनाल्टी दिएका थिए । त्यस्तै, क्वार्टरफाइनलमा उरुग्वेलाई २—० गोलले तथा सेमिफाइनलमा बेल्जियमलाई १—० ले पाखा लगाउँदै फाइनलसम्मको यात्रा पक्का गरेको हो । 

फ्रान्स २० वर्षको अन्तरमा तेस्रो पटक विश्वकपको फाइनलमा भिड्दैछ । सन् १९९८ को विश्वकपको उपाधि जितेको फ्रान्स सन् २००६ मा भने इटालीसँग टाइब्रेकरमा ५—३ गोलले  पराजित हुँदै उपविजेता बनेको थियो ।

पछिल्लो दुई दशकको अन्तरमा तीन पटक फाइनलमा पुग्ने फ्रान्स एकमात्र टिम हो । त्यस्तै, ब्राजिल र जर्मनीले दुई—दुई पटक फाइनल खेलेको थियो । 

फ्रान्स र क्रोएसिया अहिलेसम्म पाँच पटक आमने—सामने भएका छन् । जसमा फ्रान्सले तिन खेलमा जित दर्ता गरेको छ भने २ खेलमा बराबरी खेलेको छ ।

पछिल्लो पटक सन् २०११ मा भएको मैत्रिपूर्ण खेलमा भने दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?