राउटे बने दैलेखको स्थानीय नागरिक

सुर्खेत । पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय दैलेख जिल्लाको स्थायी नागरिक भएका छन् । 

कर्णालीप्रदेश अन्तर्गतको दैलेख जिल्लाको गुराँस गाउँपालिका–८ स्थित पातले खोलामा बसोबास गर्दै आएका राउटे समुदायका नागरिकलाई गाउँपालिकाले पहिलो पटक स्थायी परिचयपत्र वितरण गरेको हो ।

गाउँपालिकाका अध्यक्ष खेमराज वलीका अनुसार स्थायी परिचयपत्रका आधारमा राउटे समुदायले अबदेखि सामाजिक सुरक्षाभत्ता पाउने बताए । उक्त परिचयपत्रमा नाम, थर, जन्ममिति, ठेगाना, बुबा, आमाको नाम र पति–पत्नीको नामसमेत उल्लेख भएको उनले बताए । 

राउटे समुदायलाई नेपाली नागरिकका रुपमा स्थापित गर्नका लागि स्थायी परिचयपत्र वितरण गरिएको उनले जानकारी दिए ।

फिरन्ते जीवन बिताइरहेका राउटे समुदायको ४२ घरमा १४९ जना रहेको राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारी जानकारी दिए ।

उनले भने राउटे समुदायमा एक महामुखियासहित चार जना मुखिया छन् । उक्त समुदायमा ६१ वर्ष माथिका १४, ४१ देखि ६० वर्ष सम्मका २० तथा १६ देखि ४० वर्ष सम्मका ४४ जना छन् भने ८ देखि १५ वर्षसम्मका २४ र सात वर्ष सम्मका ४७ बालबालिका तथा एकल महिलाको संख्या ११ जना छन् आफ्ना सदस्यको मृत्यु हुँदा मात्रै बस्ती सर्ने राउटे समुदाय अहिले एक ठाउँमा मुस्किलले बढीमा एक महिनासम्म बस्ने गरेको महामुखिया शाहीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?