नेकपा (मसाल)को सांस्कृतिक मोर्चा औपचारिक रुपमा विभाजन भएको छ । रक्तिमले शनिबार संवाद डबलीमा ३६ औं स्थापना दिवस मनाउँदै नारायण शर्माको अध्यक्षमा नयाँ कार्यसमिति घोषणा गरिएको हो ।
रक्तिमको संस्थापन पक्षले मसालसँग सम्बन्ध विच्छेद गर्दै नयाँ समितिको घोषणा गरेको हो । नयाँ समितिको उपाध्यक्षहरुमा निलिमा पुन, दलबहादुर बिक र मानबहादुर भण्डारी रहेका छन् । त्यस्तै, महासचिवमा उदय रिजाल, सचिवमा धर्मदेव पन्त र शरद लामिछाने चयन भएका छन् भने कोषाध्यक्षमा डम्बर भण्डारी चयन भएका छन् ।
मसालभित्र वैचारिक बहस चलिरहेको छ । पार्टी नेतृत्वले लिएको लाइनप्रति असहमति राखेपछि रक्तिमको संस्थापन पक्षलाई पार्टीले बेवास्ता गर्दै जिम्मेवारीविहीन बनाएको थियो । रक्तिमको बहुसंख्यक सदस्यहरुले संस्थापनको विचारसँग असहमति राखेपछि पार्टी रेम रानाको अध्यक्षतामा छुटै समिति बनाएको थियो । उक्त समिति अवैध भएको रक्तिम संस्थापन पक्षले दाबी गरेको छ ।
जनगायक जीवन शर्माको नेतृत्वमा २०४३ चैत्र २६ गते रक्तिम सांस्कृतिक अभियानको स्थापना गरिएको थियो । जीवन शर्माको पनि शर्माको नेतृत्वको नयाँ समितिलाई समर्थन रहेको बताइएको छ ।
घोषणासभामा बोल्दै अध्यक्ष शर्माले रक्तिमको ३५ वर्षको यात्रामा रक्तिमले अनेकौं आरोह–अवरोहको सामना गर्नु परेको जनाउँदै आफूहरु सर्वहारा क्रान्तिप्रति उत्तरदायी बनिरहने पनि बताए । जतिसुकै कठिनाइहरु आइलागे पनि रक्तिम आफ्नो लक्ष्यप्रति कहिल्यै विचलित नभएको र अबका दिनहरुमा पनि जनवादी सांस्कृतिक अभियान मार्फत नेपाली गरिखाने जनताको पक्षमा निरन्तर सेवा गर्ने पनि उनले प्रतिबद्धता जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया