विश्वकप विजेता : कति पाउँछ पुरस्कार राशी

रसिया । फुटबलको सर्वोच्च निकाय फिफाले हरेक चार—चार वर्षमा आयोजना गर्ने  विश्वकपको २१ औँ संस्करण आजरातिबाट सकिदैछ । 

लुज्निस्की स्टेडियममा आजराति पौने ९ बजे  फ्रान्स र क्रोएसियाबीचको फाइनल खेल हुँदैछ ।  योसँगै विश्वकपको औपचारिक समापन हुनेछ ।

फिफाले विश्वकप विजेतालाई ६ केजी सुनको ट्रफीका साथै ३ करोड ८० लाख अमेरिकी डलर  पुरस्कार राशी  दिइनेछ । त्यस्तै, उपविजेता टोलीले २ करोड ८० लाख डलर पुरस्कार पाउनेछ । 

रसिया विश्वकपमा पुरस्कार राशी अघिल्लो संस्करणमा भन्दा केहि वृद्धि गरिएको हो । अघिल्लो संस्करणको विजेता जर्मनीले ३ करोड ५० लाख अमेरिकी डलर पुरस्कार पाएको थियो । सन् २०२२ मा हुने कतार विश्वकपमा पनि पुरस्कार रकम बढ्न सक्ने बताइएको छ । 

विश्वकपमा सहभागी भई समूह चरणबाटै बाहिरिने  टोलीले ८० लाख अमेरिकी डलर प्राप्त गर्नेछन् । 

यसपटक इजिप्ट, साउदी अरव, मोरक्को, इरान, पेरु, अष्ट्रेलिया, नाइजेरिया, आइसल्याण्ड, सर्विया, कोष्टारिका, दक्षिण कोरिया, जर्मनी, पानामा, ट्युनिसिया, सेनेगल र पोल्याण्ड समूह चरणबाटै बाहिरिए । उनीहरु सबैले १५ लाख तयारी खर्चसमेत गरी ९५ लाख अमेरिकी डलर पाएका छन् ।

समूह चरण पार गरी अन्तिम १६ मा पुगेका टोलीले १ करोड २० लाख अमेरिकी डलर पुरस्कार पाउँछन् । यसपटक अर्जेन्टिना, मेक्सिको, पोर्चुगल, स्वीट्जरल्याण्ड, स्पेन, जापान, कोलम्बिया र डेनमार्क प्रि—क्वार्टरफाइनलबाट बाहिरिए ।

क्वार्टरफाइनलमा पुग्ने हरेक टोलीले १ करोड ६० लाख नगद पुरस्कार पाउँछन् । यसपटक ब्राजिल, उरुग्वे, रसिया, स्वीडेन क्वार्टरफाइनलबाटै बाहिरिए । उनीहरु चारै टोलीले तयारी खर्चसहित १ करोड ७५ लाख पाए । 

विश्वकपको अन्तिम चार स्थानमा रहने टोलीले फरक—फरक पुरस्कार पाउनेछन् । तेस्रो भएको बेल्जियमले  पुरस्कार स्वरुप २ करोड ४० लाख अमेरिकी डलर पाएको छ भने इंग्ल्याण्डले २ करोड २० लाख डलर प्राप्त गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?