काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा विभिन्न कलाकारले आफू नजिकका राजनीतिक पार्टीलाई सहयोग गर्ने उद्येश्यले विभिन्न गीत संगित सार्वजनिक गर्ने क्रम बढ्न थालेको छ ।
यसै क्रममा गायिका एवं गीतकार गायत्री थापाले नेपाली कांग्रेसलाई निर्वाचनमा सघाउने उदेश्यले कांग्रेस गीत ‘चार तारे झण्डा फरर’ बोलको गीत ल्याएकी छिन्। सो गीतलाई नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शनिबार साँझ एक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन्।
कार्यक्रममा महामन्त्री शर्माले कलाकारका सृजनाले हरेक क्षेत्रमा धेरै ठूलो महत्व राख्ने भन्दै गीतकार गायत्रीको गीतले नेपाली कांग्रेसलाई स्थानीय तहको निर्वाचनमा जिताउन ठूलो सहयोग पुग्ने बताए। उनले कतिपय कुराहरु आम मानिसले बुझ्न नसकेको अवस्थामा गीत संगितले स्पष्ट पार्ने भन्दै गीत र साहित्यको बल ठूलो हुने उल्लेख गरे।
कार्यक्रममा गीतकार तथा गायिका गायत्रीले आफूले धेरै गीत गायन र लेखन गरेको भएपनि ‘चार तारे झण्डा फरर’ भन्ने कांग्रेस गीत राजनीतिसम्बन्धी पहिलो सिर्जना भएको उल्लेख गरिन्।
उनले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी बनाउन सघाउने उदेश्य राखेर गीत ल्याएको बताइन्। गायत्रीले आफ्नो गीत मार्फत नेपाली कांग्रेसबारे आम मानिसलाई बुझ्न अझ सजिलो हुने उल्लेख गरिन्। लोक र आधुनिक गरेर थुप्रै गीतमा शब्द तथा स्वर भरेकी गायिका थापालाई ‘चार तरे झण्डा फरर’को गायनमा कृष्ण काफ्ले र रीता केसीले साथ दिएका छन् ।
राजकुमार बगरको संगित रहेको गीतको भिडियो पनि निर्माण भएको छ । गीतमा विजय पुन, रीचा थापा, आरुसी मगर, जनार्दन आचार्य लगायत थुप्रैले अभिनय गरेका छन् । गीतको भिडियो अजय रेग्मीले छायांकन गरेका हुन् भने नविन घर्तीमगरले सम्पादन गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया