विदेशी फिल्म प्रदर्शनमा कडाइ गर्न माग

लोकपथ
196
Shares

काठमाडौं । निर्देशक, निर्माता एवं कलाकारहरुले नेपालमा विदेशी फिल्मको प्रदर्शनमा कडाइ गर्न माग राख्दै चलचित्र विकास बोर्डमा ९ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

आइतबार विभिन्न मागहरुसहित चलचित्र निर्देशक, प्राविधिक र निर्माता गरी सय जनाभन्दा बढीको हस्ताक्षरसहितको पत्र बोर्डका अध्यक्ष दयाराम दाहाललाई बुझाइएको हो ।

उनीहरुले विदेशी फिल्म प्रदर्शनलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएका सिनेमा हललाई दिएको छुट खारेज गर्नुपर्ने, विदेशी फिल्मको सेन्सरमा कडाइ गर्नुपर्ने लगायतका मागहरु राखेका छन् । साथै नेपाली मौलिक कथामा बनेका चलचित्रलाई प्रदर्शनको लागि विशेष व्यवस्था गर्ने विदेशी फिल्मलाई नेपालमा प्रदर्शनको लागि कोटा प्रणाली लागू गर्नुपर्ने, विदेशी तथा नेपाली भाषामा डबिङ गरी फिल्म रिलिज गर्ने नीतिगत निर्णय रोक्नुपर्ने, विदेशी फिल्मको भन्सार १५ प्रतिशत कायम गर्नुपर्ने लगायतका मागहरु रहेका छन् ।

ज्ञापनपत्रमा फिल्म विधेयक २०७७ लाई संसदबाट अनुमोदन गरेर चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउनुपर्ने र राष्ट्रिय चलचित्र नीति २०७१ लाई हुबहु लागू गर्न उच्चस्तरीय राष्ट्रिय चलचित्र नीति कार्यान्वयन तथा अनुगमन समिति गठन गर्नुपर्ने माग गरिएको छ।

फिल्म निर्देशक तथा कलाकार शोभित बस्नेत, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, निर्माता उदय सुब्बा लगायतले बोर्डमा पुगेर मागपत्र बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?