एसएसपी पोखरेलको दैनिकी : पाँच घण्टा आराम, उन्नाइस घण्टा जाग्राम

काठमाडौं । एसएसपी विश्वराज पोखरेलले काठमाडौं जिल्लाको शान्ति सुरक्षाको जिम्मेवारी सम्हालेको करीब ६ महिना बितेको छ । ६ महिना अवधि उनका लागि चुनौतीपूर्ण मात्र होइन, राम्रो काम गरेर काठमाडौंवासीका मनभित्र बस्ने सुनौलो अवसर पनि बनेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएस्पी पोखरेल भन्छन्, ‘समयको महत्त्व, सेवाप्रति इमान्दार र पेशाप्रति बफादार भएकाले नै सबैको साथ सहयोग, सुझाव र सल्लाहबाट समाजमा शान्ति सुरक्षा कायम राख्न सफल भएका छौं ।’

आफ्नो ब्याची एसएसपी ‘समूह’ को एक नम्बरमा रहेका पोखरेल ‘कम बोल्छन्, काम बढी गर्छन्’, ‘लो–प्रोफाइल’ मा बसेर काठमाडौं प्रहरी परिसर चलाउने व्यक्ति पनि पोखरेल नै हुन् । विभिन्न मिडिया प्रचारबाजी धन्दा र फण्डाबाट पनि टाढा रहेका छन् – एसएसपी पोखरेल ।

अपराधको तुलनात्मक आँकडा अध्ययन गर्दा मुलुकका ७६ जिल्लामा हुने अपराधका घटनाहरू एउटै काठमाडौंमा घट्ने गर्छन् ।

आधुनिक सूचना प्रविधिको बढ्दो प्रयोगसँगै प्रतिदिन बढ्दै गएको अपराध र अपराध नियन्त्रण गरी शान्तिसुरक्षा अमनचयन कायम राख्नु एसएसपी पोखरेलको नियमित दिनचर्या हो ।

तरपनि, समय कति मूल्यवान हुन्छ भन्ने कुरा उनबाट सिक्न सकिन्छ । परिसर प्रमुख पोखरेलका अनुसार, जसले समयको महत्व बुझ्न सक्दैन, समयअनुसार आफूलाई परिवर्तन तथा अपडेट गन सक्दैन, ऊ काम र पेशाप्रति जिम्मेवार र सफल हुन सक्दैन ।

महानगरीय प्रहरी परिसर काठमाडौंको व्यस्त बसाइँसँगै बहुमूल्य समयलाई एसएसपी पोखरेलले कसरी व्यवस्थापन गरिरहेका छन्?

उनको दैनिक त्यति सहज भने छैन ।

हरेक दिन विहान ५ बजेदेखी  पोखरेलको दैनिकी फेरी शुरु हुन्छ ।

सामान्य नित्यकर्मसँगै रातभर जिल्लामा भएको घटनाको बस्तुस्थितीको विषयमा जानकारी साथै आवश्यक सुरक्षा तयारी निर्देशन दिने गर्छन् ।

यो प्रक्रिया ७ः३० बजेसम्म  चल्छ । त्यसपछि उनि कार्यालय निस्कन्छन् । 

***
प्राय गरेर ८ बजे कार्यालयमा सम्बन्धित फाँटको काम कारबाही, नियन्त्रणमा रहेकाहरूको सम्बन्धमा जानकारी लिने, कार्यालयको आन्तरिक कामहरू सम्पन्न गर्ने र आन्तरिक मिटिङ  हुने गर्छ ।

९ बजेदेखी सेवाग्राहीको भिड नै लाग्ने हुनाले कहिलेकाही त खाना खाने फुर्सदसम्म पोखरेलले पाउदैनन् ।

कार्यालयको नियमित काम, अन्य सहयोगी सहकर्मी सुरक्षा अधिकारीहरूसँग छलफल गर्ने , सेवाग्राही , सञ्चारकर्मी र आगन्तुकहरूसँग भेटघाट साथै कहिलेकाहीँ प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रशासन कार्यालय काठमाडौं र जनस्तरमा हुने हुने कार्यक्रममा भाग लिन्छन् । 

***

साझ ६ बजेबाट दिनभर भएका सम्पूर्ण घटना विवरणको अपडेटसँगै पक्राउ परेका अभियुक्त, मुद्धा  चलाइएका अभियुक्त लगायत विभिन्न घटनाक्रमको जानकारी संकलन गर्ने ।

मातहतका प्रहरी इन्चार्जहरूलाई थप निर्देशन दिने काम शुरु हुन्छ ।

लगभग ८ बजेको हाराहारीमा कार्यालयमा नै खाना, त्यसलगतै परिसर अन्तर्गत मातहतका वृत्त इन्चार्जहरूको ड्युटी चेकिङ, अन त फिल्ड ब्रिफिङ हुन्छ । र यो प्रक्रिया १२ बजेसम्म चल्छ ।  कुनै ठूलो घटना नभएको दिन उनी १२ बजे घर पुग्छन् ।  

***

हप्तामा एकदिन विदा लिने गर्छन् उनी । तर, विदाको दिनमा पनि विहान १० देखि ४ बजेसम्म कार्यालयमा नै समय बिताउँछन् । उनको प्रत्येक दिन प्रायः तालिका अनुसार नै बित्ने गर्छ । तालिकाअनुसार समयको व्यवस्थापन गर्दा काम पनि प्रभावकारी हुने गरेको विश्वस उनमा छ ।

परिसर प्रमुखको रुपमा सरुवा भएपछि परिवारलाई दैनिक आधा घण्टा बाहेक धेरै समय दिन नसकेको पोखरेल बताउँछन् ।

घरपरिवार भन्दा आम नागरिकको शान्ति सुरक्षा प्रमुख दायित्व र जिम्मेवारी भएको बताउने पोखरेल भन्छन्, ‘म घर परिवारभन्दा नागरिकको सेवामा रमाउँछु, यसैमा मलाई आनन्द छ ।’
***

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?