एनएमबीको एफपिओ बाँडफाँड सोमबार नै हुने

काठमाडौं । एनएमबी बैंकले निष्काशन गरेको थप सार्वजनिक निष्काशन (एफपिओ) सोमबार बाँडफाँड हुने भएको छ  । 

गत जेठ ३० देखि असार २८ गतेसम्म निष्काशन गरेको थप सार्वजनिक निष्काश (एफपिओ) सोमबार नै बाँडफाँड हुने भएको हो । 

बैंकको सेयर बिक्री प्रबन्धक नागरिक लगानी कोषले असार ३२ गते सोमबार साढे ४ बजे एफपिओ बाँडफाँड गरिने जनाएको छ ।

एनएमबि बैंकले २ सय ३३ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ३ सय ३३ रुपैयाँको दरले तीन अर्ब ८० करोड १२ लाख ४९ हजार २ सय ७९ रुपैयाँको एक करोड १४ लाख १५ हजार १ सय ६३ कित्ता एफपिओ बिक्री खुला गरेको थियो ।

प्रमाणिकरण भएको अन्तिम तथ्याङ्क अनुसार कूल निष्काशित एफपिओ हाराहारीमै (६५ हजार कित्ता मात्र बढी) आवेदन परेकाले अधिकांश लगानीकर्ताले माग अनुसार नै सेयर प्राप्त गर्ने भएका छन् । धेरै कित्ता आवेदन गर्ने केही आवेदकले भने समानुपातिक रुपमा केही थोरै कित्ता एफपिओ पाउनेछन् ।

ठूला संस्थापक लगानीकर्ता मध्ये सिद्धार्थ इक्वीटी फण्डले सबैभन्दा धेरै दुई लाख १० हजार कित्ताका लागि आवेदन गरेको छ । ग्लोबल आइएमई समुन्नत योजना एकले एक लाख ५० हजार कित्ता, सिद्धार्थ ओरेन्टल स्कीमले एक लाख २० हजार कित्ताका लागि आवेदन गरेका छन् । त्यस्तै सानीमा इक्वीटी, एशियन लाइफ लगायतका कम्पनीहरुले पनि एक लाख भन्दा बढी कित्ताका लागि आवेदन गरेका छन् । 

एफपिओका सेयरधनीले समेत बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १५ प्रतिशत बोनस सेयर प्राप्त गर्नेछन् ।

एफपिओ पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब ६० करोड पुग्नेछ भने बोनसपश्चात ८ अर्ब ७४ करोड ३७ लाख कायम हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?