‘जिन्दगीमै पहिलो पटक स्कुलभन्दा बाहिरको प्रतिस्पर्धामा भाग लिन लागेकी थिएँ । जिल्ला स्तरीय दौड प्रतियोगीतामा ।
स्कुलको प्रतियोगीतामा त सधैं ‘विनर’ । हार्ने मेरो बानी थिएन ।
त्यसैले सबै तयारी भइसकेको थियो ।
तर, दौडँदा लगाउने जुत्ता नै भएन ।
साथीको जुत्ता मागेर हतारहतार धोएँ र आगोमा सेकाएँ । राम्ररी सुकिसकेको थिएन तर अरु कुनै विकल्प पनि रहेन ।
त्यसैले चिसै जुत्ता लगाएर दौडिएँ । यसरी दौडिएँ कि मानौं जीवनमा अन्तिम पटक कुद्दै छु ।
उनी बेतोडले दगुरीन् ।
मेहनत खेर गएन ।
किनकी त्यो खेलमा उनी दोस्रो हुनु परेन ।
***
ओलम्पियन कान्छी माया कोजुले जीवनमा आफूले प्राप्त गरेका सफलताका किस्सा लोकपथसँग सुनाईरहँदा उनको मुहारमा एकाएक कान्ति छायो ।
बेग्लै भाव देखियो ।
आफैप्रति गर्व महसुस गरे जस्तो ।
भनेर सक्काईहालौँ जस्तो । सक्काएँ अब ढुक्क भयो जस्तो किसीमको ।
उनलाई देख्ने प्राय सबैले सजिलै अनुमान लगाउन सक्छन् कि उनी खेलाडी नै हुन् । त्यो पनि फिट र फुर्तिली ।
उनले आफ्नो फिटनेसको क्रेडिट ‘खेलजीवन’लाई दिइन् । हुन पनि हामीले देखेका प्राय सबै खेलाडीहरु तन्दुरुस्त र जवान नै छन् । नियमित शारीरिक कसरत र खाने कुरामा सचेत हुने भएकाले पनि हुन सक्छ ।
***
आफ्नो जीवनको दुई दशकभन्दा बढी समय दौडेरै बिताएकी कान्छी मायाले दौडमा पाँच पटक राष्ट्रिय रेकर्ड कायम गरिसकेकी छिन् जसलाई अहिलेसम्म कसैले तोड्न सकेको छैन । उनको गति देख्दा लाग्छ, उनी दौडनकै लागि जन्मिएकी हुन् ।
तर यो स्थानसम्म आइपुग्न सानोतिनो प्रयास र झिनो ईच्छाशक्तिले मात्र सम्भव भएको होइन ।
‘ट्रेनिङ गर्दा खाली खुट्टा पनि दौडिएँ ।
भातपानी नभनी दौडिएँ ।
घामपानी नसम्झी दौडिएँ ।’ टमक्क मिलेका दाँत देखाएर मुस्कुराउँदै उनी खुलिन् ।
कोजुका साथीहरु भन्छन्, ‘तैंले कुदेको हिसाब गर्ने हो भने अमेरिका नै पुगिसकिस् होला !’
तपाईलाई चाहिँ कति दगुरे जस्तो लाग्छ ? प्रश्न तेर्सीयो ।
‘अमेरिका मात्र होइन पूरै पृथ्वी नै परिक्रमा गरिसकेँ जस्तो मलाई लाग्छ !’ हाँस्दै उनले जवाफ दिईन् ।
तर उनी आफैँले अहिलेसम्म कतिवटा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा भाग लिइन् कुनै लेखाजोखा छैन ।
खेललाई नै आफ्नो जीवन मान्ने कोजुले विवाहको बारेमा कुनै योजना बनाएकी छैनन् । आफ्नो करियरमा यति एकाग्र भइन् कि उनले विवाह गर्ने, घर बसाउने बारेमा सोच्ने समय नै पाइनन् ।
इतिहासमै पहिलो पटक नेपाललाई साग गेम्समा रजत पदक जिताउन सफल कोजु यतिमै सन्तुष्ट छैनन् ।
‘रजतले चित्त बुझाएर बस्दिन । स्वर्णको लागि फेरि अर्को पटक भाग लिन्छु ।’
***
कतिपय अवस्थामा नाम चलेका खेलाडीहरु पनि विदेशिएका हुन्छन् ।
किन यसो भएको होला भन्ने जिज्ञासा कान्छी मायालाई राख्दा उनी भन्छिन्, सरकारकै कारण खेलाडीहरु विदेशिन बाध्य हुन्छन् ।
सम्पूर्ण जीवन खेलमा समर्पित गरेका खेलाडिको लागि खेल जीवन पछि के गर्ने भन्ने कुनै पनि योजना सरकारले अघि सारेको छैन ।
सम्पूर्ण युवावस्था खेल र राष्ट्रप्रति समर्पित गरेका खेलाडिको भविष्य के हुन्छ ?
कान्छी मायालाई लागेको छ, सरकारले खेलाडीलाई बेवास्ता गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया