विश्वकपमा फ्रान्सका प्रशिक्षक डेसच्याम्पले बनाए नयाँ कीर्तिमान

रसिया। फ्रान्सले २० वर्षपछि उपाधि जित्दा प्रशिक्षक डिडियर डेसच्याम्पले आफ्नो नाममा कीर्तिमान बनाउन सफल भएका छन्।

डेसच्याम्पले खेलाडी र प्रशिक्षकको रुपमा उपाधि जित्दै आफ्नो नाममा नयाँ कीर्तिमान बनाएका हुन् । डेसच्याम्प खेलाडी र प्रशिक्षकको रुपमा विश्वकप जित्ने तेस्रो व्यक्ति बनेका हुन् ।

यसअघि ब्राजिलका मारियो जगाल्लो र जर्मनीका फ्रान्ज बेकेनबाउरले खेलाडी र प्रशिक्षकको रुपमा विश्वकपको ट्रफी उचालेर इतिहास बनाएका थिए । मारियोले ब्राजिलबाट १९५८ र १९६२ मा खेलाडी तथा १९७० मा प्रशिक्षकको रुपमा विश्वकपको उपाधि उचालेका थिए ।

फ्रान्जले  सन् १९७४ मा खेलाडी र सन् १९९० मा प्रशिक्षकको रुपमा विश्वकपको उपाधि जितेका थिए । सन् १९९८ मा घरमै भएको विश्वकपमा फ्रान्सले ब्राजिललाई ३–० ले पराजित गर्दा डेसच्याम्पले कप्तानी गरेका थिए ।

डेसच्याम्सकै कप्तानीमा फ्रान्सले सन् २००० मा युरोकपको पनि उपाधि जितेको थियो । फ्रान्सले आइतबार भएको फाइनलमा क्रोएसियालाई ४–२ गोलले पराजित गर्दै दोस्रोपटक च्याम्पियन बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?