जाजरकोटमा १ हजार ४ सयभन्दा बढी बालबालिका जोखिममा

जाजरकोट : जाजरकोटमा एकहजार ४६० बालबालिका जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । आमाबाबु नभएका, सडक बालबालबालिका, आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई जोखिमको सूचीमा राखिन्छ ।

महिला तथा बालबालिका कार्यालयले सोमबार जिल्लाका सातवटा स्थानीय तहबाट संकलन गरिएको तथ्यांक सार्वजनिक गर्दै यो विवरण पेश गरेको हो । बालकभन्दा बालिकाको संख्या बढी जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ । ६७४ बालक र ६९५ बालिका जोखिममा रहेको महिला तथा बालबालिका कार्यालयका प्रमुख शकुन्तला आचार्यले जानकारी दिए । 

यस्ता बालबालिका बारेकोट गाउँपालिकामा १६० जना, जुनिचाँदे गाउँपालिकामा ५५७ जना, शिवालयमा ११८ जना, छेडागाड नगरपालिकामा १६४ जना, नलगाड नगरपालिकामा २३६ जना, भेरी नगरपालिकामा २०६ जना र कुशे गाउँपालिकामा १९ जना रहेको आचार्यले बताए । यति ठूलो मात्रामा जोखिममा रहेका बालबालिकाको संख्या भए पनि स्थानीय सरकारद्वारा कुनै सहयोग नभएको पाइएको छ । 

कुशे गाउँपालिका भित्रका सबै वडामा तथ्यांक संकलन नभएका कारण जोखिममा परेका बालबालिकाको संख्या बढ्न सक्ने महिला तथा बालबालिका कार्यालयले जनाएको छ । यो आवमा ३४ जना बालबालिकालाई उद्धार गरिएको कार्यालयले जनाएको छ । 

यस्ता अशक्त, जोखिममा परेका बालबालिकालाई शिक्षा, खाना र आवासका लागि स्थानीय सरकारले कुनै पनि खालको वजेट विनियोजन नगरेको सरोकारवाला निकायको आरोप छ । आजदेखि जिल्लामा महिला तथा बालबालिका कार्यालय नै नरहने भएपछि तथ्यांक संकलनको कामसमेत प्रभावित हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?