विद्युत् चुहावट पाँच प्रतिशत घट्यो

लहान । विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन भएपछि आर्थिक वर्ष २०७४-७५ मा सिरहाको लहान क्षेत्रमा पाँच प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले नियन्त्रणका लागि अभियान सञ्चालन गरेपछि चुहावट ३५ प्रतिशतमा झरेको हो ।

विगत वर्षमा करिब ४० प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०७४-७५ मा चुहावट घटेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए ।

यस्तै, समयमा विद्युत्को महसुल नबुझाउने ७१२ ग्राहकको विद्युत् लाइन चालु आवमा काटिएको यादवले बताए ।

विद्युत्को बाँकी बक्यौता रकम समयमा नबुझाउने र पटक पटक समयमै विद्युत् महसुल बुझाउन आग्रह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको विद्युत् लाइन काटिएको हो ।

“विद्युत् लाइन काटिएका ५०५ ग्राहकबाट रु एक करोड ४७ लाख ४९ हजार बक्यौता रकम संकलन गरिएको छ,” यादवले भने । 

त्यस्तै वितरण केन्द्र लहानले चालु आवमा हुकिङ गरी विद्युत् चोरी गर्ने ४०७ जनालाई पक्राउ गरी कारवाही गरेको जनाएको छ ।

कारवाही गरिएकाबाट रु २८ लाख १६ हजार राजश्व संकलन हुनाका साथै सो क्रममा २७६ थान विद्युत् उपकरणसमेत बरामद गरिएको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?