नेपाल राष्ट्र बैंकले तोक्यो नगदको सीमा

नेपाल राष्ट्र बैंकले विदेश जाँदा र विदेशबाट फर्कदाँ बोक्न पाउने नगदको सीमा तोकेको छ ।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात मंगलबारदेखि लागू हुने गरी नेपाली रुपैयाँ ५ हजार र अमेरिकी डलर पनि ५ हजारसम्म ल्याउन-लैजान सकिने गरी सीमा तोकिएको छ । 

सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा २९(क) अनुसार नेपाली नागरिकले कार्गो, कुरीयर, हुलाक वा अन्य माध्यममार्फत रु ५ हजारसम्म वा अमेरिकी डलर ५ हजारसम्म वा सो बाराबरको अन्य विदेशी मुद्रा नेपालबाट विदेश लैजान वा विदेशबाट नेपाल ल्याउन सकिने सीमा तोकिएको विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगालाले जारी गरेको सूचनामा उल्लेख छ । 

तोकिएको सीमाभन्दा बढी रकम ल्याउने या लैजाने बाध्यता भएको खण्डमा मुद्रा विनिमय पत्रको विवरण भन्सार अधिकारीसमक्ष र कार्गो, कुरीयर, हुलाक वा अन्य माध्यममार्फत  ल्याउने-लैजाने भएमा सम्बन्धित कार्गो, कुरीयर, हुलाकसमक्ष सो कुराको उद्घोषण गर्नुपर्ने सूचनामा जनाइएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?