‘मालिका’ गीत रिलिज कार्यक्रममा रेखा थापाको ‘धाक’

काठमाडौं । हुन त एउटा गीतका आधारमा पूरै फिल्मको मूल्याङ्कन गर्नु त्यति मान्य नहोला । तर फिल्मकर्मीको साझा झुट हो – फिल्म राम्रो बनेको छ ।

फिल्मको गीत रिलिज हुन्छ, ट्रेलर रिलिज हुन्छ । त्यसपछि फिल्मको अलिकति हाइप बन्छ । तर, जब फिल्म हलमा आउँछ, हेरेका दर्शकले भन्न थाल्छन् – फिल्मले मन बुझाएन ।

यो घानमा मुछिनेमा अग्रपङ्क्तिमै पर्छिन् रेखा थापा । यसर्थ कि, उनले बनाएका फिल्मको हल्ला धेरै हुन्छ । अरु बेला उनी आफूले प्रिय बनाएका मिडियासँग मात्र बोल्छिन् । अरु बेला महत्त्वपूर्ण विषयमा पनि बोल्न चाहन्निन् ।

उनका धेरै फिल्मको इतिहास हेर्दा के छ भने, ‘फिल्मको बाक्लो चर्चा हुन्छ, फिल्म हिट हुँदैन ।’

यस्तै ट्रेन्ड सबै फिल्ममा छ ।

मंगलवार काठमाडौंमा फिल्म ‘मालिका’ को पहिलो गीत सार्वजनिक कार्यक्रम थियो । कार्यक्रममा पत्रकारको बाक्लो उपस्थिति थियो । फिल्मकी मुख्य अभिनेत्री तथा निर्देशक बनेकी रेखा थापा मुख्य आकर्षण बनेकी थिइन् ।

गीत सार्वजनिक गरेसँगै उनले यो फिल्म पूराका पूरा फरक भएको बताइन् । आफू शुरुदेखि नै महिला सशक्तीकरणका लागि लागिपरेको बताउँदै उनले यो फिल्ममार्फत समाज परिवर्तन गर्ने प्रयास गरेको बताइन् ।

उनले भनिन्, ‘मैले हरेक फिल्ममा महिलाको आवाज उठाएकी हुन्छु, समाज परिवर्तनका लागि हाम्रो पनि भूमिका छ’, उनले अगाडि थपिन्, ‘यो फिल्म आज मैले खेलेका फिल्मभन्दा बिल्कुलै फरक फिल्म हो ।’

उनले फरक भनेपनि के यो फिल्म साँच्चिकै फरक होला त? उनका अघिल्ला फिल्म हेर्ने हो भने यो पनि रेखाको ‘धाक’ नै हो । किनकि, यस्ता धाक रेखाले हरेक फिल्मको रिलिजअघि लगाउने गर्छिन् ।

त्यसको बिम्ब आजै रिलिज गरिएको गीतमा पनि देखिएको छ । गीत जाजरकोटमा खिचिएको छ । लोक शैलीको गीत दर्शकलाई मन पर्ने खालको पनि छ ।

तर, निर्देशकसमेत रहेकी रेखाको काम भने पुरानै फिल्मको जस्तो देखिन्छ । रेखाले भने यो गीत बिल्कुलै फरक क्यानभासमा भएको बताइन् ।

यद्यपि गीत राम्रो बन्ने तर फिल्म निकै नै दिक्कलाग्दो बन्ने चलन हामीकहाँ नयाँ होइन । यदि यही ट्रेन्ड दोहोरियो भने त रेखाको धाक दोहोरिने मात्रै हो ।

यदि रेखाले साँच्चिकै राम्रो फिल्म बनाएकी रहेछिन् भने यो तिहार ‘मालिकामय’ बन्ने पक्का छ ।

यस्तो छ भिडियोः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?