तेक्वान्दो प्रशिक्षकद्वारा एटियु कोर्स पूरा

काठमाडौं । १८औँ एसियन गेम्सको तयारीमा रहेका नेपाली राष्ट्रिय तेक्वान्दो टिमका प्रशिक्षकले ‘एटियु’ प्रशिक्षण लाइसेन्स कोर्स पूरा गरेका छन् । 

एसियन तेक्वान्दो युनियनद्वारा आयोजना भएको प्रशिक्षक लाइसेन्स कोर्समा नेपालका ४ प्रशिक्षकले पूरा गरेका हुन् ।

मंगलबार दक्षिण कोरियाको जेजुमा नेपालका प्रशिक्षक नोर्बु लामा, बद्रीप्रसाद घिमिरे, संगिना वैद्य र दीपक विष्ट प्रशिक्षक लाइसेन्स कार्स पूरा गरेका हुन् । प्रशिक्षक लामाले पुम्सेतर्फ कोर्स गरेका थिए । बाँकी तीन प्रशिक्षकले भने ग्यरोगीको प्रशिक्षक प्रशिक्षण कोर्स पूरा गरेका हुन् । 

यो कोर्स पूरा गरेपछि मात्र विश्व तेक्वान्दो महासंघ ‘डब्लुटिएफ’ ले आयोजना गने अफिसियल गेम्स प्रशिक्षकले प्रशिक्षण गर्न पाउने प्रावधान रहेको छ ।

यसअघि डब्लुटिएफले जारी गर्ने गरेको ग्लोबल लाइसेन्स भएका प्रशिक्षकले मात्र जी–१ अथवा अफिसियल गेममा प्रशिक्षण गर्न पाउने प्रावधान थियो । यद्यपि, एटियुले केही समय अगाडि मात्र नियम परिवर्तन गर्दै एटियू कोर्स पूरा गरेकाले मात्र अफिसियल गेम्समा प्रशिक्षण गर्न पाउने प्रावधान राखेको थियो ।

कोर्स पूरा गरेका नेपालका चारै प्रशिक्षक नेपाली राष्ट्रिय टोलीको वैदेशिक प्रशिक्षणका लागि हाल दक्षिण कोरियामा छन् ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?