अन्ततः बक्स अफिस लागू, फिल्म निर्मातालाई राहत

काठमाडौं । लामो समयदेखि कुरामा मात्र सीमित बक्स अफिस अन्ततः लागू भएको छ । आज मंगलवार सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले चाबहिलस्थित चलचित्र विकास बोर्डमा एक कार्यक्रमका बीच बक्स अफिसको औपचारिक उद्घाटन गरे ।

पूर्वनिर्धारित योजना अनुसार साउन १ गते बक्स अफिसलाई औपचारिक रुपमा लागू गरिएको हो । सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजधानी बाहिरका हलमा पनि साउन मसान्तभित्र बक्स अफिस लागू गर्ने बताए ।

हाल राजधानीका २० वटा हल र मल्टिप्लेक्स हलमा इ–टिकेटिङ सिस्टम लागू गरिएको हो । बक्स अफिससँगै फिल्मकर्मीले खुशी व्यक्त गरेका छन् ।

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले अब सिनेमा हलको पनि वर्गीकरण गर्ने बताए । ‘मन्त्रालय तथा बोर्डले आवश्यक सहयोग र लगानी गरेर सबै ठाउँमा जान चाहन्छौं’, उनले भने, ‘लगानीकर्ता सुरक्षित हिँडुन्, भोको पेट नहिँडुन् ।’

साथै उनले नेपाली फिल्म क्षेत्र बामे सर्दै गरेको पनि बताए ।

बक्स अफिस लागूसँगै अब सबै फिल्म निर्माताले पारदर्शी व्यापारको आँकडा पाउने भएका छन् । बक्स अफिसका माध्यमबाट फिल्मले कमाएको वास्तविक व्यापार पारदर्शी रुपमा देखिने भएकाले यसबाट निर्माता र सरकारलाई लाभ पुग्ने आशा राखिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?