नाइजेरियामा बाढीको प्रकोप, ४९ जनाको मृत्यु, २० बेपत्ता

नाइजेरिया- बाढी पहिरोको प्रकोपका कारण नाइजेरियामा ४९ जनाको मृत्यु भएको छ ।

आपतकालीन सेवाका अधिकारीहरूले मंगलबार दिएको जानकारी अनुसार बाढी पहिरोले बगाएर अरू २० जना अहिलेसम्म पनि बेपत्ता रहेका छन् ।

जिविआ जिल्लाको पाँच गाउँ बाढी पहिरोबाट बढी प्रभावित भएको समाचारमा जनाइएको छ ।

आइतबार रातभरी आएको अत्यधिक वर्षापछि स्थानीय नदीहरूमा पानीको मात्रा बढेर बाढी आएको काटसीना राज्यको आपतकालीन व्यवस्थापन निकायका प्रमुख अमिनु वाजिरिले एएफपीलाई जानकारी दिनुभयो ।

“हामीलाई अहिलेसम्म ती पाँच गाउँबाट ४९ जनाको शव भेटिएको विवरण प्राप्त भएको छ,” उहाँले भन्नुभयो ।

आपतकालीन सेवा प्रमुख वाजिरिले हराइरहेका अरू २० जनाको पनि खोजी भइरहेको जानकारी दिनुभयो ।

बेपत्ता भएका मध्ये केहीको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । कतिपय बाढीपहिरो पीडितहरूलाई जटिल अवस्थाबाट उद्धार गरिएको वाजिरिले बताउनुभयो ।

बाढी पहिरोमा परी दुई हजारभन्दा बढी स्थानीयबासिन्दा विस्थापित भएका छन् भने २७ जना घाइते भएका छन् ।

विस्थापितहरूलाई जिविआको स्थानीय विद्यालयहरूमा अस्थायी शिविर बनाएर राखिएको छ भने घाइतेहरूलाई अस्पतालमा उपचार गराइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?